Thuprai - Books and E-books
Scholarship edusanjal

विपत्तिको बेला देशका दक्ष जनशक्तिलाई राज्यले प्रयोग गर्नुपर्छ

Admission edusanjal
Schools edusanjal

कुनै पनि प्रयोगशालामा नमूना परीक्षणदेखि रोगको निदान, इपिडिमियोलोजी अध्ययन, अनुसन्धान गर्न माइक्रोबायोलोजिस्टको भूमिका अग्रणी मानिन्छ । तर तिनै जनशक्तिलाई सरकारले बेवास्ता गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को जोखिम फैलिदैछ । महामारीको रुप लिएको छ । यो बेलामा माइक्रोबायोलोजिस्टको भूमिका नेतृत्वदायी हुनुपर्ने हो । यसै सन्दर्भमा नेपलिज सोसाइटी फर माइक्रोबायोलोजीका अध्यक्ष प्रा.डा. प्रकाश घिमिरेसँग इडियुपत्रले गरेको कुराकानीको सारसंक्षेपः

कोरोना भाईरस (कोभिड–१९)के हो ?

विश्वव्यापीरुपमा हरेक १०—२० वर्षको अन्तरालमा एउटा नयाँ जीवाणु (माइक्रोअग्र्यानिजम्) जनावरबाट मानिसमा आएर महामारी गराएको इतिहास छ ।

हामीले जानेको पहिलो महामारी सन् १९१८ मा इन्फ्लुन्जा ए.एच.वान.एन.वान.बाट सुरु भयो, जसले विश्वको एक तिहाइ मानिसमा सङ्क्रमण गरी करिव सात करोडको मृत्यु भयो, त्यसपछि सन् १९५४ मा पनि इन्फ्लुन्जा महामारी भयो । त्यसपछि सन् २००९ मा महामारी इन्फ्लून्जा ए.एच.वान.एन.वान. महामारी मेक्सिकोमा बंगुरबाट-कुखुराबाट मानिसमा सरेको देखा पर्यो । सन् २००३ मा सार्स कोरोनाभाइरसकै ‘आउट ब्रेक’ चीनबाट सुरु भई विश्वभरी भयो ।

सन् २०१२ मा कोरोना भाइरसको अर्को रुप मध्यपूर्वी देशहरूमा ‘मर्स उठ’बाट मानिसमा आयो र करिब दुई हजार पाँच सय मानिसमा रोग लागि ३५ प्रतिशतको मृत्यु भयो । कोरोनाभाइरिडी र अर्थोकोरोना भाइरिडी जसलाई कोरोना भाइरिडी पनि भनिन्छ, यी तीन वटैको साझा नाम कोरोनाभाइरस राखियो । कोरोनाभाइरसका चार प्रकार छन् । अल्फा, बेटा, गामा र डेल्टा कोरोनाभाइरस । कोरोनाभाइरसले स्तनधारी र चराहरुमा रोग उत्पन्न गराउँछ ।

मानिसमा यो भाइरसले श्वासप्रश्वास प्रणालीमा सङ्क्रमण गर्छ । जस्तैः रुघाखोकी सामान्य लक्षण हो । रुघाखोकी हुँदै सार्स, मर्स र कोभिड–१९ जस्ता खतरनाक सङ्क्रमण गराउन सक्छ । चल्लाहरुमा माथिल्लो श्वासप्रश्वास प्रणालीमा असर गर्छ ।

गाई र सँुगुरमा पखाला गराउँछ । फरक फरक प्रकृतिका कोरोना भाइरसमध्ये अहिलेको भाइरस पनि एक हो । यो सन् २००३, २००४ कोभन्दा अलिकति फरक भएको हुनाले सुरुमा यसलाई ‘नोवल कोरोनाभाइरस’ भनिएको हो । 

कसरी मानिसबाट मानिसमा सर्यो ?

अहिले संसार एक स्वास्थ्यको अवधारणामा छ । मान्छेलाई चाहिने पोषणको कमीले गर्दा हामी जनावरको माध्यमबाट पोषण लिन थाल्यौँ । जनावर र मानिसबीचको सम्पर्क बढेपछि मानिस र जनावरको दुरी पार गर्यो । सामान्यतया जनावरमै रहने तथा पूरा हुने जिवाणुहरुको जीवनचक्र पूरा गरी मानवमा पूरा हुनुपर्ने भयो ।

त्यो क्रस कसरी कहिले, कुनबाट कसरी क्रम गर्यो भन्ने चाहिँ अनुसन्धान भइरहेको छ । क्रस गरेर त्यसले मानवमा आफ्नो प्रजनन् स्थापना ग¥यो । त्यो स्थापना गरिसकेको हुनाले मानिसदेखि मानिसमा प्रशारित भएको हो ।

