After SEE Portal

त्रिवि स्थापनाको ऐतिहासिक कथा

Bridge Course

नेपालको जेठो विश्वविद्यालयका रुपमा त्रिभुवन विश्वविद्यालय परिचित छ । तत्कालीन राजा त्रिभुवनको निधन भएको एक वर्षपछि राजपरिवारले त्रिभुवन विश्वविद्यालयको स्थापना गर्ने घोषणा गरेका थिए । २०१३ सालमा कीर्तिपुरमा स्थापना गर्ने निर्णय भयो । २०१६ सालमा यसले कानुन प्राप्त गर्यो । तसर्थ यसको स्थापना २०१६ साललाई मानिँदै आएको छ । यसको इतिहास रोचक छ । लामो छ । स्थापना सम्बन्धी इतिहासका पानामा लेखिएका केही महत्त्वपूर्ण घटनालाई यो लेखले समेट्ने प्रयास गरेको छ ।

२००७ सालमा प्रजातन्त्र स्थापना हुँदा नेपालको साक्षरतादर दुई प्रतिशत थियो । उच्च शिक्षाका लागि त्रिचन्द्र कलेज मात्र थियो । शिक्षा पत्रकार प्रकृति अधिकारीका अनुसार नयाँ राष्ट्रिय शिक्षा प्रणालीको तर्जुमा गर्न नेपाल राष्ट्रिय शिक्षा आयोग गठन गरिएको थियो । सरदार रुद्रराज पाण्डेको अध्यक्षतामा आयोग गठन भएको थियो । सो आयोगको शैक्षिक सल्लाहकारका रुपमा अमेरिकाको ओरेगन विश्वविद्यालयका प्राध्यापक डा. ह्यूग वी। उडले काम गरेका थिए । आयोगले नेपाल राष्ट्रिय विश्वविद्यालय स्थापना गर्न सरकारलाई सुझाव दिएको थियो ।आयोगले अतिथि गृह रहेको शितल निवायमा विश्वविद्यालय स्थापना गर्न उपयुक्त रहेको सिफारिस गरेको थियो । विश्वविद्यालय स्थापनाको कुरा लामो समय प्रतिवेदनमा मात्र सीमित रह्यो । २०१२ साल माघ महिनामा विश्वविद्यालय स्थापनाका लागि भवनको खोजी गर्न थालियो । विश्वविद्यालय भवन छनोट गर्ने उद्देश्यले तत्कालीन शिक्षा स्वास्थ्य तथा स्थानीय स्वायत्त मन्त्री बालचन्द्र शर्मा माघ १८ गते एउटा टोली लिएर सेतो दरबार पुगका थिए । २०१२ साल चैत १८ गते टुडिखेलमा एउटा सभाको आयोजना गरियो । उक्त अवसरमा राजा त्रिभुवनकी श्रेठी रान िकान्ती राज्य लक्ष्मी र कान्छी महारानी इश्वरी राज्य लक्ष्मीले त्रिभुवन विश्वविद्यालय स्थापनाको घोषणा गरिन् । विश्वविद्यालय स्थापना गर्न कमिसन गठन गरिएको पनि दुवै रानीद्वारा दिइएको सन्देशमा उल्लेख थियो । कमिसनको सभापतित्व आफूहरूले नै गरेको घोषणा गरियो । उक्त कमिसनको सदस्यमा तत्कालीन माहिला हिमालय, कान्छा अधिराजकुमार बसुन्धरा, राजाका निजी सचिव सरदार हंशमान सिंह, खड्गनरिसिंह राणा, शिक्षा विभागका निर्देशक शारदाप्रसाद उपाध्याप, मिर सुब्बा भैरवबहादुर प्रधान र लक्ष्मीप्रसाद देवकोटालाई राखियो । सचिवका रुपमा डा. पारसनारायण सुवाललाई तोकियो ।

२०१३ साल वैशाख १ गते नारायणहिटी दरबारमा स्वर्गीय राजा त्रिभुवनकी जेठी माहारानीको सभापतित्वमा कमिसनको पहिलो बैठक बस्यो । बैठकमा कमिसनको विधान पेश गरिएको थियो । २०१३ साल वैशाख १३ गते बसेको कमिसनको बैठकले अर्थ, भवन निर्माण, मस्यौदा कानुन, शिक्षा पद्धति र निर्माण, साधन, र पुस्तकालय समिति गठन गर्ने निर्णय गर्यो । यस विचमा मुलुकका विभिन्न ठाउँमा कलेज स्थापना गर्ने प्रक्रिया सुरु भइसकेको थियो । राजा त्रिभुवनकी दुवै महारानीले ललितपुरमा ३७५ रोपनी जग्गा चन्दा स्वरुप दिएको घोषणा गरियो ।

