A Levels MA

सार्वजनिक शिक्षामा प्रविधिको प्रयोग

मानिसको चेतनामा क्रमिक सुधार हुने काम शिक्षाबाट नै सुरू हुन्छ । औपचारिक वा अनौपचारिक शिक्षाको कारण प्राप्त हुने चेतनाबाट नै समाज विकास तर्फ अग्रसर हुन्छ । विगतको शिक्षा घोकन्ते थियो । जसरी भए पनि कण्ठ पार्नु पर्ने । परीक्षामा हुबहु लेख्न सके मात्र माथ्लो कक्षा जान पाउने । यसबाट दिगो सिकाइ हुँदैनथ्यो । वास्तविक कुरा जान्न भन्दा पनि कण्ठ गर्ने प्रवृत्रि प्राथमिकतामा पर्दथ्यो । समयको विकासक्रम सँगै सिक्ने सिकाउने काममा पनि फरकपन हुँदै गयो । क्रमशः कुन विधिबाट सिकाउँदा सिक्नेहरूले सहजै जान्दछन् र सिकाउनेलाई पनि सहज हुन्छ भन्ने बारेमा खोज अनुसन्धान हुँदै गए ।

यसैक्रममा सरकारी तहबाट सिकाइका नयाँ विधि तरिकाका बारेमा अध्ययन गरियो । स्थानीय देखि अन्तर्राष्ट्रिय अनुभवहरू , विद्यालयका शिक्षक र विद्यार्थीहरूको अवस्था अध्ययन, विश्वमा भएको विज्ञान प्रविधिको द्रुत विकास र प्रयोगको अवस्था सँगै सिकारुहरूको मनोविज्ञानलाई मध्य नजर गर्दै सरकारी तथा गैर सरकारी संस्था  सिकाइमा नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ भन्ने निष्कर्षमा  पुगी डिजिटल शैक्षिक सामग्री निर्माण  गर्न थालेका छन् ।

संसारमा नयाँ प्रविधिको विकास सँगै नेपालमा पनि शैक्षिक संस्थाको शिक्षण सिकाइ प्रक्रियामा प्रविधिको प्रयोग गर्ने योजना बन्यो । तर कसरी भन्ने प्रश्न रहेको थियो । विद्यालयमा कम्प्युटर बाड्ने, ईन्टरनेट दिने, शिक्षक तालिम गराउने आदि जस्ता विकल्प आए । यी विकल्पहरूको माझ आवश्यक उपकरणको साथै डिजिटल शैक्षिक सामग्री पनि दिनुपर्छ भन्ने मान्यताका साथ  नेपाल सरकार तत्कालीन शिक्षा विभागको नीतिगत सहकार्यमा  साझा शिक्षा ईपाटी नेपाल (Open Learning Exchange Nepal) ले काम सुरु गर्यो । यस पश्चात् सामुदायिक विद्यालयहरूमा कक्षागत डिजिटल सामग्री समेतका ल्यापटप दिने, शिक्षकलाई तालिम दिने लगायतका कार्य सञ्चालन भए ।

विद्यार्थीहरूका लागि डिजिटल शैक्षिक सामग्री

आजको पुस्ता नयाँ प्रविधिमा चासो राख्ने पुस्ता हो । यसैले दैनिक सिक्ने क्रममा पनि प्रविधि कै प्रयोग गर्न सकियो भने दिगो र प्रभावकारी सिकाइ हुन्छ । सिकाइमा प्रविधिको प्रयोग गर्ने हो भने सान्दर्भिक डिजिटल शैक्षिक सामग्री चाहिन्छ । कम्प्युटर मात्र दिएर हुँदैन । कक्षागत र विषयगत बालमैत्री शैक्षिक सामग्री पनि हुनुपर्छ । सबै सामग्रीहरू राष्ट्रिय पाठ्यक्रममा आधारित हुनैपर्छ । साझा शिक्षा ईपाटीले पाठ्यक्रम विकास केन्द्रसँगको सहकार्यमा यस्ता डिजिटल शैक्षिक सामग्री (ईपाठ) तयार पारेकोछ । ईपाठ प्रयोग गर्न https://pustakalaya.org/epaath/   मा जानु पर्छ । यिनमा आवश्यकता अनुसार आवाज, चित्र, एनिमेशन र अक्षरको प्रयोग भएकोछ । हालसम्म कक्षा १ देखि ८ सम्मका अङ्ग्रेजी, गणित, विज्ञान र कक्षा १ देखि ४ सम्मका नेपाली विषयका ईपाठहरू तयार भएकाछन् । हरेक ईपाठ नेपाली र अङ्ग्रेजी दुबै भाषामा तयार पारिएको छ । 

