व्यवसायिक शिक्षामा आयामिक परिवर्तनको आवश्यकता

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले सञ्चालन गर्दै आएका पाठ्यक्रम, वर्तमान अवस्था र यसको भावि रणनीतिका विषयमा इडियुसञ्जालका राजन कोइरालाले इडियुटकको ४४ औं शृङ्खलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का निर्देशक महेश भट्टराईसंग गरेको कुराकानीको सारसंक्षेप:

दिनचर्या कसरी बिताइ रहनु भएको छ ?

कहिले लकडाउन कहिले निशेधआज्ञाको घोषणा सरकारले गरिरहेको छ । जस्तोसुकै अवस्था भएपनि कार्यलयका काम नियमित रुपमा चलिरहेका छन् । पहिलाको लकडाउनमा भन्दा निषेधआज्ञामा मानसिक तनाव बढी छ । औपचारिक रुपमा कार्यलय गएर झिनामसिना काम गरिएपनि द्रुतगतिमा पखेटा फिजाएर कार्यलय र व्यैक्तिक कार्य सम्पादन हुन सकेको छैन ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) केहो ? यसका कार्यक्रम कस्ता छन् ?

सामान्यतया औपचारिकरुपमा शिक्षालयमा, विश्वविद्यालयमा गएर पढिने ज्ञानलाई मात्र शिक्षा भनिन्थ्यो,  त्यसलाई मात्र प्रमाण प्रत्र दिइन्थ्यो । अहिले शिक्षाको परिभाषामा आयामिक परिवर्तन भएको छ । जिविकोपार्जनका लागि चाहिने ज्ञान, विज्ञान र मनोविज्ञानलाई शिक्षा भनिन्छ । हामी काठबाट टेवल बनाउने सिपलाई शिक्षा भन्छौं । सीटीईभीटी भनेको उपभोक्ताहरुका लागि आवश्यक सामग्री उत्पादन गर्ने सिपयुक्त जनशक्ति उत्पादन गर्ने थलो हो । यसलाई हामी प्राविधिक शिक्षा भन्छौं । साधारण शिक्षाले ज्ञानलाई मात्र जोड दिन्छ । प्राविधिक शिक्षाले प्रयोगशाला तथा शैक्षिक संस्थामा मात्र जोड दिन्छ भने व्यवसायिक शिक्षाले व्यापार र उपभोक्तालाई जोड्छ । सीटीईभीटीको काम भनेको साधारण शिक्षा र प्राविधिक शिक्षालाई बजार तथा उपभोक्ता सामु पुर्याउने हो । हामीले कति गर्न सकेका छौं यसको लागि नेपाल सरकार मनन गर्ने दिशामा गएको छ ।

कार्यक्रम कस्ता छन् ?

तीन प्रकारका कार्यक्रम छन् । एउटा छोटो अवधिको तालिम हो । यो तालिम सिप परीक्षणमा गएर टुंगिन्छ । २९५ सिपको परीक्षण गरिन्छ । अर्को लामो अवधिको कार्यक्रम छ । यसमा प्राविधिक एसएलसी र तीन वर्से डिप्लोमा कार्यक्रम छन् । प्राविधिक एसएलसी चाहिँ १० कक्षा उत्तीर्ण विद्यार्थीले १८ महिने पढेपछि सकिन्छ । यो कार्यक्रम २८ विषयमा सञ्चालित छ । अर्को तीनवर्षे डिप्लोमा ४८ विषयमा सञ्चालित छ । सीटीईभीटी आफैंले पनि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ भने सामुदायिक विद्यालयमा पनि सीटीईभीटीका कार्यक्रम सञ्चालनमा छन् । पुरानो शिक्षा विभागले ९–१२ मा पनि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । सीटीईभीटी आफैंले ५९ स्थानमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । ५४८ सामुदायिक विद्यालयमा सीटीईभीटीका कार्यक्रम सञ्चालन गरिँदै आएको छ भने पुरानो शिक्षा विभाग अन्तर्गत कक्षा ९ १२ मा ४८४ स्थानमा सीटीईभीटीको पाठ्यक्रम कार्यान्वयन हुँदै आएको छ । अन्य सरकारी निकाय तथा अन्य संस्थासंगको साझेदारीमा ४२९ स्थानमा कार्यक्रम सञ्चालन गरिँदै आएको छ । ६२१ वटा डिप्लोमा र ६१९ वटा टिएसएलसी सञ्चालनमा छन् । त्यस्तै ११ सय भन्दा बढी स्थानमा सर्ट कोर्सको कार्यक्रम सञ्चालनका लागि सम्बन्धन प्रदान गरिएको छ ।

रोजगारीको अवस्था कस्तो छ ?

