दफावार छलफलका लागि तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक समितिमा

काठमाडौँ, २७ साउन: प्रतिनिधिसभाले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि समितिमा पठाएको छ । 

    सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो ।   

 बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरु¬ङले ‘राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन आव २०८०÷०८१’ पेस गर्नुभयो ।     

बैठकले पूर्वराज्यमन्त्री खड्गबहादुर वस्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उहाँ नेपाली कांग्रेस पार्टीबाट विसं २०६४ र २०७० को संविधानसभा सदस्य हुनुहुन्थ्यो । प्रजातन्त्र र लोकतन्त्र स्थापना एवं संविधान निर्माणमा अग्रणी भूमिका निर्वाह गर्नुभएका बस्यालको यही साउन २३ गते ७४ वर्षको उमेरमा निधन भएको थियो । 

प्रतिनिधिसभाको अर्को बैठक यही साउन २८ गते बुधबार अपराह्न १ बजे बस्नेछ ।