मानिसबाट मानिसमा प्रशारण भनेको चाहिँ मानिसले खोक्दा, हाछ्युँ गर्दा, निश्चित दूरीसम्म ‘ड्रपलेट इन्फेक्सन’मा जानसक्ने भयो । ‘ड्रपलेट’ रहिरहेको टेबुल, कुर्सीमा छोइयो भने अर्को मान्छेमा सर्नसक्ने भयो । त्यो भन्दैमा खुल्ला बाताबरणमै जाने भन्ने होइन । तर, हावामा जाने होइन भन्दैमा ‘ड्रपलेट’ चाहिँ हावामा हुन्छ, टेबुल कुर्सी अरु ठाउँमा बसेको हुन्छ त्यसबाट मानिसले छोएर मानिसमा सार्ने हो ।

त्यही भएर हरेकपटक कुनै वस्तु छोएपछि साबुन पानीले हात धुनुपर्छ अथवा अलकोहलबाट बनेको स्यानिटाइजर प्रयोग गर्नुपर्छ भनिएको हो । 

यस्तो सङ्क्रामक भाइरस चलाउन कोही स्वयंसेवक जान सक्छ ?

यो भाइरसले श्वासप्रश्वास प्रणालीमा सङ्क्रमण गर्छ 

केही व्यक्तिमा २८ दिनसम्म पनि भाइरस भएको तर, लक्षण देखिएको छैन 

भाइरसले जातजाती, वर्ग, लिगं, उमेर हेर्दैन 

लक्षणहरु के के हुन् ?

भाइरसले सङ्क्रमण गर्ना साथै एक घण्टा, दुई घण्टा, एक वा दुई दिनमै लक्षण देखाउँछ भन्ने होइन । अहिलेसम्मको अनुसन्धानले यसको ‘इन्क्युभेसन पिरियड’ सामान्यतया ५ देखि १४ दिन देखिएको छ । तर, केही व्यक्तिमा २८ दिनसम्म पनि भाइरस भएको तर लक्षण नदेखिएको भेटिएको छ । सामान्यतया ५ देखि १२ दिनमा मान्छेमा सङ्क्रमण देखिने होे । त्यसमा करिब ८० देखि ८५ प्रतिशतलाई जसरी साधारण शरीर दुःखेर ज्वरो आई एक दुई दिनमा निको हुन्छ ।

१५ प्रतिशत मान्छेलाई गम्भिर सङ्क्रमण हुनसक्ने भएकाले अस्पतालमा भर्ना गर्नु जरुरी हुन्छ । सुरुमा एक प्रतिशत मृत्युदर थियो, अहिले ५ देखि ८ प्रतिशत देखिएको छ । त्यो चाँहि देश र त्यहाँको स्वास्थ्य प्रणालीमा भर पर्छ । कति चाँडै मान्छेले स्वास्थ्य प्रणालीमा पहुँच पुर्याए , त्यतिनै मृत्युदर कम हुन्छ ।

कोही व्यक्तिलाई ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो भयो भने चाहिँ तुरुन्तै अस्पतालमा लैजानुपर्छ । यी बाहेक इन्फ्लुन्जा भाइरस पनि हामी कहाँ सर्कुलेसनम छ । त्यसैले नाकबाट पानी बग्ने वा रुघा लाग्दैमा आत्तिनु पर्दैन । धेरै मान्छे मेरो त शरीर पनि दुःख्यो, नाकबाट पानी बग्यो भनेर आत्तिएको भेटिएको छ ।

अरु कारणले पनि सास फेर्न गाह्रो भएको हुन सक्छ । त्यसैले सास फेर्न गाह्रो हुने बित्तिकै अस्पताल जानु पर्छ ।

संक्रमण भइहाल्यो भने बृद्धबृद्धा अलि बढी प्रभावित हुन्छन् हो ?

७० वर्षभन्दा बढी उमेर भएकाको मृत्युदर बढी देखिएको छ । त्यो भनेर युवालाई यो सङ्क्रमण हुँदैन भन्न मिल्दैन । यो रोग कुनै पनि उमेर समूह, महिला पुरुष सबैलाई हुन सक्छ । सामान्यतः प्रतिरोधात्मक क्षमता बच्चामा विकसित भइसकेको हुँदैन, बृद्धबृद्धामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ, त्यसैले बालबालिका र बृद्धबृद्धामा छिटो र गम्भीर सङ्क्रमण देखिन्छ ।

गम्भीर अवस्थामा रहेका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस जस्तैः हाइपरटेन्सन, मधुमेह, क्यान्सर भएका मान्छेले कोरोना भाइरससँग लड्ने की आफ्नो रोगसँग लड्न, त्यसकारण उनीहरूलाई अप्ठेरो हुन्छ भनिएको हो ।

भाइरसले जातजाती, वर्ग, लिगं, उमेर हेर्दैन । त्यसैले हामीहरुले आफैले आफ्नो स्वास्थ्य अवस्था हेरी सुरक्षित र सावधानी अपनाउनुपर्छ । 

कसरी सुरक्षित रहने ?

