विद्यालय चलाउने काइदा, परिसरमा अदुवाखेती

रोल्पा नगरपालिका–२ देउरालीस्थित सरस्वती आधारभूत विद्यालयले विद्यालय परिसरमा अदुवाखेती लगाएको छ । अर्थाभावका कारण विद्यालय सञ्चालनमा समस्या देखिएपछि विद्यालय चलाउने फरक अवधारणस्वरुप विद्यालयले अदुवा खेती सुरु गरेको हो । निजी स्रोतमा काम गर्ने शिक्षकहरुको तलब व्यवस्थापनमा समस्या परेपछि विद्यालयले यस्तो योजना अघि बढाएको छ ।

विद्यालय चलाउन अदुवाखेती गरेको यो विद्यालयले उत्पादित अदुवा अहिले बिक्री गर्न थालेको छ । ‘अर्थाभावका कारण विद्यालय सञ्चालनमा समस्या देखिएपछि अघिल्लो वर्ष रोपिएको अदुवो बिक्री वितरण गर्दै हिँडेका छौँ ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर वलीले भने, ‘यो वर्षबाट सुरु गरिएको उत्पादित अदुवामध्ये आधा कोसेलीको रूपमा वितरण र आधा बजारमा बिक्री गर्ने निर्णय भएको छ ।’ अध्यक्ष वलीका अनुसार यो वर्ष १० क्विन्टल अदुवा उत्पादन हुने अनुमान छ ।

‘पाँच क्विन्टल निकालिसकेका छौँ, अरु निकाल्न बाँकी छ ।’ विद्यालयका शिक्षक होमबहादुर खड्काले भने, ‘विद्यालयले उत्पादित अदुवा सदरमुकाम लिवाङमा रहेका शिक्षण संस्था, अन्य सरकारी तथा गैरसरकारी कार्यालय र व्यापारीलाई कोसेलीस्वरुप विवतरण गरिरहेको छ ।’

विद्यालय आफैँले अदुवा उत्पादन गरेको प्रचारप्रसार गर्न र आर्थिक सहयोग सङ्कलन गर्न कोसेलीस्वरुप वितरण गर्दै हिँडेको शिक्षक खड्काको भनाइ छ । कोशेली वितरणपछि बचेको अदुवा बजारमा बिक्री वितरण गर्ने योजना बनाएको विद्यालयले स्थायी आयस्रोतको रूपमा अदुवाखेती गरेको जनाएको छ ।