After SEE Portal

गुणस्तरीय शिक्षा प्रवर्धनमा शिक्षकका पेसागत संस्थाको भूमिका

Bridge Course

विषय प्रवेश

नेपालमा गुणस्तरीय शिक्षाका बारेमा बेलाबेलामा चर्चा हुने गरेको पाइन्छ । आममानिसको धारणाअनुसार फररर अङ्ग्रेजी बोल्नसक्ने, राम्रो प्राप्ताङ्क वा ग्रेड ल्याउनसक्ने, विदेशी कलेज वा विश्वविद्यालयमा भर्ना हुनसक्ने शिक्षा नै गुणस्तरीय शिक्षा अनि महङ्गो शुल्क,अङ्ग्रेजी माध्यमको पढाइ, आकर्षक तथा सुविधा सम्पन्न भौतिक संरचना, राष्ट्रिय परीक्षा बोर्डबाट लिइने विभिन्न परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्नसक्ने विद्यालयलाई मात्र सफल र गुणस्तरयुक्त विद्यालय भन्ने चलन रहेको देखिन्छ । त्यतिमात्र नभई विद्यार्थीलाई डर, त्रास, दण्ड, सजायमार्फत अनुशासन कायम गर्नसक्नु नै शैक्षिक गुणस्तर सुधार हो भन्ने गलत बुझाइसमेत रहेको पाइन्छ ।

वास्तवमा गुणस्तरीय शिक्षालाई मापन गर्न सकिँदैन । गुणस्तरलाई निरपेक्ष रूपमा परिभाषित गर्न पनि सकिँदैन । गुणस्तरीय शिक्षाको परिभाषा समय सापेक्ष हुन्छ । गुणस्तरीय शिक्षा समय, परिवेश, स्थान, सन्दर्भ, रहनसहन र आवश्यकताअनुसार फरक फरक हुन सक्दछ । गुणस्तरीय शिक्षाअन्तर्गत गुणस्तरीय शिक्षक (गुरुस्तर), गुणस्तरीय शिक्षण सामग्री र गुणस्तरीय शैक्षिक वातावरण समेटिनु पर्छ । त्यस्तै गुणस्तरीय शिक्षामा लगानी र प्रक्रियाको पक्ष पनि उत्तिकै जिम्मेवार रहन्छन् ।

डा. हरिप्रसाद पोखरेलको विचारमा “गुणस्तरीय शिक्षा भनेको कुनै विषयवस्तु, घटना, परिवेशप्रतिको समर्थन र विरोधभन्दा पनि आलोचनात्मक चेत विकास गराउन सघाउने शिक्षा हो । सिकेका कुरालाई गुण र दोषको आधारमा विश्लेषण गर्ने क्षमता अभिवृद्धि गर्ने माध्यम पनि हो । प्राप्त ज्ञानलाई दैनिक व्यवहारमा प्रकट गर्न सक्ने क्षमता हो । गुणस्तरीय शिक्षा ज्ञान, सीपले सुसज्जित, परिवर्तित मनोवृत्ति भएको, परम्परागत मूल्य र मान्यताप्रति सचेत नागरिक उत्पादन गर्ने आधार हो ।” अझ अमेरिकी शिक्षाविद्, दार्शनिक, मनोविज्ञ जोन डिबीको विचारमा त “शिक्षा जीवनको तयारीका लागि होइन शिक्षा स्वयं नै जीवन हो ।”

