thuprai.com

विश्वविद्यालय अनुसन्धान केन्द्र बन्नुपर्छ

सुरेशराज शर्मा पूर्वउपकूलपति केयु

विश्वविद्यालय भनेको अनुसन्धान केन्द्र हो । विश्वका विकसित मुलुकमा संचालन गरिएका विश्वविद्यालयमा कुनै पनि समूहको राजनीतिक हस्तपेक्ष हुँदैन । सम्पूर्ण वातावरण नै शैक्षिक हुन्छ । त्यसले तिनीहरूले विश्वमा आफ्नो छबी बनाउन सफल भएका छन् । विश्वका चर्चित विश्वविद्यालको अध्ययन अनुसन्धान गरी स्थापना गरिएको काठमाडौं विश्वविद्यालयको गुणस्तर खस्कन्छ कि भन्ने चिन्ता बढेको छ । यसै विषयमा स्थापना कालदेखि दुई दशकसम्म विश्वविद्यालयका उपकुलपति रहनु भएका पूर्व उपकूलपति सुरेशराज शर्मासंग इडियुपत्र संवाददाता अमृता बुढाथोकीले गरेको कुराकानीको सारसंक्षेपः

काठमाडौं विश्वविद्यालयको स्थापना कसरी भयो ?

काठमाडौं विश्वविद्यालय (केयु) को स्थापना हुनुभन्दा पहिले केही व्यक्तिहरूले प्राइभेट कलेजको रूपमा २०४२ सालमा भ्याली क्याम्पसको स्थापना गरेका थिए । प्रवीणता प्रमाणपत्र तहसम्मको विज्ञान विषयको अध्यापन हुन्थ्यो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो क्याम्पसले प्रारम्भमै त्रिविका अन्य क्याम्पसहरूको भन्दा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भयो । यस नतिजाबाट क्याम्पस व्यवस्थापन समितिका सदस्यहरू उत्साहित हुनपुगे । त्यसपछि तिनीहरू छुट्टै विश्वविद्यालयको स्थापना गर्ने अठोटमा पुगे । यही अठोटले काठमाडौं विश्वविद्यालय स्थापना हुन पुग्यो । त्यस बखत त्रिवि चिकित्सा अध्ययन संस्थान र इन्जिनियरिङ अध्ययन संस्थानले सीमित विद्यार्थीलाई मात्र पढाउन सक्थ्यो । त्रिविसंग कोटानै हुँदैन थिए । सीमित कोटाका कारण धेरै नेपाली विद्यार्थीहरू बाध्य भएर विदेश पलायन हुन्थ्यो । चिकित्सा विज्ञान एवं अन्य विषयको अध्ययनका लागि पनि भारतलगायत अन्य देश जानै पथ्र्यो । यसले एकातिर स्वदेशी पुँजी विदेश जाने र अर्कोतिर विदेशमा गएका विद्यार्थीहरूले विभिन्न खालका चुनौतीहरुको सामना गर्नु पथ्र्यो । देशमा २०४६ सालमा राजनैतिक परिवर्तन भयो । उक्त परिवर्तनले नयाँ संविधान निर्माण गर्‍यो । सोही संविधानले व्यवस्था गरेअनुसार नेपालमा बहुविश्वविद्यालयको अवधारणा ल्यायो । नेपालमा उच्चशिक्षाको विकास र स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने उद्देश्यले भ्याली क्याम्पसका तत्कालीन नेतृत्वको संयुक्त पहलमा २०४८ सालमा केयुको स्थापना भयो । त्यसबखत नेपालमा विज्ञान विषयको प्रवीणता प्रमाणपत्र तहसम्मको मात्र पठनपाठन हुन्थ्यो । विज्ञान विषय चाहेर पनि नेपाली विद्यार्थीले पढ्न सक्ने अवस्था थिएन । त्यसैले केयुको स्थापना भयो । त्यसैले चिकित्सा शिक्षाको आवश्यकता महसुसगरी केयुको स्थापना भएको हो । अहिले विद्यार्थी र अभिभावकको माग अनुरुप अन्य विषय पनि पठनपाठन हुन थालेको छ ।

विश्वविद्यालयमा अहिले कुनकुन विषयमा पठनपाठन हुन्छ ?

विज्ञान सङ्काय, (स्कुल अफ साइन्स), इन्जिनियरिङ सङ्काय,(स्कुल अफ इन्जिनियरिङ ), व्यवस्थापन सङ्काय (स्कुल अफ् म्यानेजमेन्ट), कलासङ्काय (स्कुल अफ आर्टस् ) लगायतका समूहको पठनपाठन गराउँदै आएको छ ।

यी संकायको अवस्था कस्तो छ ?