सामाजिक दूरीमा बस्नका लागि लकडाउनले मद्दत गर्छ । भेट नगर्दा रोग सर्ने सम्भावना कम हुन्छ । लकडाउनमा जो मान्छेलाई ज्वरो आउँछ, सास फेर्न गाह्रो हुन्छ, खोकी लाग्छ त्यो मान्छेलाई अस्पताल पुराउनु पर्छ ।

रोगको प्रशारण रोकेपछि व्यक्तिगत समस्यालाई त व्यवस्थापन गर्न सकिन्छ । यात्राबाट आएका तर स्वयं क्वारेन्टाइनमा बसेकाहरूलाई सरकारले निरन्तर प्रत्यक्ष निगरानी गर्नुपर्छ । कुनै लक्षण विकास भयो भने तुरुन्त अस्पतालको सम्पर्कमा आउनुपर्छ । घरमा बस्दा कुनै वस्तुलाई छोएपछि बेला बेलामा हात धुनुपर्छ ।

खोक्दा ख्याल गर्नुपर्छ, खोक्दा रुमाल, टिस्युपेपर अथवा कुहिनाले छोप्नुपर्छ । नत्र एक अर्कालाई सर्न सक्छ । चुरोट सेवन त गर्नै भएन, जसको कारणले फोक्सो कमजोर हुन्छ । घरमा चार, पाँच जना मानिस छन् भने अलग किसिमले आ आफ्नो काम गरेर बस्ने र मुख्यतः व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनपर्छ । यसले गर्दा समाजमा रोग प्रशारण हुँदैन । कुनै व्यक्तिमा सङ्क्रमणको आशङ्का लागेमा नजिकैको अस्पतालमा जानुपर्छ ।

हात सफा गर्दा साबुन पानीनै प्रभावकारी मानिन्छ हो ?

साबुन पानीले मिचिमिची हात धुने । साबुन पानीमा भएको डिटरजेन्टले भाइरस मारिदिन्छ, भाइरस सर्दैन । हात धुने ठाउँ नभएमा हरेक चिज छोएपछि बेलाबेलामा सेनिटाइजर प्रयोग गर्दा यसमा भएको ७० प्रतिशत अल्कोहलले पनि भाइरस मार्छ ।

पैसाबाट पनि सर्छ भनिएको छ नी ?

सङ्क्रमित मानिसले समातेको पैसामा, मान्छे हाछ्युँ गर्दै पैसा गनेको छ भने ड्रपलेटहरू त्यसमा छ भने त्यसबाट पनि भाइरस सर्ने सम्भावना रहन्छ । एउटा बयस्क मान्छेले मोबाइल छुने, गालामा छुने, नाकमा छुने धेरैपटक गर्नसक्छ ।

त्यसकारण नाकमा, मुखमा, गालामा हुन सक्ने जीव सरेजस्तै यो भाइरस पनि सङ्क्रमित मानिसबाट अरुमा  सर्न सक्छ भन्ने अवधारणा हो । यसैबाट अब यति प्रतिशत सर्यो भन्ने प्रमाण भने छ्रैन । यसो गर्दा मानिसको हात रोग सर्ने माध्यम चाँहि हो ।

भाइरसको विकासक्रम सन्दर्भमा वैज्ञानिक कारण केही छ की ?

अहिलेसम्म भएको वैज्ञानिक कारण र भाइरसको विकासक्रमबाट थाहा भएको के हो भने यो कोभिड–१९ भाइरस सन् २००३ मा भेटिएको कोरोना भाइरस र सन् २०१२ देखि २०१४ को मर्स कोरोना भाइरसभन्दा केही फरक छ । अब यो क्रम प्राकृतिक रुपमा उत्परिवर्तन भएर आएको हो अथवा उत्परिवर्तन गराईएको हो भन्ने कुनै जानकारी छैन ।

सन् १९१८ को इन्फ्लुन्जा भाइरसमा दुई वटा ‘एमिनोएसिड’ झिकि उत्परिवर्तन गराईदियो भने सङ्क्रमण हुँदैन । यो भाइरसमा पनि अलिकति फरक चाँहि के देखिएको छ भने यो नियमित विभिन्न वर्षमा भेटिएका देखिएका मानव कोरोना भाइरस भन्दा थोरै फरक छ । अब त्यो देखिनुको कारण कसैले उत्परिवर्तन गरायो अथवा यो प्राकृतिक परिवर्तन भयो भन्ने कुरा चाहिँ कही पनि त्यसको बैज्ञानिक प्रमाण छैन ।

 

यो समयमा माइक्रोबाइलोजिस्टको भूमिका महत्वपूर्ण हुने होइन र ?

