विद्यार्थीका माग सम्बोधन नगर्ने मेडिकल कलेजले उत्पन्न परिस्थितिको जिम्मेबार आफैं हुनुपर्ने विद्यार्थीको चेतावनी

चिकित्सा शिक्षाका विद्यार्थीको मागको सम्बोधन नभए उत्पन्न परिस्थितिको जिम्मेबार कलेज स्वयम हुने विभिन्न विद्यार्थी संगठनले चेतावनी दिएका छन् । विभिन्न सात विद्यार्थी संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

विद्यार्थीहरुले प्रकाशन गरेको संयुक्त विज्ञप्तिमा ‘चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरीत काठमाडौ विश्वविद्यालयका सम्बन्धन प्राप्त मेडिकल कलेजहरु काठमाडौं मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणीपाल मेडिकल कलेज कास्कीले २०७८ को नयाँ भर्नामा एमबीबीएस, बीडीएस र नर्सिङमा राज्यले तोकेको भन्दा विद्यार्थीहरुबाट आफूखुशी विभिन्न बहानामा लाखौं रुपैयाँ नाजायज शुल्क लिएको गुनासो आएको र मणीपाल मेडिकल कलेज पोखरा, काठमाडौ मेडिकल कलेज, नोवेल मेडिकल कलेज मोरङमा विद्यार्थीहरु आन्दोलित भएको प्रती संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’ भनिएको छ ।

सो विज्ञप्तिमा, ‘चिकित्सा शिक्षाका विद्यार्थीहरुको जायज मागहरुमा ऐक्यबद्धता जाहेर गर्दै विद्यार्थीहरुलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन जोडदार माग गर्दछौं, अन्यथा विद्यार्थीहरुको पक्षमा सयुक्त विद्यार्थी संगठनले आन्दोलन गर्ने र यस बाट उत्पन्न हुने परिणाम स्वयं कलेजले भोग्नु पर्ने छ भन्ने छ जानकारी पनि यसै विज्ञप्ति मार्फत जनकारी गराउदछौं ’ भन्ने उल्लेख गरिएको छ ।

सो विज्ञप्तिमा नेविसंघका अध्यक्षराजिव ढुंगाना, अध्यक्ष अखिल (क्रान्तिकारी) का पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विदँर्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ,अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही र अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवरले हस्ताक्षर गरेका छन् ।

यस अघि शुल्क विवादका कारण काठमाडौं मेडिकल कलेज सिनामंगल र विराटनगरको नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएस र बीडीएसका विद्यार्थीलाई बुधबार कक्षाकोठाबाट निष्कासन गरेर पठनपाठनबाटै वञ्चित गरेका  थिए ।

अन्य मेडिकल कलेजले मंसिर १९ गतेबाटै कक्षा सञ्चालन  गरेको भए पनि शुल्क विवादका कारण यी दुई कलेजमा शैक्षिक कार्यक्रम सुरु हुन सकेको छैन ।विराटनगरस्थित नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीको पठनपाठन बुधबार देखि रोकेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले ११ पुसदेखि पठनपाठन गर्न कलेजलाई  निर्देशन दिएको भए पनि कलेजले दुई दिन पढाएर अतिरिक्त शुल्क नबुझाएको  विद्यार्थीलाई अपमानित तरिकाले कक्षाबाटै निकालेको विदार्थीले गुनासो गर्दै आएका छन् ।नोबलमा एमबीबीएसमा भर्ना भएका एक विद्यार्थीका अनुसार ११ पुसबाट कक्षा सुरु भए पनि  पुस १२ र १३मा  कलेजले सेक्युरिटी गार्ड राखेर पठनपाठन गराएको छ ।  पुस १४ पुस गते भने  अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीको पठनपाठन रोकेको थियो । 

सो कलेजमा भर्ना भएका ९६ विद्यार्थीमध्ये ९ जना भारतीय, १० जना छात्रवृतिका र ५ जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई कलेजको माथिल्लो भवनको छुट्टै कक्षामा लगेर पढाइरहेको विद्यार्थीले जानकारी दिए । नोबेलमा एबीबीएसमा भर्ना भएका विद्यार्थी र अभिभावक ५ पुसदेखि आन्दोलनमा छन् ।

कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा ४ लाख ८२ हजार अतिरिक्त शुल्क  बढी बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ सामाजिक विकासमन्त्री, आन्तरिक मामिला  तथा कानुनमन्त्री देखि जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाइसकेका  छन् ।

Thuprai - Books and E-books