After SEE Portal

गाडी किन्ने बजेटबाट मेयरले खोले प्राविधिक कलेज

Bridge Course

मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ ।

गत आर्थिक वर्ष २०७६-७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि रु ६० लाख बजेट विनियोजन गरेको थियो तर नगरप्रमुख राजेन्द्र पोखरेलले लाखौँ खर्चेर आफ्ना लागि सवारीसाधन खरिद गर्ने प्रस्ताव अस्वीकार गरे। “बजेटमा रकम छुट्याइएको थियो, प्रमुखले सवारीसाधन किन्न मान्नुभएन”,  उपप्रमुख मञ्जु प्रसाईले भनिन्, “त्यसपछि गाडी किन्ने बजेट प्राविधिक शिक्षालय स्थापनामा खर्च गरियो ।”

नगरलाई शैक्षिक हब बनाउने र रोजगारीमूलक शिक्षा प्रदान गर्ने योजनाअनुरुप नगरप्रमुख पोखरेलले नै इञ्जिनीयरिङ विषयको पढाइ हुने कलेज खोल्ने प्रस्ताव अघि बढाएका हुन् । अहिले त्यही सवारीसाधन खरिद किन्ने भनिएको बजेटबाटै शुरु भएको कनकाई पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनमा छ । नगरपालिकाले गाडी खरिदका लागि विनियोजन भइसकेको रु ६० लाखमध्ये रु ३० लाख रकम कनकाई पोलिटेक्निक इन्स्टिच्युट स्थापनाका लागि लगानी गरिएको र अरु रकम साइकल लेन र पुल निर्माणमा छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत रुद्र न्यौपानेले जानकारी दिए ।

कनकाई–७ दुर्गापुरमा सञ्चालित कनकाई पोलिटेक्निक इन्स्टिच्युटमा पहिलो ब्याचमा ४६ जना विद्यार्थी भर्ना भएका थिए । त्यहाँ सिटीइभिटीअन्तर्गत तीन वर्षे डिप्लोमा तहको सिभिल इञ्जिनीयरिङ, जियोमेटिक्स इञ्जिनीयरिङ र इन्फरमेसन टेक्नोलोजीको पठनपाठन हुँदै आएको छ ।

सो इन्स्टिच्युटलाई नगरपालिकाको सहयोग र विश्वविद्यालयको सम्बन्धनमा सामुदायिक साझेदारीमा आधारित इञ्जिनीयरिङ कलेजको रुपमा विस्तार गर्ने योजना रहेको नगरप्रमुख पोखरेलले बताए ।

राससका अनुसार नयाँ आर्थिक वर्ष २०७७-७८ मा समेत कनकाई नगरपालिकाले सो इन्स्टिच्युटका लागि रु ३० लाख बजेट विनियोजन गरिसकेको छ । नगरप्रमुख पोखरेलका अनुसार नगरको वडा नं ५ मा इञ्जिनीयरिङ कलेजका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न १६ बिगाहा जग्गा लिजमा लिने कार्य भइसकेको छ ।

यो परियोजनालाई नगरको गौरव आयोजनामा समेटिएको छ । यहाँ अध्ययन गर्ने स्थानीय विद्यार्थीलाई नगरपालिकाले नगरभित्रै रोजगारी दिलाउने सोचसमेत बनाएको छ । ‘कमाइका लागि शिक्षा’ कार्यक्रमअन्तर्गत प्राविधिक विद्यार्थीलाई निर्माणाधीन परियोजनामा पारिश्रमिक दिएर काम गराउँदै सिकाउने नयाँ कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

A Levels MA
Thuprai - Books and E-books