A Levels MA

तीनदिने पुस्तक प्रदर्शनी सम्पन्न ५० हजार अवलोक कर्ता

भक्तपुरमा तीन दिने पुस्तक प्रदर्शनी सम्पन्न भएको छ । फागुनको २ गतेबाट भक्तपुरको कमलविनायकस्थित लामगाल चौरमा भएको सो प्रदर्शनी आइतबार सकिएको हो ।

आरम्भ नेपालले आयोजना गरेको सो पुस्तक प्रदर्शनीमा तीन दिनको अवधिमा ५० हजार बढी दर्शकले अवलोकन गरेको आयोजकले जानकारी दियो  । सो प्रर्दशनीमा करिब ५ लाख बराबरको पुस्तक बिक्री भएको छ । प्रदर्शनीको समापन समारोहमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनीधि सभाका सदस्य प्रेम सुवालले पुस्तक प्रदर्शनीको प्रशंसा गर्दै पुस्तक प्रदर्शनीलाई निरन्तरता दिन जरुरी रहेको बताए ।

उनले नयाँ पुस्तालाई बाटो देखाउने काम पुस्तक प्रदर्शनीले गरेको उल्लेख गर्दै पुस्तक प्रदर्शनी समयको आवश्यकता समेत भएको चर्चा गरे । सांसद सुवालले पुस्तक र पाठकबीचको सम्बन्ध प्रगाढ बनाउन पनि प्रदर्शनी जरुरी रहेकोमा जोड दिँदै पुस्तक लेख्नका लागि गहन अध्ययन आवश्यक रहेको बताए ।

उनले पुस्तक अध्ययनले नयाँ ज्ञान प्राप्त हुने र थोरै समयमा पनि धेरै जानकारी हुने भएकाले अध्ययनबाट फाइदा पुग्ने बताए । सोही अवसरमा उनले पुस्तक प्रदर्शनीमा सहयोग गर्ने मिडिया पार्टनर, प्रदर्शनीमा स्टल राख्ने विभिन्न प्रकाशन गृह, सहयोगीहरुलाई प्रशंसा पत्र प्रदान गरे ।

सोही अवसरमा उनले प्रदर्शनीकै अन्तिम दिन आयोजित वाल कविता वाचन प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरे ।कार्यक्रममा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले पुस्तक अध्ययनको भोक जगाउन र मेटाउन गरिएको प्रदर्शनीले अध्ययन संस्कृति विकास गर्न सहयोग गर्ने बताए ।

उनले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नगरी अन्य पुस्तकहरुको अध्ययनका लागि प्रोत्साहित गर्नुपर्ने पनि बताए । उनले अहिलेको पुस्ता मोबाइल, कम्पयुटर, ल्यापटपका स्क्रिनमा भुल्दा अध्ययन संस्कृतिमा ¥हास आइरहेकोमा चिन्ता जनाए । कार्यक्रममा सहभागी प्रकाशकहरुको तर्फबाट नेपाल प्रज्ञा प्रतिष्ठानका तर्फबाट महेश्वर थापामगरले भक्तपुरजस्तो ठाउँमा गरिएको पुस्तक प्रदर्शनीबाट आफूहरु उत्साहित भएको प्रतिक्रिया दिए ।

स्थानीय युवाहरुलाई स्थानीय स्रोत साधन प्रयोग गरी विभिन्न सीपमुलक तालिमहरु सञ्चालन गर्ने शिक्षा, स्वास्थ्य, संस्कृति र पर्यटनसंग सम्बन्धित विभिन्न कार्यक्रमहरु गरी सामाजिक  विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापना गरिएको संस्थाले गरेको पुस्तक प्रदर्शनी सफलताका साथ सम्पन्न भएको प्रदर्शनीका सहसंयोजक दिनेश प्रधानले बताए ।

आयोजक नेपालका अध्यक्ष बालकृष्ण बनमालाले भक्तपुरको पहिचान वृद्धि गर्नका लागि पुस्तक प्रदर्शनीले सघाएको चर्चा गर्दै सबैको साथ, सहयोग कायम रहे आगामी दिनमा पनि पुस्तक प्रदर्शनीलाई निरन्तरता दिने जनाए ।

बक्समा राख्नेवाल कवितामा आयुष नेपाल प्रथम

पुस्तक प्रदर्शनीकै अवसरमा आयोजित कविता वाचन प्रतियोगितामा आयुष नेपाल प्रथम भएका छन् । प्रतियोगितामा सृष्टि वन द्धितीय, साजन श्रेष्ठ तृतीय र अञ्जना आचार्य सान्त्वना भएका छन् । प्रतियोगी विद्यार्थीहरुले वाचन गरेका कविताको मूल्यांकन कवि दामोदर सुवाल, नेपाल भाषा साहित्य तः मुंज्याका संस्थापक अध्यक्ष कान्छा बासुकला र स्रष्टा हरिसुन्दर छुकांले गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरु  आयुषा चौगुठी, निश्चल छुकां, दिनविक्रम शाही, नवीन ओझा र शुभेच्छा झाले कविता वाचन गरेका थिए । कार्यक्रममा साहित्यकार सूर्यप्रसाद लाकोजू, कवि आशकुमार चिकंबञ्जार, कवि दामोदर सुवाल, शिक्षक लीलाधर सिवाकोटी र आयोजकका तर्फकाट लक्ष्मीप्रसाद चवालले पनि बोलेका थिए ।

Thuprai - Books and E-books