Ranakalin Shiksha

नेपालको शैक्षिक प्रणालीमा स्टेम शिक्षाको प्रयोग र यसको सान्दर्भिकता

परिचय

विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग तथा गणितका सीपहरुलाई एकिकृत गरि तयार पारिएको शिक्षालाई स्टेम शिक्षा भनिन्छ । अंग्रेजीमा यसलाई (STEM) लेखिन्छ । जसको पुरा रुप Science, Technology, Engineering र Mathematics हुन्छ । यसमा समावेश गरिएका चार विधाहरु मध्ये विज्ञानले प्राकृतिक संसारको बारेमा बृहत ज्ञान प्रदान गर्नुका साथै प्रक्रियाहरुको विस्तृत अध्ययन गर्न सहयोग गर्दछ । प्रविधिले आम मानिसहरुको दैनिक माग, चाहाना र आवश्यकताहरुको परिपूर्ति गर्नको लागि विभिन्न उत्पादनहरु गर्नमा सहयोग पूर्याउँछ । इन्जिनियरिङ्ग शिक्षाले समस्याहरुको समाधानमा प्रयोग हुने विविध प्रकारका डिजाइनका प्रक्रियाहरु पत्ता लगाउन सहयोग गर्दछ । त्यसैगरी गणित विषयले उत्पादन गर्नुपर्ने वस्तुको संख्या, आकार, मात्रा, तर्क र प्रक्रियाहरुको बारेमा तथ्य प्रस्तुत गर्दछ ।

स्टेम शिक्षाले पहिले पहिले जस्तो सबै विषयहरु अलग अलग शिक्षण नगराई सबै विषयहरु एकिकृत गरि प्राविधिक तथा उत्पादन मुलक शिक्षामा जोड दिंदै आजको २१ औं शताब्दीको युगसँग सहकार्य गर्दै अगाडि बढ्ने दक्ष जनशक्ति उत्पादन गर्ने आधुनिक महाअभियानको रुप लिएको छ । तसर्थ स्टेम शिक्षा विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग र गणित विषयका आधारभूत अवधारणालाई एकिकृत गरि कार्यान्वयनमा ल्याइएको बहुआयामिक ढाँचा हो ।

स्टेम शिक्षाको इतिहास

स्टेम शिक्षा सन् १९६० को दशकमा अमेरिकाबाट शुरु भएको पाइन्छ । सन् २००६ मा भएको मोमेन्टले आर्टस विषयको पनि आवश्यकता भएको निष्कर्ष निकालेपछि विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग र गणितलाई समेत जोड्न आर्टस् थप गरेपछि स्टेम शिक्षामा रुपान्तरण भएको हो । विश्व जगतमा भएको इन्टरनेटको विकास र आइसिटीको व्यापक प्रयोगका कारण स्टेम शिक्षाको अवधारणा आएको पाइन्छ ।

सन् १९९० मा नेशनल साइन्स फाउन्डेसनकी तत्कालिन अमेरिकी सहायक निर्देशक जीवशास्त्री डा. जुडिथ राम्सेले हिज्जे संसोधन गरि स्टेम नामाकरण गरेकी हुन । स्टेम शिक्षा नेशनल साइन्स फाउन्डेसन अमेरिकाबाट सन् २००१ मा सुरुमा ल्याइएको एउटा एकिकृत कार्यक्रम हो ।

सन् २००५ मा संघिय शिक्षा नीतिमा समावेश भएपछि अमेरिकाका सबै राज्यहरुमा विस्तार भयो । त्यसपछि क्रमशः विश्वका अन्य मुलुकहरु जस्तैः अष्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया, बेलायत, फ्रान्स, ताइवान, युके सिंगापुर जस्ता मुलुकहरुमा फैलिएको पाइन्छ ।

स्टेम शिक्षाको लक्ष्य

गुणस्तरीय शिक्षाको माध्यमबाट आफ्नो मुलुकको साथसाथै विश्वभर नै आवश्यक पेसागत सक्षमता, कार्यदक्षता, प्रविधिक सीप, अन्वेषणात्मक सीप र डिजिटल सीपयुक्त जनशक्ति उत्पादन गर्नको लागि विद्यालयको आधाभूत तह देखि उच्च शिक्षामा यस प्रकृतिको शिक्षालाई कार्यान्वयनमा ल्याइएको पाइन्छ । विश्वका धेरै देशहरुले स्टेम शिक्षलाई आफ्नो देशको शिक्षा प्रणालीमा समावेश गरिसकेका छन् । यसको मुख्य लक्ष्य विज्ञान र गणित शिक्षाका क्षेत्रमा लैंगिक तथा जातिगत विभेदिकरण न्युन गर्नुका साथै स्टेम शिक्षामा महिला र अल्पसंख्यक समुदायका व्यक्तिहरुको भूमिका वृद्धि गर्दै उच्चस्तरीय सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्नु रहेको छ ।