यसरी हेर्दा राम्रो शिक्षा वा गुणस्तरीय शिक्षा मानवीय जीवन र जगतसँग गाँसिएको हुन्छ न की विद्यार्थीले प्राप्त गर्ने प्राप्ताङ्क, प्रमाणपत्र, लब्धाङ्कपत्र, विद्यालयको भौतिक संरचना, परीक्षा बोर्ड तथा अन्य निकायले लिने परीक्षाको नतिजा अनि विभिन्न अनुसन्धानात्मक प्रतिवेदनका तथ्याङ्कसँग मात्र सरोकार राख्दछ । प्रत्येक मानिसको उद्देश्य जीवन सरल, सफल, सहज र असल बनाउने हुनाले गुणस्तरीय शिक्षाले मानवीय उद्देश्य पूर्ति गर्नसक्नु पर्दछ, मानवलाई जीविकोपार्जन गर्नसक्ने खुबी प्रदान गर्नसक्नु पर्दछ । वर्तमान समयमा नेपालको शिक्षाले यस्तो मार्ग निर्देश गर्न नसकेको आमबुझाइ रहेको छ । त्यस्तै शैक्षिक गुणस्तर परिक्षण केन्द्रका प्रतिवेदन र विभिन्न शैक्षिक तथ्याङ्कले पनि गुणस्तरीय शिक्षामा हामी चुकेकै देखाउँछन् ।

विद्यमान अवस्था 

जीवनमा भोगेका अनुभव र अनुभूतिलाई ज्ञान भनिन्छ । यस्तो ज्ञान आर्जन गर्ने कार्यलाई सिकाइ र ज्ञानको हस्तान्तरण वा उत्पादन गर्ने प्रक्रियालाई शिक्षा मानिन्छ । मानव जातिको उत्पत्ति तथा विकासको क्रम सँगसँगै शिक्षाको सुरुवात भएको हो । शिक्षाको आधुनिकीकरण सँगसँगै आज विश्व सानो गाउँमा रुपान्तरण भएको मात्र छैन भौतिक विकासमा त चमत्कार नै गरेको छभन्दा फरक पर्दैन । ऐतिहासिक सभ्यताको नजरबाट हेर्दा नेपाल ज्ञान निर्माण, दार्शनिक चिन्तन, सिकाइ र संस्कृतिको क्षेत्रमा समुन्नत रहँदै आएको पाइन्छ । गुरुकुल शिक्षा पद्धतिबाट आजको प्रविधियुक्त शिक्षा पद्धतिसम्म आइपुग्दा नेपालले धेरै उतारचढावको अनुभव बटुलेको छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट प्रकाशित विभिन्न अध्ययन अनुसन्धानका प्रतिवेदनलाई हेर्ने हो भने बिद्यालय तहमा पाठ्यक्रमले अपेक्षा गरे अनुसारको सिकाइ उपलब्धि हासिल गरेको देखिंदैन । त्यसै गरेर विभिन्न कक्षा र तहका उपलब्धि परीक्षण ढाँचा र नतिजालाई हेर्दा पनि विद्यार्थीले कक्षागत र तहगत सक्षमता प्राप्त गर्न सकेको देखिँदैन ।

शिक्षा क्षेत्रमा विनियोजन गर्ने बजेटलाई हेर्दा नेपालका राजनीतिक पार्टी र सरकारको प्राथमिकतामा शिक्षा कहिल्यै नपरेको प्रष्ट हुन्छ । आर्थिक लगानी र प्रतिफल, विद्यार्थीको सिकाइ स्तर, पाठ्यक्रमको राष्ट्रिय उद्देश्य प्राप्ति, शिक्षकको सेवा सुविधा तथा पेसाको सुरक्षा, शिक्षक दरबन्दी, शिक्षक विद्यार्थी अनुपात, शिक्षक योग्यता क्षमता र राजनीतिक प्रतिबद्धता उत्साहप्रद देखिँदैन । 

पेसागत सङ्घसंस्थाले निर्वाह गर्नुपर्ने भूमिका 

शिक्षा ऐन, २०२८ मा सामुदायिक विद्यालयका शिक्षकको पेसागत हकहितको सम्बन्धमा कार्य गर्न एक नेपाल शिक्षक महासङ्घ रहने व्यवस्था गरिएको छ । 