आपूर्तिको चक्रबाट कार्यक्रम सञ्चालन गरेका छौं । सिट संख्या निर्धारण गरी कार्यक्रम सञ्चालनमा छ । हाम्रो मान्यता भनेको योग्यताको प्रमाणपत्र पाएपछि रोजगारी पाउँछ भनेर कार्यक्रम सञ्चालन गरिरहेका छौं । शिक्षाले रोजगारीको अवसर सिर्जना गर्छ, ६०–७० प्रतिशतले रोजगारी पाएको देखिन्छ । तर व्यवसायिक शिक्षा महंगो हुन्छ । सप्लाइको चक्र भन्दा पनि मागको चक्रबाट यसलाई हेर्नुपर्छ । यसमा आयमिक परिवर्तन जरुरी छ । सेवा प्रवाहका लागि कति जनशक्तिको आवश्यकता छ यकिन गरी रोजगार प्रवर्धन गर्दै क्षमता विकास गर्नुपर्छ । दिशा परिवर्तन गरी मागको चक्रमा आधारित भइ जनशक्ति उत्पादन गरेमा वेरोजगारी समस्या हटेर जान्छ । आवश्यकता पहिचान र द्रुत बजार सर्वेक्षण गरेर पाठ्यक्रम तयार गर्दै जनशक्ति उत्पादन गर्दै आएका छौं । आर्थिक अवस्था र पारिवारिक अवस्थाका कारण पुरा समय अध्ययन गर्न नसक्नेहरुका लागि छोटो अवधिको तालिम प्रभावकारी हुन्छ । छोटा अवधिका तालिमले उद्योग कारखानामा सिपयुक्त जनशक्ति उत्पादन हुँदै आएका छन् ।

सक्षमता कार्यक्रममा के कस्ता कार्यक्रम सञ्चिालत छन् ?

सक्षमता परियोजनाले आन्तरिक क्षमता विकासमा जोड दिन्छ । यो परियोजनाले शिक्षक तथा कर्मचारीको क्षमता अभिवृद्धिमा जोड दिन्छ । सक्षमता परियोजनाको एउटा कम्पोनेन्ट गुणस्तर अभिवृद्धि हो । यो परियोजना युरोपियन युनियन र नेपाल सरकारको दुई पक्षीय सहमतिमा सञ्चालनमा आएको हो । क्षमता विकास र पाठ्यक्रम निर्माणमा निजी क्षेत्रलाई जोड दिने हो । हाम्रो पाठ्यक्रममा निजी क्षेत्रका व्यक्तिलाई संलग्नता गरी पाठ्यक्रम तयार गर्ने हो । अहिले गुणस्तरमा भन्दा राजनैतिक तथा भौगोलिक पहुँचमा प्रमुख ध्यान गएको छ । यसलाई अन्त्य गर्दै गुणस्तर अभिवृद्धिका लागि कार्यविधि तयार गरी मापक तथा सूचक निर्धारण गर्ने र अन्य संस्थागत विकासका लागि जोड दिन्छ । यसको लक्ष्य भनेकै आन्तरिक क्षमता अभिवृद्धि गर्ने हो । यसले युवायुवतीलाई सिप भने प्रदान गर्दैन ।

सेन्टर अफ एक्सिलेन्स छनोटमा सीटीईभीटी चुक्यो भन्छन् नि ?

गुणस्तर सुनिश्चतताका लागि एसियाली विकास बैंकको सहयोगमा गुणस्तर सुधार कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रममा विभिन्न १० क्षेत्रमा ७२ वटा स्टन थिए । विभिन्न सूचकका आधारमा १० विद्यालयमा गुणस्तर सुनिश्चतता कार्यक्रम सञ्चिालत थियो । त्यसमा एउटा प्रावधान थपियो सोही प्रावधान अनुसार हरेक प्रदेशमा नमुना बहुप्राविधिक शिक्षालय स्थापना गरियो । विशेषगरी नमुना प्राविधिक शिक्षालयमा विभिन्न पाँचवटा फ्याक्टर रहेका छन्, त्यसमा एउटा नम्बर अफ प्रोग्राम हो । हामीले घोषणा गरेको नमुना प्राविधिक शिक्षालयमा लामो तथा छोटो अवधिका तालिम प्रादन गर्ने र समय निर्धारण गर्ने सूचक निर्धारण गर्यौं दोस्रो विद्यार्थीको पहुँच, तेस्रोमा गुणस्तर, चौँथोमा पठनपाठनका अलावा अन्य सिप प्रदान गर्ने र पाँचौंमा उद्योग व्यवसाय र संघ संगठनलाई पठनपाठनमा सहभागी गराउने क्राइट एरिया निर्धारण गरिएको थियो । त्यही क्राइटएरिया अनुसार टिकापुर, लाहान र पोखरामा सेन्टर अफ एक्सिलेन्सका रुपमा छनोट गरिएको हो ।

प्रस्तावित शिक्षा ऐनले गरेका नयाँ प्रावधानको व्यवस्था गर्दै छ भन्ने सुन्नमा आएको छ सोही आधारमा ऐन बने सीटीईभीटीको भविष्य के कस्तो होला ?

