राजा प्रताप मल्लका पालामा दरबार क्षेत्र विस्तार गर्नुपर्ने भयो । वसन्तपुरको गद्दी बैठक विस्तार गरिएकै पाटो हो । दरबार विस्तार गर्दा प्रधानहरुलाई अन्यत्र सार्नुपर्ने भयो । नजिकै अर्थात् मरुटोलमा जग्गा दिनुका साथै नयाँ भवन बनाएर प्रधानहरुलाई सारियो । नयाँ घर अर्थात् नेवारी भाषामा न्हु छें । नयाँ घरका प्रधान अर्थात् न्हुछें प्रधान । नाम र थरको बीचमा न्हुछें जोडिन थालियो । सबैले नयाँ घरका प्रधान भनेर चिन्नका लागि सहज बन्यो । न्हुछें प्रधान भन्नासाथ राजा प्रताप मल्लले विस्तापित गरेका प्रधान खलक भन्ने बुझ्न थालियो । “न्हुछें लेखिनुको रहस्य कमैलाई थाहा छ” २००१ सालमा प्रवेशिका (एसएलसी) परीक्षा उत्तीर्ण गरेका गोरक्षबहादुर न्हुछें प्रधानले भने, “नयाँ घर हामीहरुको थर जस्तै बन्न गयो ।”
निजामति कर्मचारीहरुका लागि तालिम प्रदान गर्न स्थापित स्टाफ कलेजका पहिलो कार्यकारी निर्देशक गोरक्षबहादुर न्हुछें प्रधान खलकमा एसएलसी परीक्षा उत्तीर्ण हुने पहिलो व्यक्ति हुन् । बीए र एमए पूरा गर्ने पनि पहिलो नै भए ।
बाबु माल अड्डाका मुखिया । बाबु (सुब्बा) जीतबहादुर गोर्खामा हुँदा गोरक्षबहादुर जन्मिएका थिए । बाबुको सरुवा प्युठान भएपछि उनी पनि त्यही पुगे र भाषा पाठशालामा भर्ना भए । काठमाडौँ आएपछि नजिकैको जुद्ध हाइस्कुलमा भर्ना भए । नौ वर्षको उमेरमा बल्ल अङ्ग्रेजी शिक्षा पाए । प्युठानमा हिसाब गोलमाल थियो रे । तत्कालीन जङ्गी अड्डाका कमान्डर इन चिफ भीमशमशेरले गोर्खा मालका मुखियालाई प्युठानमा पठाएपछि ठिक हुन्छ भनेर त्यता पठाइदिए । उनलाई बढुवा गरी प्युठान पठाइएको थियो र उनको वार्षिक तलब छ सय रुपियाँ थियो । अर्थात् मासिक ५० रुपियाँ । नभन्दै हिसाब दुरुस्त राखिदिए । प्रधानमन्त्री चन्द्रशमशेरले खुशी भएर पाँच सय रुपियाँ बक्सिस थिए । त्यसपछि उनी वीरगन्ज माल अड्डाका हाकिम भए । यतिन्जेल उनी नासु भइसकेका थिए र त्यो बखत नासुको वार्षिक तलब डेढ हजार कम्पनी रुपियाँ हुन्थ्यो । जीतबहादुरले एक हजार छ सय रुपियाँ पाउँथे । “बुबालाई थप एक सय कम्पनी रुपियाँ दिएर चन्द्रशमशेरले वीरगन्ज मालमा पठाएका थिए” गोरक्षबहादुरले भने ।