केयुले विभिन्न सङ्काय (स्कुल) हरू स्थापना गरेको छ । चिकित्सा विज्ञान सङ्काय ९स्कुल अफ मेडिकल साइन्स्० धुलिखेल नगरपालिका चौकोटमा सञ्चालित छ। यस सङ्कायले स्नातकदेखि विद्यावारिधिसम्मका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस सङ्कायबाट विभिन्न जिल्लामा रहेका मेडिकल कलेजहरूले सम्बन्धन प्राप्त गर्दै आएका छन । काठमाडौं विश्वविद्यालयबाट अहिले करिब १६ वटा कलेजले सम्बन्धन लिएर आफ्ना कार्यक्रम्हरु सञ्चालन गर्दै आएक छन् ।

विज्ञान सङ्काय (स्कुल अफ साइन्स्), यस सङ्कायमा विज्ञान विषयका विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । स्नातक तहदेखि विद्यावारिधि तहसम्मको पठनपाठन हुन्छ ।

विश्वविद्यालयको अत्यन्तै चर्चित सङ्काय हो इन्जिनियरिङ सङ्काय  (स्कुल अफ इन्जिनियरिङ)। यसमा इन्जिनियरिङ् क्षेत्रका विभिन्न विषयको पठनपाठन हुने गरेको छ । यस सङ्कायअन्तर्गत सिभिल, मेकानिकल, कप्युटर, इलेक्ट्रिकल, इलोक्टिोनिक्स कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । यस सङ्कायबाट उत्पादित जनशक्ति अन्तर्राष्ट्रिय बजारमा सजिलै बिक्री हुनेगरेका छन् ।

केयुको व्यवस्थापन सङ्काय  (स्कुल अफ् म्यानेजमेन्ट)  ललितुपरको बालकुमारीमा छ । यस सङ्कायमा स्नातकोत्तर सम्म पठनपाठन हुने गरेको छ । यो संकाय पहिलेदेखिनै सेमेस्टर प्रणालीमा सञ्चालित छ । यस सङ्कायले आफ्नो स्थापनाकादेखि नै उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।

कलासङ्काय  (स्कुल अफ आर्टस्)  ललितपुरको हात्तीवनमा अवस्थित छ । यस सङ्काय (स्कल अफ आर्टस् ) ले सञ्चालन गर्ने स्नातक तहका सबै कार्यक्रमहरू पहिलेदेखिनै  (सत्रान्त) सेमेस्टर प्रणालीमा सञ्चालन गर्दै आएको छ । यस सङ्कायमा विभिन्न विषयमा विद्यावारिधि तहसम्मको अध्यापन हुने गरेको छ। शिक्षा सङ्काय (स्कुल अफ एजुकेसन) ललितपुरको हात्तीवनमा रहेको छ । यस सङ्कायमा स्नातकोत्तर तहदेखि विद्यावारिधि तहसम्मका विद्यार्थीहरूले अध्ययन तथा अनुसन्धान गर्दै आएका छन् । यस सङ्कायका कक्षाहरू सन्ध्याकालमा सञ्चालन हुँदै आएका छन् । काठमाडौं विश्वविद्यालय कानुन सङ्काय (स्कल अफ ल ) धुलिखेलमा सञ्चालित छ । यसको स्थापना आजभन्दा पाँच वर्षभन्दा अगाडि भएको हो । यहाँ पाँच वर्षे स्नातक तहको अध्यापन हुन्छ ।

विद्यार्थीको आकर्षण कस्तो छ ?

काठमाडौँ विश्वविद्यालयले स्थापना भएको वर्षदेखिनै गुणस्तरलाई महत्व दिँदै आएको छ । राम्रो गुणस्तर भएको ठाउँमा सबै पढ्न चाहन्छन् । त्यसैले विद्यार्थी चाप स्थापनाकालदेखि अहिलेसम्म छ । कतिपय सङ्कायको केही कार्यक्रमहरूमा विद्यार्थी भर्नाको सङ्ख्या उच्च छ भने केहीमा घटेको जस्तो देखिएको छ । यसको प्रमुख कारण अन्य विश्वविद्यालयहरूले पनि सेमेस्टर प्रणालीको थालनी गर्नुले हो । केही समय अगाडिसम्म त्रिविको इन्जिनियरिङ् र चिकित्सा विज्ञान अध्ययन संस्थानबाहेक अन्य सङ्कायका कार्यक्रमहरू सेमेस्टर प्रणालीमा चलेका थिएनन् । काठमाडौं विश्वविद्यालयभन्दा पछि स्थापना भएका अन्य विश्वविद्यालयहरूले सेमेस्टर प्रणाली अँगालेका कारणले पनि केयुमा विद्यार्थी भर्ना सङ्ख्यामा विगतको तुलनामा केही कमी आएकै हो ।

विद्यार्थीको आकर्षण घट्नुको प्रमुख कारण ?

