केही वर्ष अघि सम्म सस्तो लोकप्रियता बटुल्न प्रत्येक पालिकामा प्राविधिक धारका विद्यालय खोल्न हरेक पटक फेरिएका सरकारले जोड दिए । बिना अध्ययन सुरु गरिएको प्राविधिक विषयमा अहिले विद्यार्थी पाउनै मुस्किल हुँदै गएको छ । सुगमदेखि दुर्गम क्षेत्रका विद्यालयलाई अहिले विद्यार्थी खोज्नु पर्ने अवस्था आएको छ ।
अवसर, उपलब्धीको प्रलोभनमा लोकप्रियता बटुल्न वैज्ञानिक अध्ययन बिना खोलिएका प्राविधिकधारका विद्यालयमा अहिले कतै शिक्षक पाउन मुस्किल, कतै प्रयोगशालाको अभाव, कतै अभ्यास गर्ने ठाउँ नहुने, चर्को लगानी लगायत विभिन्न कारण विद्यालय रित्तिदै जान थालेका छन् ।
कैलालीमा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको संख्या घट्न थालेको छ । केही वर्ष पहिलेसम्म एसइईपछि पढाइ हुने प्राविधिक विषयमा मागभन्दा चारगुणा बढी आवेदन पर्ने गरेकामा अहिले विद्यालय तथा ‘इन्स्टिच्युट’लाई कोटा पूरा गर्न मुस्किल हुन थालेको छ । कैलाली टीकापुरका प्राविधिक धारका विद्यालय तथा इन्स्टिच्युटमा कोटाअनुसार अघिल्ला वर्षदेखि नै विद्यार्थी पुगेका छैनन् ।
सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुरमा सामान्य चिकित्सा ‘एचए’का लागि खोलिएको भर्नामा २६ जनाले मात्र फारम भरेका छन् । जम्मा ४० जनाको कोटा भएको सो कार्यक्रममा तीन जनालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) छात्रवृत्तिमा सिफारिस गरेर पठाउँछ । अन्य ३७ जना शिक्षालयले नै छान्नु पर्छ । तोकिएको सिट भन्दा अझै ११ जना विद्यार्थी कम हुन गएको छ इन्स्टिच्युटले जनाएको छ ।
टीकापुर बहुप्राविधिक शिक्षालयमा पनि कोटाअनुसार आवेदन दिनेको संख्या पुगेको छैन । पहिलोपटक निकालेको फारम भर्ने सूचनाको म्याद सकिँदासम्म पशु विज्ञान विषयमा २१, बाली विज्ञानमा १०, सिभिल इन्जिनियरमा १७, फरेस्ट्रीमा ११ र एग्रो इन्जिनियरिङमा दुईजनाले मात्र आवेदन फाराम भरेको शिक्षालयले जानकारी दियो ।
सिभिल इन्जिनियर र एग्रो इन्जिनियरिङमा ४८–४८ र अन्य समूहमा ४०–४० जनाको कोटा रहेको शिक्षालयका निमित्त प्रमुख विकास रानाले बताए । ‘विगतमा धेरै विद्यार्थीको आवेदन आएर छनोट गर्नुपर्ने हुन्थ्यो,’ उनले भने, ‘यस वर्ष विद्यार्थी पाउनै मुस्किल देखियो ।’
यस वर्षको एसइईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुनु, १२ कक्षा पछि तत्काल विदेशिन जस्ता कारण शिक्षालयमा बार्षिक आवेदन दिने विद्यार्थी घटिरहेको उनले बताए । ‘प्राविधिक विषय पढेकाहरू पनि बेरोजगार बस्नुपर्ने अवस्था आएकाले यसमा विद्यार्थीको रुचि घटेको हुन सक्छ, अहिले अधिकांश विद्यार्थीको १२ कक्षापछिको रोजाइ विदेश छ,’ उनी भन्छन्, ‘सरकारले प्राविधिक धार पढेकालाई रोजगारीको व्यवस्था गर्नुपर्छ । यति गरेमा प्राविधिक विषय अध्ययन रोजाइ बन्छ र नेपालमै विद्यार्थी रोक्न सकिन्छ ।’