२००७ सालको क्रान्ति उत्कर्षमा पुग्दै थियो । मुक्ति सेनाको प्रभाव बढ्दै गएको थियो । सुब्बा जीतबहादुरको सरुवा विराटनगरमा भएको थियो । राणाका मानिस भनेर सुब्बा जीतबहादुरलाई पनि थुनिदिए मुक्ति सेनाले । वीरगन्ज मालमा हुँदा केशवप्रसाद कोइराला (वीपी कोइरालाका भाइ)सँग परिचित थिए जीतबहादुर । केशवप्रसाद वनका हाकिम थिए । पनि वीरगन्जमा थिए । मेरो बुबा सुब्बा र केशवप्रसाद नायब सुब्बा । उनी वन चार्जको हाकिम । विराटनगर क्षेत्रको मुक्ति सेनाको कमाण्डर रहेछन् केशवप्रसाद बन्दीगृहमा ‘राउण्ड’ लिन गएका बखत जीतबहादुरलाई देखे छन् । टुक्रुक्क बसेका थिए । केशवप्रसादले परिचित लागेर घोरिएर हेरे । चिने । भने, “सुब्बा साब, कहाँबाट यता ?” जीतबहादुरले उत्तर दिए, “सुब्बा बाजे, खै किन ल्यायो थाहा नै छैन । चार, पाँच हजार रुपियाँ घरमा थियो त्यो पनि लुटेर लगे ।” केशवप्रसादको आदेशमा तत्काल छाडिदिए । कहाँ जाने हो भनी सोध्दा जीतबहादुरले ‘काठमाडौँ जान्छु’ भनेपछि केशवप्रसादले ‘हुन्न हुन्न, काठमाडौँमा त लडाइ भइरहेको छ तराईतिर कोही छ कि छैन ?’ भनी सोधे । छोरी सिरहामा दिएका थिए । त्यसैले छोरीको घर जान्छु भने । गार्डलाई दुई सय रुपियाँ दिएर ‘सुब्बा साहेबलाई साथमा लिएर जोगबनी स्टेसनमा गएर जयनगरसम्मको टिकट काटिदिनू, रेल चढाउनू, रेल चलेपछि आउनू’ भनेछन् केशवप्रसादले । “बुबालाई पनि दुई सय रुपियाँ दिए । ठूलो गुन गरेका थिए” गोरक्षबहादुरले स्मरण गरे, “त्यो बेला केशवप्रसाद नभेटिएको भए बुबाको हालत खराब हुनेथियो । त्यसैले बुबाले सधैँ केशवप्रसादको गुन गाइरहनुहुन्थ्यो ।”
उता बाबु राणाका जागिरे, यता छोरा राणाका सत्रु । राणा विरोधी आन्दोलनमा छोरा गोरक्षबहादुरको प्रत्यक्ष संलग्नता । कहिले कसको घरमा बैठक, कहिले कहाँ पुग्नुपर्ने । २००८ सालमा स्थापना भएको नेपाल छात्र सङ्घको प्रचार प्रमुखको जिम्मेवारी पाएका थिए उनले । राणा विरोधी आन्दोलनका बखत कागजमा कार्बन राखेर लेख्थे र थुप्रै पर्चा तयार गर्थे । पर्चामा लामो कुरा लेखिएकै हुँदैन थियो । मात्र राणा मूर्दाबाद, अत्याचार भयो, राणाको नास होस् आदि लेखिन्थे । घरको कौसीमा कसैले नदेख्ने गरी रातो माटोको गुच्चा बनाउँथे उनी । त्यसलाई सुकाउँथे । सुकेको गुच्चामा त्यही पर्चालाई बेर्थे र सडकमा फ्याल्थे । कहिले चोकचोकमा लगेर फ्याल्थे । कहिले वसन्तपुरमा पनि लगेर फाले । द्वारिका रेग्मी लगायतका साथीहरु यस कार्यमा संलग्न थिए । बेलुका दोलै ओढेर गद्दी बैठकको वरपर पनि पर्चा छरे ।