शिक्षक स्वयं र समग्र विद्यालय सञ्चालनमा देखापरेका समस्यालाई समाधान गर्दै शिक्षकको पेसागत तथा वृत्ति विकासका लागि आवश्यकतानुसार सौदावाजी गरी सरकारलाई पृष्ठपोषण प्रदान गर्ने, सरकारसँग वार्ता गर्ने, शिक्षकका समस्या निराकरण गर्ने, पेसागत मर्यादा स्थापित गर्ने जिम्मेवारी पेसागत सङ्घसंस्थाले निर्वाह गर्दछन् । त्यतिमात्र नभई प्राज्ञिक स्वतन्त्रता, पेसागत सम्मान, मर्यादा स्थापित गर्दै देशको शैक्षिक गुणस्तर सुधार गर्ने संरचनाको रूपमा पेसागत सङ्घसंस्था रहन्छन् । त्यसका साथै समाजप्रति उत्तरदायी भूमिका भएको र शैक्षिक गुणस्तरका लागि जिम्मेवार पक्षका रूपमा पेसागत सङ्घसंस्था स्थापित भएका हुन्छन्  । 

नेपालको सन्दर्भमा हेर्ने हो भने पेसागत सङ्घसंस्थाका कार्यप्रति शिक्षक त्यति सन्तुष्ट रहेको पाइन्न । शैक्षिक नेतृत्वले आफ्नो भूमिका प्रभावकारी रुपमा बहन गर्न नसकेको, शैक्षिक नेतृत्व काममा भन्दा भाषणमा मात्र सीमित भएको, शिक्षकको हकहित तथा पेसागत विकासको पाटोलाई बिर्सेर आफ्नो मात्र स्वार्थसिद्ध गर्नमा तल्लिन रहेको, शिक्षक नेताहरूले दलको भात्रृ संगठनको जस्तो भूमिका निर्वाह गरेको भन्ने समेतका आरोप दिनानुदिन लाग्ने गरेको देखिन्छ । यस्तो परिप्रेक्ष्यमा  शिक्षक पेसागत हक हित, पेसागत क्षमता विकास, शिक्षण कौशलको आदानप्रदान गर्दै नेपालको विद्यालय शिक्षामा वा गुणस्तरीय शिक्षाका सन्दर्भमा देखिएका प्रमुख कमी कमजोरी (समस्या)लाई समाधान गर्नका लागि समेत शिक्षकका पेसागत सङ्घसंस्थाले प्रभावकारी भूमिका निर्वाह गर्नसक्नु पर्दछ । गुणस्तरीय शिक्षा प्रवर्धनमा शिक्षकका पेसागत सङ्घसंस्थाले निम्न भूमिका निर्वाह गर्न सक्छन् र सक्नुपर्छ । भनिन्छ, शिक्षाको गुणस्तर शिक्षकको गुणस्तरभन्दा माथि हुनै सक्दैन, त्यसकारण शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षकका पेसागत सङ्घसंस्थामा आबद्ध शिक्षकको पहिलो प्राथमिकता पनि शिक्षकको गुणस्तर नै हुनुपर्छ ।

शिक्षक तथा शिक्षाको गुणस्तरको लागि सामाजिक न्याय, विविधताको राम्रो सम्बन्ध कायम राख्ने र सामाजिक विकृति बिसंगतिको अन्त्य गर्ने, शिक्षकका पेसागत संस्थाहरू विद्यालय सुधारकका रुपमा परिचालित हुने, शैक्षिक गुणस्तर सुधार गर्न तथा विद्यार्थीको सिकाइमा वृद्धि गर्न शिक्षकको वृत्ति विकास गरी क्षमता वृद्धिका लागि तालिम सञ्चालन गर्ने, विभिन्न शैक्षिक अनुसन्धान गर्ने, नवप्रवेशी शिक्षकलाई सेवा प्रवेश र पेसागत सीप विकास तालिम सञ्चालन गर्ने, नयाँ पाठ्यक्रम र पाठ्यपुस्तकको प्रबोधीकरण गर्ने, परिवर्तित मूल्याङ्कन प्रणालीअनुसार शिक्षकलाई अध्यावधिक गराउने, शिक्षण सिकाइका सन्दर्भमा निरीक्षण, सुपरिवेक्षणसहित अनुभव आदानप्रदान गराउने, विभिन्न छलफल समूह र सञ्जाल, विषयगत सञ्जाल, अध्ययन समूह निर्माण गर्ने, विभिन्न विषयगत प्रतियोगिता सञ्चालन गरी ज्ञान, सीपको आदानप्रदान गर्नुपर्छ । 