सबै सिप समयलाई खुम्च्याँएर पुनसंरचना गर्नु हुँदैन । व्यवस्थापकीय संरचनामा मात्र पुनर्संरचना गर्ने हो । प्रशस्त छलफल गरी एकेडेमिक गभर्नेन्सलाई केन्द्रीय संरचनामा लगियो भने यसमा दुविधा आउँदैन ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सञ्चालन गरेको पाठ्यक्रम र सीटीईभीटीको पाठ्यक्रममा एकरुपता छैन भन्छन् नि ?

केन्द्रले लागु गरेको पाठ्यक्रम पुरा गरेको जनशक्तिलाई प्राविधिक हुन् कि होइन बहस गर्ने बेला आएको छ । इन्जिनियरिङ काउन्सिलले मान्यता दिन्छ कि दिँदैन ? केन्द्रले लागु गरेको कार्यक्रममा ओजेटी भएकै छैन । ९–१२ को कार्यक्रमलाई पुनर्विचार गर्न जरुरी छ । सीटीईभीटी र केन्द्रको पाठ्यक्रममा एकरुपता नभएका कारण समस्या उत्पन्न हुन सक्ने संभावना छ त्यसैले सीटीईभीटीको पाठ्यक्रमलाई नै केन्द्रले लागु गर्दा उत्तम हुन्छ ।

सीटीईभीटीको गुणस्तर निरन्तर खस्कँदै गएको छ भन्ने सुनिन्छ नि ?

शिक्षकको क्षमता विकास कार्यक्रम कतिको प्रभावकारी छ, छैन मूल्यांकन गरिएको छैन । इन्जिनियरि ङ कार्यक्रममा विज्ञान र गणित नपढेका विद्यार्थीलाई भर्ना गर्ने गरिएको छ । विज्ञान र गणितबिना इन्जिनियरिङ हुँनै सक्दैन । विद्यार्थी संख्या पुर्याउने नाममा विद्यार्थीको अभिरुचि नभएका विषयमा भर्ना लिइरहेका छौं । हाम्रो जोड भनेको पठनपाठनभन्दा पनि मूल्यांकनतिर भयो यसले गर्दा नतिजामा प्रभाव पर्यो । विद्यार्थीको प्रारम्भिक क्षमताको मूल्यांकन नगरी भर्ना लिदा असर परेको हो । शिक्षकको क्षमता र विद्यार्थीको अभिरुचि र जिम्मेवारी बोध नभइ परीक्षामा तीन घन्टा विताउने सोचले गर्दा नतिजा खस्किएको हो । विद्यार्थी भर्ना गर्दा न्यूनतम योग्यता निर्धारण गरी शिक्षकको क्षमता अभिवृद्धि गरी यसमा सुधार गर्न सकिन्छ ।

चिकित्सा शिक्षा आयोगले प्राविधिक एसएलसी खारेज गर्ने भनेको छ नि ?

राजनैतिक, प्राज्ञिक र व्यवस्थापकीय पक्षको अध्ययन तथा छलफल गर्न जरुरी छ । छलफलका आधारमा जनशक्तिको आवश्यकता राज्यलाई पर्छ भने सञ्चालन गर्न दिइनुपर्छ ।

सीटीईभीटीका भावि योजना के कस्ता छन् ?

तीन विषयमा जोड दिएको छौं । कार्यस्थलको तालिमबाट सम्बन्धित विषयको कार्यस्थलबाट सिप प्रदान गर्नेछौं । यसलाई शिक्षाको मुलधारमा ल्याउन चाहेका छौं । औपचारिक र अनौपचारिक क्षेत्रबाट आर्जन गरेको सिपलाई राष्ट्रिय व्यवसायिक योग्यता प्रारुपको सुरुआत गरिएको छ । त्यसले व्यक्तिको पिसको पहिचान गरी योग्यता निर्धारण गर्छ । यसले साधारण र व्यवसायिक शिक्षालाई एकीकरण गर्छ । शिक्षकको क्षमता अभिवृद्धि गरी शिक्षण पेसालाई मर्यादित र व्यवसायिक बनाउन शिक्षकलाई अध्यापन अनुमति प्रदान गर्ने रणनीतिमा छौं । यसको नियमन गर्नका लागि सीटीईभीटी लागि परेको छ ।

Thuprai - Books and E-books