“निकै कठिन कार्य थियो । समातियो भने ज्यान जान्थ्यो । अक्षर भिडायो भने ज्यान जाने पक्का थियो । फरक फरक ठाँउमा बैठक बसिरहन्थ्यो । हाम्रा केही साथीहरु पक्राउ पनि परे” उनले भने ।तिनताक जुद्ध हाइस्कुल मखनटोलमा थियो । दमनराज तुलाधर, तीर्थराज सिंह सुवाल आदि शिक्षक पक्राउ परे । जुद्ध हाइस्कुलका प्रधानाध्यापक तीर्थराजलाई बम बनाउने कारखाना घरमा राखेको आरोप पनि लगाइएको थियो । गङ्गालाललाई झुण्ड्याइएको समयमा आठ पहरियाले जुद्ध हाइस्कुललाई पनि घेरे । आठपहरिया भएका सबै विद्यालयमा पुगेका थिए । गङ्गालाल विद्यार्थी भएकाले राणा विरोधी कार्य विद्यालयभित्र रहे नरहेको उनीहरुको चासोको विषय रहन्थ्यो । गोरक्षबहादुर कक्षा ७ का विद्यार्थी थिए । आठपहरियाले सबै किताब टकटक्याए, पोशाकका खल्ती छामे । एक एक गर्दै विद्यार्थीका बारेमा जाँच गर्दै कक्षाबाट बाहिर निकाल्दै गए । “ती आठ पहरियाले ठूलामात्र होइन, साना विद्यार्थीलाई पनि छाडेनन्” उनले स्मरण गरे ।
एसएलसी परीक्षामा २००१ मा उत्तीर्ण भए । तेस्रो दर्जामा उत्तीर्ण भए । प्रधानमन्त्री जुद्धशमशेर कहाँ दाम राख्न शिक्षकहरुले लिएर गए । दरबार, जुद्ध र पाटन हाइस्कुलका मात्र विद्यार्थी थिए । सिंहदरबारको प्रवेश द्वारको भित्र विद्यार्थीहरुलाई लाइन लगाएर राखियो । प्रधानमन्त्री जुद्ध हात्तीमा चढेर आए । हेडमास्टरहरुले ‘सरकार यी लड्काहरुले एसएलसी परीक्षा पास गरेकाले दाम राख्न ल्याएका हौँ’ भनेपछि विद्यार्थीले पालैपालो आफ्नो खल्तीबाट सिक्का निकालेर भूँइमा खसाल्दै दर्शन गरे, सिक्का पुनः खल्तीमा राखे । जुद्ध केही नबोली सिंहदरबारतर्फ लागे । उनले खासै वास्ता नगरेको विद्यार्थीहरुलाई लाग्यो । पद्मशमशेरको दरबारमा पनि लगिएको थियो । उनले बरन्डामा बसेर ‘रोम वाज नट बिल्ट इन वान डे’ भनेका थिए । “रोम एक दिनमा बनेको होइन, त्यस्तै तिमीहरुले पनि मिहिनेत गर्नू भन्न खोजेका थिए” गोरक्षबहादुरले भने । एसएलसी परीक्षाका तेस्रा श्रेणीका विद्यार्थी भए पनि त्रिचन्द्र कलेजमा आईएस्सी भर्ना भए । उनलाई आईएस्सी भर्ना भएको बडो गल्ती मशसुस हुँदै गयो । ४८ जनामा १२ जना आईएस्सीमा उत्तीर्ण पनि भए । सबैले बीएस्सी भर्ना हुन भने । कलेजका प्राध्यापकहरुले आफूहरुले सहयोग गर्ने भनेर दवाव पनि दिएका थिए । किनकी बीएस्सी पढ्ने विद्यार्थी नै फेला पर्ने अवस्था थिएन तिनताक । अन्ततः उनले स्वीकार गरेनन् र बीएमा भर्ना भए । बीएमा अध्ययन निकै सजिलो बन्यो । बीएमा सबैलाई उछिन्न उनी सफल बने ।