विश्वविद्यालय स्थापनका लागि लुभु, स्वयम्भू, छाउनी, महाराजगञ्ज, सुन्दरीजल सुनाकोठी आदि ठाउँमा निरीक्षण गरियो ।कमिसनले २०१३ साल मंसिरमा कीर्तिपुरमा विश्वविद्यालय स्थापना गर्ने निर्णय गर्यो । पूर्व उपसचिव नरोत्तम शर्माका अनुसार विश्वविद्यालय कहाँ नेर राख्ने भन्ने विषयमा लक्ष्मी प्रसाद देवकोटाको संयोजकत्वमा एउटा समिति बनेको थियो । सो समितिले ठाउँ हेरेर ठाउँ छनोट गरेको भन्ने सुनेको थिए ।

त्यसविचमा सरकारले पञ्चवर्षीय योजना सुरु गर्यो । विश्वविद्यालय स्थापना भएको केही समयमा एउटा इन्जिनियरिङ स्कुलको स्थापना गर्ने उल्लेख गरिएको थियो । सो स्कुलको स्थापना पछि नर्सिङ र दन्तचिकित्सा समेत पढाउने योजनामा समावेश गरिएको थियो । सो योजनामा विश्वविद्यालयको कार्यक्रम प्रारम्भ गर्न १२ लाख रुपियाँ खर्च गर्ने उल्लेख गरिएको थियो । २०१३ साल पुसमा प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई कमिसनको सदस्य बनाइयो । त्रिभुवन विश्वविद्यालय कस्तो बनाउनुपर्छ भन्ने बारेमा विभिन्न शिक्षाप्रेमीसंग सुझाव माग गरिएको थियो । विभिन्न व्यक्तिले कमिसनलाई लिखित सुझाव दिएका थिए । त्यसविचमा आयोगका सदस्यहरु भारतको बनारस स्थित काशी हिन्दु विश्वविद्यालयमा पनि अध्ययन गर्न पुगे ।त्यो बेलाका भारतका उपराष्ट्रपति डा. सर्वपल्ली राणकृष्णन्संग भेट गरे । भारतीय विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष सिडी देशमुखसंग पनि भेटे ।

आयोगका सदस्यहरु पटना, बनारस, डिल्ली, बरोडा मुम्बाइ,पुणे, बंगलोर र मद्रास पनि पुगर स्वदेश फर्किए । स्वर्गीय राजा त्रिभुवनको ५२ औं जन्म जयन्तिका अवसरमा असार २०१५ साल असार ११ गते कीर्तिपुरको ट्याङ्लाटारमा बिहान साढे १० बजे भवन शिलान्यास गरियो । सो अवसरमा उपत्यकाका कलेज तथा विद्यालयका विद्यार्थीलाई पनि भेला गरिएको थियो । कति विद्यार्थी थिए भन्न नसके पनि उपत्यकाका सबै विद्यार्थी गएको पूर्वसचिव शर्मा बताउँछन् ।

नेपाल सरकारका पूर्व सचिव द्वारिकानाथ ढुङ्गेल भन्छन्, ‘युद्धोदय पब्लिक हाइस्कुलमा कक्षामा ९मा पढ्थे त्यो विश्वविद्यालयको शिलान्यास हुने दिने हाम्रा हेडमास्टर रामजीप्रसाद शर्मा विश्वविद्यालयको स्थापना हुने भयो भनेर माथिल्लो कक्षाका (९ र१०) का विद्यार्थीलाई विद्यायलयबाट शिक्षक र विद्यार्थीको टोली कीर्तिपुर पुगेको हो ।’

‘तमसोमा ज्यातिर्गमय असतो मा सद्गमय मृत्येर्या अमृर्तंगमय’ भन्ने उपनिषद वाक्यको संगीतमय बन्दधना पछि दुवै रानीले जगमा पालैपालै सिमेन्ट राखिन् । सिक्रिमा झुण्डाइएको आधार शिलाालाई पूजा गरियो । दुवै रानीले त्यसलाई स्पर्ष गरिन् । कीर्तिपुर क्षेत्रमा दुइहजार रोपनी जग्गा अधिग्रहण गरेको थियो । अहिले ३ जहार ४२ रोपनी जग्गा चर्चिएको छ । त्यो बेला जग्गाका लागि आठ लाख खर्चिएको थियो । विश्वविद्यालय भवन निर्माण गर्न २५ वर्ष लाग्ने र १ करोड २६ लाख रुपियाँ लाग्ने जानकारी शिलान्यासका बखत जानकारी दिइएको थियो ।