पठनसिप विकासका लागी बाल पाठमाला

बालबालिकाहरूले जति बढी पढ्ने सामग्री पायो उति नै बढी पठन सिपको विकास हुन्छ । हाल विषेश गरि दुर्गम क्षेत्रमा यस्ता डिजिटल सामग्रीहरू पाउन कठिनछ । सुगम क्षेत्र मै पनि कुन सामग्री प्रयोग गर्न दिने हो अलमल छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै साझा शिक्षा ई-पाटीले बालसन्दर्भ सामग्रीको रूपमा विभिन्न पुस्तकहरूको संग्रह तयार पारेकोछ । जसलाई बाल पाठमाला भनिएकोछ । यसमा भएका बाल साहित्यका सचित्र पुस्तकहरू हेर्न https://pustakalaya.org/balpaathmala/ मा गएर सकिन्छ । यहाँ अंग्रेजी र नेपाली दुबै भाषाका पुस्तकहरू रहेकाछन् । विषेश गरी यो कक्षा १ देखि ५ सम्मका बालबालिकाहरूका लागी उपयुक्त पुस्तकहरूको संग्रह हो । बालबालिकाहरूको सिकाइ स्तरका आधारमा पुस्तकहरूलाई ३ स्तरमा विभाजन गरिएको छ । शिक्षकको निर्देशन अनुसार फरक पढाइ क्षमता भएका बालबालिकाहरूले यसलाई प्रयोग गर्न सक्छन् । यसबाट प्रयोगकर्तालाई विषयवस्तुमा जानकारी र पठनसिप विकासमा सहयोग पुग्ने छ ।

प्रारम्भिक पठन सिप विकासका लागी सामग्री

मानिसको कुनै पनि क्रियाकलापको लागी भाषा पहिलो र अनिवार्य सर्त हो । एक अर्काका विचार भावनाहरू आदान प्रदान गर्ने माध्यम नै भाषा हो । सुनाइ, बोलाइ, पढाइ र लेखाइ भाषाका सिप हुन् । उत्कृष्ठ र प्रभावकारी आदानप्रदानका लागी यी चारवटै सिपको समान विकास हुनुपर्छ । सुनाइ र पढाइले व्यक्तिमा ज्ञान, सुचना लिनको लागी सहयोग पुग्छ भने बोलाइ र लेखाइले ज्ञान, विचार, भावना, अनुभव अन्यलाई बाँड्नको लागी सहयोग गर्छ । यी मध्ये विद्यार्थीले सुनाइ र बोलाइ घरबाटै सिकेर आएको हुन्छ भने पढाइ र लेखाइ विद्यालयमा आएर सिक्छ । जसरी भए पनि मानिसमा यी चारवटै सिपको समान विकास हुनु जरुरी छ । साझा शिक्षा ई-पाटीले विद्यार्थीलाई यी सबै सिपको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले तयार पारेका यी सामग्री https://egr.pustakalaya.org/story पाउन सकिन्छ । यसको प्रयोगबाट विद्यार्थीको सुनाइ, बोलाइ, पढाइ र लेखाइ सिप विकासमा सहयोग पुग्ने अपेक्षा गरिएकोछ । शिक्षकले आवश्यकतानुसार यी सामग्री प्रयोग गर्न सक्नेछन् ।

माध्यमिक शिक्षा परिक्षा (SEE) सहयोगी सामग्री

हाल विश्वब्यापी रूपमा कोरोना भाइरसको आतङ्क छ । नेपाल पनि यसबाट अछुत रहने अवस्था नै रहेन । विद्यालयहरूले कक्षा ९ सम्मका विद्यार्थीहरूको शैक्षिक शत्र २०७६ को वार्षिक परिक्षा लिईसकेका छन् । तर माध्यमिक शिक्षा परिक्षा भने अन्तिम समयमा आएर स्थगीत भएकोछ । सम्पूर्ण विद्यार्थी र अभिभावकहरूलाई यसले विषेश चिन्ता थपेकोछ । मुलुक बन्दाबन्दीमा गएकोछ । यो अवस्था कहिले सम्म रहने हो निश्चित छैन । यस घडिमा साझा शिक्षा ई-पाटीले समस्त विद्यार्थीहरूलाई घरमै बसेर प्रयोग गर्न मिल्ने गरी माध्यमिक शिक्षा परिक्षाका सहयोगी सामग्रीहरू संग्रहित रूपमा विषयगत पुराना प्रश्नपत्रहरू, पुस्तक, शिक्षक निर्देशिका, सन्दर्भ सामग्रीहरू, अडियो तथा भिडियो सामग्रीहरू यहाँ https://pustakalaya.org/ne/see-support-materials/ पाउन सक्ने गरी राखिएको छ । प्रयोगकर्ताहरूले ईन्टरनेटबाट सिधै वा डाउनलोड गरेर प्रयोग गर्न सक्नुहुनेछ । यसको प्रयोगबाट बन्दाबन्दीको समयमा घरमै बसेर पनि विद्यार्थीहरुलाई सहयोग पुग्ने आशा गरिएकोछ । शिक्षक साथीहरूले विद्यार्थीहरू समक्ष पुर्‍याउन सहयोग गर्न सक्नुहुनेछ ।