२००८ सालमा नेपाली छात्रा सङ्घको सम्मेलन हुने भयो । लैनचौरमा हाल सहिद स्मारक भएको ठाँउमा स्टेज तयार गरिएको थियो । तत्कालीन राजा त्रिभुवनले उद्घाटन गरेका थिए । वीपी कोइरालाले त्यसको सभापतित्व गरेका थिए । सुरेन्द्रराज शर्मा अध्यक्ष थिए । सम्मेलनमा अङ्ग्रेजीमा विधान पढ्नुपर्ने भयो । त्यसमा जिम्मेवारी गोरक्षबहादुरलाई दिइयो । भारतीय राजदूत सीपीएन सिन्हा पनि सहभागी बनेका थिए । सम्मेलनले गर्दा राजासँग विद्यार्थीको राम्रै निकटता भयो । राजाले ‘तपाईँहरुले गर्दा प्रजात्रन्त आयो, विद्यार्थीको योगदान छ, केही सहयोग चाहिए भन्नू’ भने । राजा त्रिभुवनले जनतालाई तपाईँ नै सम्बोधन गर्ने गरेका थिए । विद्यार्थीहरुले आफूहरुसँग कार्यालय नभएको र एउटा पत्रिका निकाल्ने विचार गरेको भनेपछि जर्नेल योगविक्रमलाई सम्पर्क गर्न भने ।
२००९ सालमा विदेशमा रहेका नेपाली विद्यार्थीसहितको सम्मेलन आयोजना गर्ने तय भयो । रकम कसरी जुटाउने समस्या प¥यो । चन्दा माग्नु बाहेक उपाय रहेन । पहिले पूर्व प्रधानमन्त्री मोहनशमशेर कहाँ जाने निर्णय भयो । महाराजगन्जस्थित दरबारमा विद्यार्थीहरु पुगे । गाइ पूजा गरिरहेकाले मोहनशमशेरले सेतो धोती लगाएर आएका थिए । प्रजातन्त्रअघिसम्म राणा भारदारलाई ‘सरकार हजुर’ भन्ने चलन । त्यसपछि तपाईँ भन्न थालिसकेका थिए जनता । ‘तपाईँ पहिलो प्रधानमन्त्री हुनुभयो, त्यसैले तपाईँबाट चन्दा लिन सुरु गरौँ भनेर आएका हौँ’ भनेर विद्यार्थीहरुले भन्दा उनले ‘हरिहरलाई भनिदिन्छु उसँग लिनू’ भने । त्यसपछि मोहनशमशेरले सबै विद्यार्थीलाई एक एक गरी ‘तिम्रा बाको नाम के रे’ भनेर सोध्न थाले । बाबुको नाम भन्न थाले । गोरक्षबहादुरले आफ्ना बाबुको नाम भनेपछि ‘ए जितबहादुरको छोरा ?’ भने । मोहनशमशेरले आफ्ना नोकरका छोराहरु जस्तो व्यवहार गर्न खोजेको विद्यार्थीलाई लाग्यो । विद्यार्थीहरु बाहिरिए । उनले फलानोलाई भनिदिउँदा लिन जानू भनेका थिए । विक्रम र शमशेर सबैले सक्दो आर्थिक सहयोग गरे । चन्दा नदिनेमा बबरशमशेर थिए । हेरौँ, विचार गरौँला भने तर दिँदै दिएनन् । विद्यार्थीहरुले ४० हजार रुपियाँ उठाए । त्यो बखत त्यतिका रकम निकै ठूलो हुन्थ्यो । “त्यो ४० हजार रुपियाँ स्वाहा ग¥यौँ” उनले भने, “जीप भाडामा लिएका थियौँ । त्यसलाई निकै कुदायौँ ।”
कलकत्ता, बनारस, पञ्जाब आदि ठाँउबाट विद्यार्थीलाई ल्याउनुपर्ने थियो । राजा त्रिभुवनसँग आग्रह गर्दा उनले हवाइजहाजको व्यवस्था गरिदिने बताए । ती विद्यार्थीलाई ल्याउन र लैजान राजाले निःशुल्कमा हवाइजहाजको व्यवस्था गरिदिए । रिजर्भ गरियो हवाइजहाज । सबै विद्यार्थी पटनामा जम्मा हुन्थे । ३५ जना अट्ने विमान थियो । दिनमा दुई, तीन पटकसम्म ओसारिन्थ्यो । खर्च सबै राजाले व्यहोरिदिए । गोरक्षबहादुर पनि हवाइ जहाजमा बसेर धेरैपटक विद्यार्थी लिन पटना गए ।