A Levels MA

मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा डा. नारायणप्रसाद पौडेल नियुक्त

​मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मप) को रजिष्ट्रारमा सहप्राध्यापक डा नारायणप्रसाद पौडेलले  नियुक्ति  पाएका छन् । मप विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरेको हो ।

गत असार २२ गते दरखास्त आह्वान गरिएको रजिष्ट्रार छनोटका लागि  १९ जना प्रतिस्पर्धी प्राध्यापक तथा उपप्राध्यापकहरुले आवेदन दिएका थिए ।

काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा सुरेशराज शर्मा नेतृत्वको तीन सदस्यीय छनोट समितिले  निर्धारित  मापदण्डका आधारमा सह प्राडा पौडेललाई छनोट गरेको हो ।

छनोट समितिले   सह प्राडा पौडेललाई रजिष्ट्रार नियुक्तिका लागि मप विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमक्ष सिफारिस  गरेको थियो । छनोट समितिको सिफारिसलाई प्रधानमन्त्रीले  स्वीकृत  गर्दै  सह प्राडा पौडेललाई नियुक्त गरेको मपका उपकुलपति प्राडा नन्दबहादुर सिंहले  जानकारी दिए । “यसरी खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार नियुक्ति गर्ने काम नेपालका विश्वविद्यालयहरुको इतिहासमा पहिलो घटना हो”, उनले भने, “जुन काम यतिबेला मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्पन्न गरेको छ ।”

उपकुलपति प्राडा सिंहले यसअघि राजनीतिक शक्तिका आधारमा विश्वविद्यालयमा रजिष्ट्रार नियुक्ति गरिने प्रणाली पूर्णररुपले मपले  तोडेको जिकिर गरे ।यसैगरी विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, विज्ञान तथा प्रविधि सङ्काय र शिक्षाशास्त्र सङ्काय गरी रिक्त चारवटा डिन पदको खुला प्रतिस्पर्धामा भाग लिन दरखास्त आह्वान गरेको छ । आवश्यक मापदण्ड पूरा गरी खुला प्रतिस्पर्धाबाट सफल हुने उम्मेदवारलाई डिनमा नियुक्त गरिने उपकुलपति  सिंहले बताए ।

Thuprai - Books and E-books