नेपालमा स्टेम शिक्षा

नेपालमा स्टेम शिक्षाको सुरुवात भर्खर भर्खरबाट भएको हुनाले खासै लामो इतिहास रहेको पाईंदैन । नेपालमा गतवर्ष देखिमात्र स्टेम शिक्षाको अध्ययन अध्यापन सुरु गरिएको हो । यो नै दक्षिण एशियामा पहिलो अभ्यास हो । स्टेम शिक्षाको सुरुवाती समय छोटो भएता पनि स्टेम शिक्षा प्रति धेरैको चासो बढेको पाइन्छ । स्टेम शिक्षाको महत्वलाई बुझेर नेपालका सातवटा प्रदेशहरु मध्ये लुम्बिनी प्रदेशले यसको सुरु गरिसकेको छ ।

विज्ञान र गणितको नतिजा नराम्रो भएको निष्कर्ष निकाल्दै लुम्बिनी प्रदेश सरकारले नतिजामा सुधार ल्याउनको लागि पहिलो पटक २०७६ सालमा दैनिक प्रति विषय १ घण्टा ३० मिनेटका दरले शिक्षण गर्नुपर्ने गरि ५२ दिने ट्युसन कार्यक्रम संचालनमा ल्याएको थियो । यो कार्यक्रमबाट पक्कै पनि नतिजा सुधारमा सहयोग मिल्यो ।

त्यसैगरि स्टेम शिक्षाको बारेमा विज्ञान र गणित विषयका शिक्षकहरुलाई जानकारी गराउन र दैनिक शिक्षण सिकाइमा प्रयोगमा ल्याउनका लागि शिक्षा तालिम केन्द्र भैरहवाले पनि हालैमात्र तीन दिने तालिम सम्पन्न गरिसकेको छ । यो पनि सातै प्रदश मध्येको पहिलो कार्यक्रम भएको बताइएको छ ।

राष्ट्रिय शिक्षा नीति २०७६ मा स्टेम शिक्षा

राष्ट्रिय शिक्षा नीति २०७६ ले स्टेम शिक्षालाई सम्पूर्ण शिक्षा प्रणालीको अंगको रुपमा विकास र बिस्तार गर्ने लक्ष्य राखेको छ । विद्यालय तहको गणित र विज्ञानमा देखिएको कमजोर स्थितिमा सुधार गरि आगामी दिनहरुमा नतिजा सुधार गर्ने, सम्पूर्ण विद्यार्थीहरुको रुची र क्षमताका आधारमा धेरै भन्दा धेरै सिक्ने अवसर प्रदान गर्न, विद्यार्थीहरुमा श्रृजनसिलता एवं नवप्रर्वतन क्षमता विकास गराउने उद्येश्य राखी हाल माध्यमिक तहमा स्टेम शिक्षा लागू गरिएको छ । यस कार्यक्रमलाई साल बनाउन राष्ट्रिय शिक्षा नीति २०७६ को दफा १० मा निम्न नीति तथा कार्यनीतिहरुको व्यवस्था गरिएको छ

१०.५५ः मा उपयुक्त नीति, लगानी, जनशक्ति विकास, पाठयक्रम समायोजन र शिक्षण पद्धतिको आधुनिकीकरण गरि विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग तथा गणित शिक्षालाई समग्र शिक्षा प्रणालीको अभिन्न अंगको रुपमा विस्तार गर्ने,

१०.५५.१ः विद्यालय तहको पाठ्यक्रम प्रारुप निर्माण र पाठ्यक्रम विकास गर्दा विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग र गणितलाई विषय वस्तुको रुपमा समावेश गर्दै पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामाग्रीलाई डिजिटाइजेसन गरि सिकाइ प्रक्रियामा सुधार गरिनेछ,

१०.५५.२ः पाठ्यक्रम र पाठ्यसामाग्रीलाई परिवेश सापेक्ष परिमार्जन र अद्यावधिक गर्दा विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग र गणित जस्ता विषयलाई उचित स्थान दिइनेछ,

१०.५५.३ः स्टेमको प्रवर्धन गर्न समुदाय, संघसंस्था,उद्योग र आम संचारका साधनहरुसँग शिक्षण संस्थाहरुले सहकार्य गरि असल अभ्यासहरुलाई प्रचार प्रसार र विज्ञान प्रविधि सम्बन्धि साक्षरताको कार्यक्रमहरु संचालन गरिनेछ,