वरिष्ठ मूर्तिकार गोविन्दनारायण ज्यापू भन्छन्, ‘कीर्तिपुरको त्यो डाँडाको सरसफाई गर्न जाने हामी नै हो । त्यहाँको पहाडलाई काटेर सम्म पारेका हौं ।’

शिलान्यासका बखत हिमालय विरबिक्रमले जसरी आज विश्वविद्यालयको शिलान्यास गर्ने महान कार्य सफल भयो त्यसरी नै सबैको सहयोगबाट शीघ्रातिशीघ्र यसको उद्घाटन गर्ने दिन आवोस भन्ने परमपिता परमेश्वरसंग हाम्रो प्रार्थना छ भनेका थिए ।

त्यसदिन विश्वविद्यालयका कमिसनका सचिव सुवालले प्रतिवेदन पेस गरेका थिए । विश्वविद्यालय कोषबाट सोधभर्ना हुनेगरी नेपाल सरकारबाट लिएको दुई लाख ५० हजार सकिएको र थप दुई लाख लिएको जानकारी दिए ।यता भवन निर्माण र कानुन निर्माण एकैपटक धमाधम भयो ।

भवन निर्माण गर्ने क्रममा उपत्यकाका विद्यालय तथा कलेजका विद्यार्थीलाई स्वयम् सेवकका रुपमा खटाइयो । २०१६ साल जेठमा त्रिभुवन विश्वविद्यालय ऐन जारी गरियो । अविछिन्न उत्तराधिकारीवाला एक स्वसासित र संगठित संस्थाको रुपमा त्रिभुवन विश्वविद्यालयको स्थापना गरिने कुरा ऐनमा लेखियो । ऐनले राजालाई विश्वविद्यालयको रोयल भिजिटर बनायो । त्रिभुवन विश्वविद्यालयको कुलपतिको मनोनय पाँच वर्षका लागि सिनेटको सिफारिसमा रोयल भिजिटरबाट गर्ने स्पष्ट उल्लेख गरियो । ऐनमा ्रथम कुलपति त्रिभुवनकी जेठी रानी               रहने र कार्यअवधि आजीवन रहने उल्लेख गरियो भने सहकुलपति कान्छी रानीलाई बनाइयो । आजीवन सदस्यका रुपमा तत्कालीन अधिराजकुमार हिमालय र बसुन्धरालाई बनाइयो । २०१६ असार ३० गते विश्वविद्यालय परिषद्को प्रथम बैठक बस्यो । बैठकलाई सम्बोधन गर्दै तत्कालीन राजा महेन्द्रले यो विश्वविद्यालय नेपाल आमा र उनका सन्तानलाई सर्मपित गर्द छौं भने । पहिलो उपकुलपतिका रुपमा तत्कालीन उपप्रधानमन्त्री सुवर्ण जबरालाई बनाइयो । त्रिवि परिषद्मा सदस्यदेखि कुलपति सम्म १७ जनालाई समावेश गरियो ।

इन्टरमिडिएट र स्नातक त्रिविको निमित्त भारतको पाटना विश्वविद्यालयले नै गरिदिन्थ्यो । त्रिविका पूर्व उपकूलपति कदेरभक्त माथेमा भन्छन्, ‘त्यो कोर्सको किताब हेर्दै पटाना विश्वविद्यालय लेखेको हुन्थ्यो, पटना युनिभर्सिटी प्रो सेलेक्सन लेखेको हुन्थ्यो । त्यो कोर्स एड्प्ट गरेको हुन सक्छ त्रिविले ।’

एमएको परीक्षा त्रिविले नै लिन थाल्यो । २०१७ साल असार १७ गते त्रिभुवन विश्वविद्यालयबाट सन् १९६० आइए, आइएस्सी, आइकम, बीए, बीएस्सी र बीकमको परीणाम सार्वजनिक गरियो २०१८ देखि सबै परीक्षा त्रिभुवन विश्वविद्यालयले नै सञ्चालन गर्न थाल्यो । त्यो बेला सम्म उपत्यकाका कलेजमा नेपाली ३५ जना र भारतीय २० प्राध्यापक थिए । ‘पढाउने त बिसि मल्ल सर,पन्थ सर, तीर्थबहादुर मान्धर, नरेशमान सिंह, अम्बिका प्रसाद अधिकारी सर हुनुहुन्थ्यो ।’ पूर्व उपकुलपति माथेमाले भने । कीर्तिपुरमा भवन निर्माण नहुन्जेल त्रिपुरेस्वरमा पठनपाठन हुन्थ्यो । त्रिपुरेस्वरको बंगाली शिक्षक बसेका ठाउँमा बिहान र दिउसो पढाइ हुन्थ्यो । त्रिविले २०१७ साल चैत १० गते त्रिविले पहिलो दीक्षान्त समारोहको आयोजना गर्यो । सो समारोहमा भारतको विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष सिडी देशमुखलाई विदेशी अतिथिका रुपमा आमन्त्रण गरिएको थियो ।

