
विद्यालय शिक्षाको आधारशिला र शिक्षा प्रणालीको जग मानिने शिक्षकहरूको भूमिका विद्यार्थीको भविष्य निर्माणमा अतुलनीय तथा निर्णायक हुन्छ । तर, कहिलेकाहीँ शिक्षक समुदायभित्रै देखिने केही व्यवहार र प्रवृत्तिले उनीहरूको जिम्मेवारी र विद्यार्थीको शैक्षिक प्रगतिको बीचमा स्पष्ट विरोधाभास सिर्जना गरेको महसुस हुन्छ । विशेषगरी परीक्षाको नतिजासँग जोडिएका संवेदनशीलताहरूमा शिक्षकहरूको प्रतिक्रिया र यसप्रतिको शिक्षकहरूको मानसिकतालाई लिएर गम्भीर विमर्शको आवश्यकता देखिन्छ ।
तथ्यात्मक अवलोकन र चिन्ताका विषयहरू
यहाँ औँल्याइएका केही बुँदाहरूले हाम्रो शैक्षिक यथार्थलाई छर्लङ्ग पार्दछ:
विद्यार्थीको भिन्नतामा गर्व: धेरै शिक्षकहरू विद्यार्थीहरूमा देखिने फरक क्षमता र विविधतामा रमाउने तथा त्यसलाई लिएर गर्व गर्ने गरेको पाइन्छ । यो विविधता आफैँमा सकारात्मक पक्ष हो । तर, यसैलाई आधार बनाएर विद्यालयले शतप्रतिशत नतिजा दिनुहुँदैन भन्ने तर्क गर्नु वा न्यून सिकाइ भएका विद्यार्थीलाई रोक्नै पर्छ भनी अडान राख्नुले उनीहरूको प्राथमिक जिम्मेवारीमाथि प्रश्न उठाउँछ ।
अनुत्तीर्ण अर्थात् कक्षा दोहोर्याएर जिम्मेवारीबाट पन्छिने प्रवृत्ति: यदि केही विद्यार्थी न्यून सिकाइका छन् भन्ने पहिचान भएको छ भने, उनीहरूलाई अनुत्तीर्ण अर्थात् कक्षा दोहोर्याउनुको सट्टा कसरी सिकाइ बद्धि गराउने योजना बनाउने, आवश्यक सहयोग पुर्याउने र त्यसको पूर्ण जिम्मा लिने दायित्व शिक्षकहरूकै हो । तर, व्यवहारमा विद्यार्थीलाई रोकेपछि उनीहरूको प्रगतिका लागि कुनै ठोस योजना वा सहयोग गरेको पाइँदैन ।
नतिजाप्रतिको विरोधाभासी धारणा: राष्ट्रिय स्तरका परीक्षा (जस्तै: SEE र SLC) को नतिजा सार्वजनिक हुँदा कम विद्यार्थी उत्तीर्ण भएकोमा खुसी व्यक्त गर्नु वा धेरै उत्तीर्ण भएकोमा 'कसरी यति धेरै उत्तीर्ण भए?' भनी आश्चर्य प्रकट गर्नु शिक्षकको व्यावसायिक धर्म र नैतिकतासँग मेल खाँदैन ।
जिम्मेवारी र तलबभत्ताको सान्दर्भिकता: शिक्षकहरूको मुख्य जिम्मेवारी आफूले अध्यापन गरेका सबै विद्यार्थीलाई उत्तीर्ण अर्थात् कक्षोन्नति हुन सक्ने गरी तयार पार्नु हो । यही जिम्मेवारी पूरा गर्नका लागि नै उनीहरू शिक्षक पदमा नियुक्त भएका हुन्छन् र हरेक महिना तलबभत्ता बुझ्ने गर्दछन् । यस्तो अवस्थामा विद्यार्थीको नतिजाप्रति उदासिन रहनु उचित मानिँदैन ।
सामाजिक सञ्जालमा देखिने प्रवृत्ति: अबको केही समयमा SEE र SLC लगायतका परीक्षाहरूको नतिजा प्रकाशित हुँदैछ । बढी नतिजा आएमा आश्चर्ययुक्त टिप्पणी सामाजिक सञ्जालमा पोस्ट गर्ने, तर कम उत्तीर्ण भएमा चिन्ता व्यक्त नगर्ने वा जिम्मेवारी नलिने प्रवृत्तिले शिक्षकको भूमिका र संवेदनशीलतामाथि प्रश्न उठ्छ ।
यथार्थको स्वीकारोक्ति र साझा जिम्मेवारी
यो लेख धेरै शिक्षक साथीहरूलाई मन नपर्न सक्छ, र शिक्षकको आलोचना गर्नेहरू खुसी हुन सक्छन् । तर, यो लेखको सरोकार यी दुवै पक्षसँग छैन । कसैलाई खुशी पार्ने वा दुखी बनाउने उद्देश्य राख्दैन । कसैको व्यक्तिगत भावना वा पक्ष-विपक्षसँग यसको सरोकार छैन, बरु यो एउटा यथार्थको उजागर हो । यहाँ उल्लेख गरिएका बुँदाहरू घामजस्तै छर्लङ्ग यथार्थ हुन् । यो लेखले उजागर गर्न खोजेको कुरामा पूर्ण सत्यता छ । घामलाई हत्केलाले छोप्न नसकिने सत्यता जस्तै, शैक्षिक नतिजामा देखिने यी प्रवृत्तिहरूलाई स्वीकार गर्नु र त्यसको समाधान खोज्नु अपरिहार्य छ । शिक्षकहरूले आफूलाई केवल पाठ्यक्रम पूरा गर्ने, परीक्षा लिने र नतिजा दिनेको रूपमा नभई, हरेक विद्यार्थीको सिकाइ सुनिश्चित गर्ने दायित्वका रुपमा स्वीकार गर्नुपर्छ र उनीहरूलाई सफल बनाउने मार्गदर्शकका रूपमा लिनुपर्छ । शिक्षाको गुणस्तर सुधार र विद्यार्थीको उज्ज्वल भविष्यका लागि शिक्षक, विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षा समितिहरु, अभिभावक र सरोकारवाला निकायहरु सबै जिम्मेवार हुनु जरुरी छ ।
अन्त्यमा, आगामी केही दिनमा SEE लगायतका परीक्षाहरूको नतिजा प्रकाशित हुँदैछ । यो समय आत्मसमीक्षा गर्ने र आफूलाई थप जिम्मेवार बनाउने अवसर हो । शिक्षकहरूले आफूलाई केवल परीक्षार्थीलाई उत्तीर्ण वा अनुत्तीर्ण गराउने निर्णायकको रूपमा नभई, हरेक विद्यार्थीलाई सफल बनाउने मार्गदर्शकको रूपमा स्वीकार्नुपर्ने बेला आएको छ ।
यो आत्मनिरीक्षणले हाम्रा विद्यालय र विद्यार्थीका लागि सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्नेछ भन्ने विश्वास लिइएकोछ ।
अस्तु !