१०.५५.४: प्रारम्भिक तह देखि नै विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग तथा गणितसँग सम्बन्धित विषयहरुमा बालबालिकाहरुको रुची, सहभागिता, संलग्नता र क्षमता विकास गर्न कक्षा र स्तर हेरी पाठ्क्रममा यसको मात्रालाई पचास प्रतिशतसम्म पुर्याइनेछ,

१०.५५.५: विद्यालय शिक्षाका विभिन्न विषयहरुमा (भाषा, साहित्य, कला, संस्कृति, इतिहास, भूगोल) आदि समेत स्टेमको अवधारणा एकीकृत गरिनेछ,

१०.५५.६:  स्नातक र स्नाकोत्तर तहमा राज्यका लागि आवश्यक क्षेत्र पहिचान गरि स्टेममा आधारित पाठ्यक्रम निर्माण गरिनेछ,

१०.५५.७: स्टेम सम्बन्धि शिक्षाको प्रवर्धन गर्नका लागि संघिय र प्रादेशिक स्तरमा विज्ञान, प्रविधि केन्द्र, अनुसन्धान तथा आविष्कार केन्द्र र प्लानेटोरियम निर्माण गरिनेछ ।

राष्ट्रिय शिक्षा नीति २०७६ मा यि कुराहरु उल्लेख गर्नुले पनि अब नेपालमा पाि स्टेम शिक्षाले महत्व पाएको बुझ्न सकिन्छ ।

स्टेम शिक्षाका फाइदाहरु

शिक्षण सिकाइ बाध्यात्मक नभई विद्यार्थीहरुको इच्छा, क्षमताका आधारमा आफै गरेर नयाँ कुरा सिक्न पाउने भएकाले नतिजामा उल्लेखनिय सुधार भै सिकाइ उपलब्धि वृद्धिको सुनिश्चितता हुन्छ ।

विज्ञान र गणितलाई प्रविधि र इन्जिनियरिङ्ग विधासँग जोडेर शिक्षण गर्दा विद्यार्थीहरुमा कौतुहलता जागृत हुन गई सिकाइप्रति आकर्षण बढ्ने, रमाई रमाई सिक्ने, केही नविन चीजको खोजी गनुपर्छ भन्ने भावना जागृत हुन्छ । विज्ञान र गणितमा लैंगिक विभेदिकरण घट्न जान्छ ।

शिक्षण सिकाई पूर्णतः विद्यार्थी केन्द्रित हुने भएकाले विद्यार्थीहरुमा यच्च दक्षता सहितको सीपको विकास हुनेहुँदा आत्मविश्वास र समस्या समाधानका लागि सक्षमता विकास हुन्छ ।

स्टेम शिक्षालाई यसको उद्येश्य बमोजिम लागू गरिएमा हाम्रा विद्यार्थीहरुमा कुनै पनि समस्या प्रति विभिन्न तर्कहरु गर्ने, नविन श्रृजना गर्ने, नव प्रवर्तन गर्ने, अविष्कारहरु गर्ने जस्ता असाधारण क्षमताहरुको विकास हुन्छ ।

संज्ञानात्मक क्षमताको सुधार गराउँछ ।

प्रारम्भिक उमेरमा नै स्टेम क्यारियर अन्वेषण प्ररित गराउँछ ।

वैज्ञानिक प्राविधिक सीपयुक्त साक्षरता वुद्धि गर्छ आदि ।

अन्तमा, स्टेम शिक्षा नेपालमा सुरुवाति चरणमा भएतापनि अबका दिनहरुमा यसले गति अवश्य लिन्छ । राष्ट्रिय शिक्षा नीतिमा नै स्पष्ट लेखिनुले पनि अबको शिक्षण सिकाई गतिविधी स्टेममा आधारित भई अगाडि दढाउनुको विकल्प छैन । यसका लागि सरोकारवाला निकायहरु प्रशिक्षित भै सकेको अवस्था छ । स्टेम शिक्षाको लक्ष्य प्रातिका लागि शिक्षकहरु सक्रिय रुपले लाग्नु पर्ने हुन्छ । अबका दिनहरुमा विज्ञान र गणितमा देखिएको कमजोर नतिजामा पक्कै पनि सुधार देखिनेछ । यसबाट पनि स्पष्ट हुन्छ कि अबको समयमा बहु प्रतिभाशाली, सीपयुक्त विद्यार्थीहरुको उत्पादन हुने निश्चित प्रायः छ । जसले गर्दा उत्पादित दक्ष जनशक्तिलाई राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा रोजगारीको क्षेत्रमा राम्रा अवसरहरु प्राप्त हुन्छन् ।