हरेक विषयबाट उत्पादन गरिएका विद्यार्थीले दुई महिनामा रोजगार पाउने गरेका छन् । केयुले अन्य पक्षभन्दा सिकाइ र गुणस्तरलाई जोड दिने गरेको छ । राम्रा जनशक्ति उत्पादन भएकै कारण दुईमहिनाभन्दा बढी बेरोजगार बस्नु नपरेको हो । केयुका ८० प्रतिशत विद्यार्थी अब्बल नतिजाका साथ उत्रीर्ण हुने गरेका छन् । तर पछिल्लो समय केयुमा उत्पन्न परिस्थितिले विद्यार्थी घट्न सक्ने डर भएको छ । यसको जडकारण भनेकै विश्वविद्यालय भित्रै देखापर्ने राजनीति हो । यसले गुणस्तर घट्छ कि भन्ने चिन्ता बढेको छ । अहिलेको अवस्थाले विश्वविद्यालयको हित गर्दैन । यसको सम्बोधन तत्काल गरिनुपर्छ ।

समस्या समाधानको दीर्घकालीन समाधान के होला ?

हामीले काठमाडौं विश्वविद्यालयको परिकल्पना गर्दा नै विश्वका चर्चित विश्वविद्यालयको स्थापनाको परिवेश, सञ्चालन पद्धति, उत्पादित जनशक्तिआदिको अध्ययन गरेर केयुको परिकल्पना गर्‍यौं । नेपालका लागि आवश्यक ठानिएका विषय छनौट गर्‍यौं त्यही अनुसारको योजना बनायौं । केयुलाई विशुद्ध शिक्षण तथा अनुसन्धान केन्द्र बनाउने गरी विधान बनायौं । हामीले विश्वविद्यालयलाई केवल अनुसन्धान केन्द्र बनाउने गरी विधान बनायौं । त्यही विधानको विषयलाई लिएर केही समूहले असन्तुष्टि जनाएका हुन् । यसको समाधान राज्यले गर्नुपर्छ । गुणस्तरीय जनशक्ति उत्पादन गर्दै आएको विश्वविद्यालयको शाख जोगाउनुपर्छ । विश्वका जुनसुकै प्रसिद्ध विश्वविद्यालयलाई हेर्दा पनि यो प्रष्ट हुन्छ की समृद्ध विश्वविद्यालय स्वतन्त्र नभइ राष्ट्रले समृद्धि हासिल गर्न सक्दैन । सकेको छैन । एउटा संकायका विद्यार्थीलाई अर्को संकायमा के खाँचो छ थाहा हुँदैन । त्यसले विद्यार्थीमा व्ययभार मात्र थोपर्छ । राजनीति, पेसा, व्यवसाय गर्नेहरुको पनि योग्यता निर्धारण गर्नुपर्छ । जसले जुन विषयमा विज्ञता हासिल गर्छ उसले सोही पेसामा प्रवेश गर्‍यो भने मात्र सम्बन्धित क्षेत्रको विकास हुन जान्छ । त्यसैले हामीलाई समृद्धिको खाँचो छ । यसका लागि विश्वविद्याललाई प्राज्ञिक र स्वतन्त्र बनाउनुपर्छ । केयुमात्र होइन सम्पूर्ण विश्वविद्यालय स्वतन्त्र भएमा मात्र शैक्षिक गुणस्तरमा सुधार आउँछ । गुणस्तरमा सुधार आएपछि नेपाली विद्यार्थीलाई स्वदेशमा नै रोक्न सकिन्छ । विदेशी विद्यार्थीलाई आकर्षण गर्न सकिन्छ ।

नेपालमा विदेशी विद्यार्थी भित्र्याउन सक्ने संभावना छ ?

नेपालमा विदेशी विद्यार्थी भित्र्याउने सक्ने प्रशस्त संभावना छन् । विश्वविद्यालयलाई हस्तक्षेपमुक्त बनाउन सक्ने हो भने चिकित्सा शिक्षा, वातावरण विज्ञान तथा अनुसन्धान जस्ता विषयमा विद्यार्थी भित्र्याउन सक्ने सम्भावना छ । तर यसका लागि राज्यले विवेक पुर्‍याउनुपर्छ । विदेशी विद्यार्थीले चाहे जस्तो शिक्षिक वातावरण प्रदान गर्नुपर्छ । वार्षिक ३ हजारमात्र विदेशी विद्यार्थी भित्र्याउने हो भने देशमा अर्बौ विदेशी मुद्रा भित्रिन्छ । यसले आर्थिक समृद्धि हासिल गर्न सक्छ ।

तपाईँले परिकल्पना गर्नु भएको केयु कस्तो थियो ?

गैर नाफामूलक दक्ष जनशक्ति उत्पादन गर्ने अनुसन्धान केन्द्रको परिकल्पाना थियो । विश्वका सयभित्र केयु परोस् । दक्ष जनशक्ति उत्पादन हुन् । देश विदेशका विद्यार्थी अभिभावकको आकर्षणको केन्द्र बिन्दु बन्छ भन्ने परिकल्पना गरेको थिएँ ।