माइक्रोबाइलोजी भन्ने विषय नै ब्याक्टेरिया भाइरस, प्यारासाइट, फन्जाइहरूको अध्ययन, अध्यापन र अनुसन्धान गर्ने हो । त्यसमा नम्बर एक पहिचान, नम्वर दुई उपचार, नम्बर ३ रोकथाम र नम्बर ४ भ्याक्सिन उत्पादन र गुणस्तरीयताको सुनिश्चितता हो । यी ४ वटै ज्ञान भएको मान्छे चाँहि माइक्रोबाइलोजी पढेको मान्छे हो । नेपालमा अझै पुरानै स्वास्थ्य प्रणाली छ, त्यसमा माइक्रोबाइलोजीष्टको पद, दुई तीन वटा छ, तर हालसम्म पूर्ति भएको छैन । नेपाल सरकारले यो अवस्थामा माइक्रोबाइलोजीष्टको आवश्यकता महसुस गरेको हुनुपर्छ । देशमा उत्पादन हुने, संसारका विश्वविद्यालयहरूमा, डायग्नोस्टिक सेन्टर, रिसर्च सेन्टरमा काम लाग्ने तर आफ्नै देशले आफ्नो देशको जनशक्ति उपयोग गर्न नसक्नु भनेको दुःखद् कुरा हो ।

नेप्लिज सोसाइटी फर माइक्रोवायोलोजीले केही दिनअघि प्राविधिक तवरले प्रशिक्षित मानव संशाधनको उपलब्धता र यसको उपयोगको लागि देशको आवश्यकता सन्दर्भमा विज्ञप्ति पनि निकालेका थियौं ।

हामीसँग क्षमता पनि छ, उपकरण पनि छ, दक्ष जनशक्ति पनि छन्, हामीसँग ‘वायोसेफ्टी क्याविनेट’ पनि छ । तर, यो अधिक सङ्क्रमित भाइरस हो । यसलाई BSL-II Plus to BSL-III प्रयोशालामा मात्र नियन्त्रण गर्नुपर्छ । त्यो किसिमको सहयोग गर्न हाम्रोे नेसम, विभाग, फ्याक्युलिटिज, रिसर्चरहरु तयार छन् । तर दुःखको कुरा के छ भने सरकारको एक निकायले सूचनामा स्वयंसेवकको माग गर्छ । यस्तो सङ्क्रामक भाइरस चलाउन कोही स्वयंसेवक जान सक्छ ?

सरकारले त स्वास्थ्य प्रणालीका मान्छेलाई चाँहि काम गर, १० लाख रुपियाँसम्म स्वास्थ्य विमा, सय प्रतिशत भत्ता दिन्छु भनेर आफ्ना जनशक्तिलाई काम लगाएको बेलामा स्वयंसेवाका लागि आह्वान गरिनु हाँस्यास्पद छ ।

सरकारलाई केही भन्नु छ ?

यसमा तीनवटा कुरा हुनसक्छ । पहिचानमा सरकारले उपयुक्त व्यवस्था गरेको खण्डमा नेसमका विज्ञ सदस्यहरु, दक्ष जनशक्तिहरू उपयोग गर्न , देशमा भएको रियल टाइम पीसीआर, कन्भेन्सनल पीसीआर र वायो सेफ्टी क्याविनेट र प्रयोगशालाको उपयोग गर्न सक्छौँ । तत्काल आवश्यक भएमा विश्वविद्यालयको सेवासुविधाहरु प्रयोग गर्न सकिन्छ ।

सरकारले उपयुक्त व्यवस्था अथवा अनुरोध गरेको खण्डमा सन् २००९ को इन्फ्लुन्जा महामारी भएको बेला विश्व स्वास्थ्य सङ्गठनको केन्द्रमा जिम्मेवार पदमा बसी महामारीलाई निर्मूल पार्न खेलेको भूमिका, अनुभव पनि प्रयोग गर्न तयार छौँ । बैठक मात्र होइन वैज्ञानिक प्रमाणमा आधारित निर्णय गर्नुपर्यो, र प्रभाबकारी निगरानी हुनुप¥यो ।

र, स्वास्थ्य जाँचका त्रममा व्यक्तिगत सुरक्षा उपकरणको प्रभावकारी व्यवस्थापन हुनुपर्ने देखिन्छ, यसतर्फ सरकार गम्भीर हुनेछ भन्ने आशा लिएको छु । देशमा उत्पादित दक्ष जनशक्तिको उपयुक्त र छिट्टै प्रयोग हुनुपर्छ । महामारीलाई चाँडै अन्त्य गर्न दक्ष जनशक्तिको उपयोग गर्न सरकारलाई आग्रह गर्छु ।