After SEE Portal

व्यवस्थापन संकायका लागि छात्रवृत्ति कार्यविधि यस्तो छ

Bridge Course

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय विशेष कार्यक्रम छात्रवृत्तिसम्बन्धी कार्यविधि लागू गरिएको छ । यो कार्यविधि यसै शैक्षिक सत्र (२०७९÷८०)बाट कार्यान्वयनमा ल्याइएको छ ।

त्रिवि व्यवस्थापन संकाय डिन कार्यालयले आज जारी गरेको सूचनाअनुसार छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले आवेदन दिनुपर्ने छ । छात्रवृत्ति छनोट समितिले अन्तर्वार्ता, समूह छलफल, प्रस्तुतीकरण लगायतका परीक्षा लिन सक्नेछ । त्यस्तो परीक्षामा कम्तीमा ४० प्रतिशत अङ्क प्राप्त गरेकाले मात्र छात्रवृत्तिका लागि छनोट हुनसक्ने छन् ।

कार्यविधिमा जेहेन्दार र आरक्षित छात्रवृत्तिको व्यवस्था स्पष्ट गरिएको छ । कुल छात्रवृत्ति कोटाको ३० प्रतिशत जेहेन्दार र बाँकी ७० प्रतिशत आरक्षित छात्रवृत्ति उपलब्ध गराइने भएको छ ।

सो कार्यविधिमा आरक्षित छात्रवृत्तिअन्तर्गत स्नातक तहका लागि कक्षा १० देखि १२ सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेको हुनपर्ने र स्नातकोत्तर तहका लागि स्नातक तह आङ्गीक कलेजबाट उत्तीर्ण गरेकोलाई प्राथमिकता दिइने स्पष्ट उल्लेख छ । दुवै खाले छात्रवृत्तिका लागि छुट्टाछुट्टै योग्यता क्रम (मेरिट लिस्ट) सूची प्रकाशित गरिने छ ।

कार्यविधिमा छात्रवृत्तिका लागि छनोट भएकाहरुले कबुलियत गर्नुपर्ने सर्त अगाडि सारिएको छ । त्यस्ता विद्यार्थीले सम्बन्धित कार्यक्रम र क्याम्पस परिवर्तन गर्न नपाउने, विश्वविद्यालय वा क्याम्पसको प्रतिष्ठामा आँच आउने काम गर्न नपाउने, प्रत्येक सेमेस्टरको अन्तिम परीक्षामा उत्तीर्ण भई कम्तीमा एसजीपीए २.० कायम गर्नुपर्ने छ । सो एसजीपीएभन्दा कम ल्याउनेको छात्रवृत्ति स्वतः रद्द हुने प्रावधान कार्यविधिमा छ ।

छात्रवृत्तिका लािग लिखित परीक्षाका लागि आरक्षिततर्फ २० प्रतिशत र जेहेन्दारतर्फ ४० प्रतिशत अङ्कभार कायम गरिएको छ । त्यस्तै आरक्षिततर्फको छात्रवृत्तिका लागि सामुदायिक विद्यालयबाट कक्षा १० र १२ उत्तीर्ण गरेवापत ३० अङ्क उपलब्ध गराइनेछ । एसईई र कक्षा १२ को जीपीएका लागि ३० अङ्क निर्धारण गरिएको छ । जेहेन्दारका लागि एसईईको जीपीएका लागि २० र कक्षा १२ को जीपीएका लागि ४० अङ्क छुट्टयाइएको छ । आरक्षितका लागि विपन्न, महिला, दुर्गम, दलित, जनजाति लगायतका लागि फरक फरक अङ्क उपलब्ध गराइने छ ।

कार्यविधिमा प्रतिसेक्सन ३३ विद्यार्थी भए आरक्षित छात्रवृत्ति दुई जनाले र जेहेन्दार छात्रवृत्ति एक जनाले तथा ४४ विद्यार्थी भए आरक्षित छात्रवृत्ति तीन जनाले र जेहेन्दार छात्रवृत्ति एक जनाले पाउने व्यवस्था गरिएको छ ।कार्यविधिमा छात्रवृत्तिका लागि दिनुपर्ने आवेदनको ढाँचा पनि दिइएको छ ।

त्रिवि व्यवस्थापन संकाय विशेष कार्यक्रम छात्रवृत्तिसम्बन्धी कार्यविधि, २०७९

A Levels MA
Thuprai - Books and E-books