सबै वर्गको लागी ई-पुस्तकालय

साझा शिक्षा ई-पाटीले समुदायमा पठन संस्कृतीको विकास गर्न सहयोग पुर्‍याउने उद्देश्यले ई-पुस्तकालय तयार पारेकोछ । नेपाली, अङ्ग्रेजी र स्थानीय भाषाका सामग्रीहरू सङ्कलन गरेर तयार पारिएको यो पुस्तकालय अनलाईन र अफलाइन दुबै तरिकाबाट प्रयोग गर्न सकिन्छ ।  यसमा हज्जारौँको सङ्ख्यामा डिजिटल पुस्तक, अडियो पुस्तक, भिडियो तथा अभ्यास गर्ने सामग्रीहरू उपलव्ध गराइएकाछन् । ईन्टरनेट भएको स्थानमा www.pustakalaya.org मा गएर प्रयोग गर्न सकिन्छ भने बिना ईन्टरनेट प्रयोग गर्न साझा शिक्षा ई-पाटीले सर्भरमा सम्पूर्ण डिजिटल सामग्रीहरू राखेर उपलव्ध गराउने ब्यवस्थाछ । यसमा ई-पाठ, बाल पाठमाला लगायतका सम्पूर्ण सामग्रीहरू पाउन सकिन्छ । अफलाइन प्रयोग गर्दा डेक्सटप कम्प्युटरमा नेटवर्किङ मार्फत सकिन्छ भने ल्यापटप र मोवाइलमा यी सामग्री प्रयोग गर्न राउटरको सहयोग लिन सकिन्छ । यसलाई विद्यालय, क्याम्पस, पुस्तकालय तथा सार्वजनिक स्थानमा राखेर पनि प्रयोग गर्न सकिन्छ ।

पढेर बस्ने समय नमिलेमा सुन्ने किताब

लकडाउनको समय कष्टकर हुँदै गएकोछ । बिना पर्याप्त काम घरमा बसिरहन साँच्चि नै सहज नहुँदो रहेछ । एकै किसिमको काम पनि कति गरिरहनु होला । यस्तो बेलामा अलि फरक तरिकाले समय बिताउन, जानकारी तथा मनोरञ्जन लिन सुन्ने किताबहरू पनि प्रयोग गर्न सकिन्छ । सबै उमेर समुह र बिषयका किताबहरू सुन्न मिल्ने गरि तयार पारेर एकै ठाउँमा राखिएको छ । त्यो ठाउँ https://bit.ly/EPAudioBooks हो । तपाईँले यहाँ गएर धार्मिक तथा ऐतिहासिक किताब, बालकथा, गीत र कबिता लगायतका सामग्रीहरू सुन्न सक्नुहुन्छ ।

मोवाइल App को सुविधा

साझा शिक्षा ई-पाटीले ई-पुस्तकालयमा भएका सामग्रीहरू रहेको मोवाइल एप पनि तयार पारेकोछ । मोवाइल प्रयोगकर्ताहरूले Play store बाट OLE Nepal ले तयार पारेको Epustakalaya नामको App install गरेपछि यी सामग्रीहरू प्रयोग गर्न सक्ने सुविधा राखिएकोछ । हाल यसमा डिजिटल पुस्तकहरू मात्र राखिएकोछ ।   

यस प्रकार नेपालको सार्वजनिक शिक्षा प्रणालीमा गुणस्तर र भौगोलिक आधारमा देखिएको फरकलाई कम गर्न सहयोग पुर्‍याउन सहयोग गर्ने उद्देश्यले साझा शिक्षा ई-पाटीले शिक्षामा प्रविधिको प्रयोग गर्न सहयोग गरिरहेकोछ । यस कार्यमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र यस मातहतका निकायहरूसँग सहकार्य रहेकोछ । यसरी तयार पारिएका सम्पूर्ण डिजिटल सामग्रीहरू नितान्त शैक्षिक प्रयोजनका लागी तयार पारिएका हुन् भने प्रयोगकर्ताले यी सामग्रीहरू निःशुल्क  प्रयोग गर्न सक्छन् ।

Thuprai - Books and E-books