गोष्ठी, सेमिनार, कार्यशाला, सम्मेलनमा पनि सिकाइ प्रविधिको बारेमा छलफल गर्ने, समूह शिक्षण, कार्यमूलक अनुसन्धान गर्नको लागि उत्प्रेरित गर्ने, विद्यार्थीका लागि उपयुक्त सन्दर्भसामग्री तयार गर्ने, शिक्षकको दक्षता वृद्धि गर्ने र अनुमतिपत्रको गुणस्तर सुधार गर्ने, शिक्षक पेसा मर्यादित र आकर्षित बनाउनको लागि सरोकारवालासँग पहल गर्ने, शिक्षक, विद्यार्थी र समुदायको सुमधुर सम्बन्ध बिस्तार र सुदृढीकरण गर्ने  तथा सबै वर्ग, तह, जात, लिङ्गको लागि शैक्षिक अवसरको सुनिश्चित गर्ने, नयाँ नयाँ प्रविधिको सिकाइमा प्रयोग गर्ने तथा गर्न सिकाउने, शैक्षिक नेतृत्व र आन्तरिक प्रजातन्त्रको अभ्यासकर्ताका रुपमा काम गर्ने, शैक्षिक अनुभव तथा राम्रा अभ्यास आदानप्रदान गर्ने, खोज, अन्वेषण, अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा पत्रिका बुलेटिन आदिमा लेख प्रकाशित गर्ने, शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाको आचारसंहिता निर्माण गर्ने जस्ता महत्वपूर्ण सवालमा शैक्षिक नेतृत्व चुक्नु हुँदैन । 

निष्कर्ष 

मानवीय गुण, ज्ञान, सीप, क्षमता र आचरण आर्जन गरी सभ्य, शिष्ट, शालिन, नैतिकवान, चरित्रवान, सुसंस्कृत, कर्तव्यनिष्ठ, कर्मशील, स्वावलम्बी, आत्मनिर्भर, समझदार, स्वस्थ, नम्र, दयालु, सरल, सफल र असल नागरिक बनाउने शिक्षालाई गुणस्तरीय शिक्षा मान्ने हो भने त्यसमा विभिन्न कानुनी, प्राविधिक र भौतिक, शैक्षिक तथा अन्य समस्या छन् । 

ती समस्या तथा कमीकमजोरी तिनै तहका सरकार, जनप्रतिनिधि, सरोकारवाला निकाय, शिक्षक, पेसागत सङ्घसंस्था, अभिभावक र विद्यार्थी मिलेर समाधान गर्दै गुणस्तरीय शिक्षाको माध्यमबाट समुन्नत नेपाल र खुशी नेपालीको आंकाक्षा पूरा गर्न सकिन्छ । राज्यको मात्र मुख नताकेर सबैले आआफ्नो तर्फबाट प्रयास गर्ने र आफ्नो जिम्मेवारी मात्र पनि सफलतापूर्वक बहन गर्ने हो भने पक्कै पनि गुणस्तरीय शिक्षा वृद्धि गर्नको लागि एक इँटा थपिन सक्छ । 

(सरस्वती माध्यमिक विद्यालय, धनगढी–७, कैलालीमा अध्यापनरत)

A Levels MA