After SEE Portal

इन्जिनियरिङमा विद्यार्थी घटेको छैन : सहायक डिन बज्राचार्य

Bridge Course

त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई)ले नेपालका इन्जियिनरिङ कलेजमा विद्यार्थी सङ्ख्या कमी नभएको दावी गरेको छ ।

विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा यस बारेमा आएका समाचारका सन्दर्भमा आइओईले आफ्नो धारणा प्रष्ट गरेको हो । भर्ना प्रक्रियासम्बन्धी पहिलो सूचिका आधारमा विद्यार्थी सङ्ख्या घटेको भन्न नमिल्ने तर्क गर्दै भर्ना समय अझै बाँकी रहेकाले वास्तविक अवस्था आगामी माघमा मात्र थाहा हुने स्पष्ट गरेको छ । 

त्रिवि इन्स्टिच्युट अफ इन्जिनियरिङका सहायक डिन प्राडा सुशीलबहादुर बज्राचार्यले एडुपत्रसँगको कुराकानीका क्रममा बल्ल तेस्रो सूचि सकिँदा पुल्चोक क्याम्पसमा करिब ३० वटा सिट बाँकी रहेको बताउँदै भने, “अहिले नै विद्यार्थी कम भए भनेर भन्न अलि हतार हुन्छ ।”

त्रिविअन्तर्गत १५ इन्जिनियरिङ क्याम्पसमा स्नातक तहमा विभिन्न १२ शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ । यी क्याम्पसमा कुल चार हजार ३४४ सिट सङ्ख्या कायम गरिएको छ । यसपटक नयाँ विद्यार्थी भर्नाका लागि आईओईले गत कात्तिक २० गतेसम्म प्रवेश परीक्षा सञ्चालन गरेको थियो । परीक्षाका लागि करिब १० हजारले आवेदन दिएका थिए । तीमध्ये छ हजार सात सय उत्तीर्ण भएका थिए ।

“भर्ना प्रक्रिया सुरु भएको छ । भर्ना भइरहेका छन् । अरु क्याम्पसमा सिट बाँकी छ तर भर्ना प्रक्रिया जारी छ । भर्ना प्रक्रिया लामो हुन्छ । चौथो, पाँचौ, छैटौँ लिस्ट गरेर पनि भर्ना प्रक्रिया जारी रहन्छ” उनले थपे, “यसपटक भर्ना भइरहेका विद्यार्थीको कक्षा आगामी माघ २ गतेबाट सुरु हुनेछ । माघ २ गतेदेखि एक सातासम्म पनि एटेन्डेन्स लिन्छौँ । सात दिनमा पनि विद्यार्थी आएनन् भने फेरी माग गरेर भर्ना लिन्छौँ । त्यसबाट धेरै जसो सिट पूरा हुने गर्दछ ।”

उनले नयाँ विद्यार्थी भर्नाको अवस्थाका बारेमा थाहा पाउन आगामी माघ ९ गतेसम्म पर्खिनुपर्ने हुन्छ भन्दै त्यसपछि मात्र के कति सिट खाली भए भन्ने स्पष्ट हुने बताए ।

उनले आङ्गिक र सबन्धन प्राप्त राम्रा कलेजमा विद्यार्थी सङ्ख्या कमी नरहेको दावी गरे । “पारदर्शी भएकाले हाम्रो वेबसाइटमा हरेक दिन कुन क्याम्पसमा कुन विषयमा कति विद्यार्थी भर्ना भए भन्ने सार्वजनिक गरिदिन्छौँ” उनले भने । 

आइओईका सहायक डिन बज्राचार्यले नयाँ विषयका बारेमा नयाँ पुस्तालाई त्यति थाहा नभएकाले पुरानै विषयमा विद्यार्थीको रोजाइ कायम रहेको बताए । “नयाँ विषयमा नयाँ पुस्तालाई थाहा नभएको हुनसक्छ । केमिकल इन्जिनियरिङ, एरोस्पेस इन्जिनियरिङ, जियोम्याट्रिक्स इन्जिनियरिङ सुरु गरेका छौँ । कतिपय विद्यार्थीलाई यो थाहा छैन । यसको स्कोप छ । धेरै जसो विद्यार्थीलाई कम्प्युटर, आइटी इन्जिनियरिङमात्र थाहा छ । ती विषय थाहा नभएकाले धेरै विद्यार्थीले एउटै विषयमा फर्म भर्ने र त्यहाँ भर्ना नपाउने जस्तो लाग्छ । विद्यार्थीको रुचि थाहा नभएर खाली भएको हुनसक्छ” उनले भने । 

उनले नयाँ विषयमा अध्ययन गर्न अब विदेश जानु नपर्ने बताए । विदेशमा पढाइ नहुने विषय पनि पढाइरहेको बताउँदै उनले स्नातकोत्तर तहमा विभिन्न ३५ विषयको अध्ययन गर्न विदेश नै जानु नपर्ने भने । “विद्यार्थीले विदेश जानु नपरोस्, स्वदेशमै पढ्न पाउन् भनेर यहाँ नयाँ विषय अध्यापन गरिरहेका छौँ । विदेशी विश्वविद्यालयसँग सहकार्य गरिरहेका छौँ । विदेशी विश्वविद्यालयबाट प्राध्यापकलाई झिकाएर क्लास लिइरहेका छौँ । विद्यार्थीलाई पनि एक्सचेन्ज कार्यक्रममा विदेश पठाइरहेका छौँ” उनले भने । 

उनका अनुसार छिटै नै आइओईले दाङ र डोटीमा इन्जिनियरिङ कलेज सञ्चालन गर्दैछ । यसो भएमा पश्चिम नेपालका विद्यार्थीले आफ्नै घरमा बसेर इन्जिनियरिङ विषय अध्ययन गर्न पाउने अवसर मिल्ने आइओईको भनाइ छ ।

देशमा विभिन्न विश्वविद्यालयका ५३ वटा इन्जिनियरिङ कलेज  सञ्चालनमा छन् । ती कलेजमा ११ हजार पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । आइओईका सहायक डिन बज्राचार्यले मागभन्दा बढी आपूर्तिको समस्या देखिएको धारणा व्यक्त गरे । “कतिवटा विश्वविद्यालय चाहियो सरकारले सोच्नुपर्यो  । राजनीतिक भागबन्डाका आधारमा विश्वविद्यालय खोल्नु भएन । विश्वविद्यालयको आधार हुनुपर्यो  । कति इन्जिनियर चाहिन्छ ? त्यसको तथ्याङ्कअनुसार कलेज खोल्नुपर्यो” उनले भने । 

उनले राम्रा कलेजमा समस्या नरहेको तर पूर्वाधार बेगरका कलेजमा समस्या रहेको बताउँदै भने, “विद्यार्थी घटेको होइन । क्याम्पस थपिएका हुन् । सिट सङ्ख्या थपिएका हुन् ।” 

उनले नगरपालिकामा इन्जिनियर चाहिएकाले ब्याचलर अफ प्लानिङ विषय सञ्चालन गर्ने सोचेको जानकारी दिए । अवस्था र मागका बारेमा अध्ययन भएर नयाँ विषय ल्याउँदा विद्यार्थी अभावको समस्या नहुने बताउँदै उनले कस्तो विषय अध्ययन गर्ने भन्ने बारेमा सरकार, विश्वविद्यालय अनुदान आयोग, राष्ट्रिय योजना आयोग, विश्वविद्यालयले परामर्श दिनुपर्ने बताए ।

A Levels MA
Thuprai - Books and E-books