सन् १९६० मा स्नातक तहमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने मणिकरत्न कंशाकारलाई भाइस चान्सलरको तक्मा प्रदान गरियो । उनी विकम उत्तीर्ण भएका थिए । २०१६ सालमा पहिलो परीक्षामा १ हजार ९३९ जना सहभागी भएकोमा ९१९ जना उत्तीर्ण भएका थिए । त्यो बेला सम्म विश्वविद्यालयले ११ डिग्री र इन्टरमिडिएट ११ कलेजलाई सम्बन्धन दिइसकेको थियो । त्रिविमा १० ओटा विभाग स्थापना भएका थिए ।

२०१८ साल पुस २७ गते त्रिवि परिषद्को बैठक बस्यो । सो बैठकमा कुलपति र सहकुलपतिले अवकाश लिएको घोषणा गरे । राजा महेन्द्रले कुलपतिको पद स्यम्ले ग्रहण गरे । शिक्षा मन्त्रीलाई पदेन सहकुलपतिको पदमा नियुक्त गरियो । त्यो बेला शिक्षा मन्त्री परशुनारयण चौधरी थिए । त्यो बेला दुवै रानीले संयुक्त सम्बोधन गरे । त्रिभुवन विश्वविद्यालयसंग स्थापना कालदेखि आत्मिय सम्बन्ध रहेको र सम्बन्ध विच्छेद गर्नु पर्दा गहिरो दुख लाग्नु स्वभाविक नै हो ता पनि विश्वविद्यालयको शीघ्रतम उन्नति र दीर्घकालीन अभिवृद्धिलाई नै आफ्नो एक मात्र कर्तव्य तथा लक्ष्य सम्झेर व्यक्तिगत मोह त्यागी विश्वविद्यालयको सिनेट, चान्सलर, सहचान्सलर पदबाट अवकाश लिनु मनासिव हो भन्ने विश्वासका साथ उक्त कार्यभारबाट अवकाश लिएका छौं भने ।

राजा महेन्द्रले महेन्द्र विद्याभूषण पदक स्थापना गरे । २०१८ सालबाट सो पदक वितरण गरियो । सुरुको वर्षमा १३ जना नेपाली विद्यार्थीले सो पदक पाएका थिए । त्यसमध्ये त्रिविका २ जना विद्यार्थी थिए । काठमाडौंका मुकुन्द शर्मा रेग्मी र ललितपुरका सिवगोपाल रिसालले सो पदक पाएका थिए । एम संस्कृत र नेपालमा उत्कृष्ट अंक ल्याएको हुनाले सो पदक प्रदान गरिएको थियो । ‘त्यो बेला महेन्द्रको दवदवा थियो बोलाइयो, राजाबाट तक्मा पाउने भएपछि गौरबको अनुभूति भयो ।’ पहिलो महेन्द्र विद्या भूषण पदक विजेता रिसाल भन्छन्, ‘पढेर लिएको हो त्यो तक्मा म मएम पढ्दा १८ घण्टा पढ्थ्थे, पुस्तक नपाइने, हिन्दी, अंग्रेजी सबै विषय खोजेर पढें, मेहनतको फल मिल्यो, चारतोलाको सूनको तक्मा दरबारमा ससम्मान राजाले तक्मा लगाइदियो ।’

यातायातको असुविधाका कारण त्यो बेला विद्यार्थीले सास्ती भोग्नु पथ्र्यो । ‘रत्नपार्कबाट दुईओटा कीर्तिपुरका लागि बस चल्थ्या, एउटा साढे ९ बजेको हामीले त्यो बस भ्याउनु पथ्र्यो, हामी झ्यालबाट, डाइभरको सिटबाट गाडी चढेर पनि गयौं, फर्किने बेला भने बस चढ्नै पाउँदैन थियौं । म हिडेर हाडी गाउँ पुग्थे ।’अतित स्मरण गर्दै शिक्षाविद् मनप्रसाद वाग्ले भन्छन्, ‘कुपन लिएर एक महिनासम्म यात्रा गथ्यौं ।’

२०१८ सालमा दोस्रो दीक्षान्त समारोहआयोजना भयो । त्यपछि क्रमशः हरेक वर्ष दीक्षान्त समारोहआयोजना भयो । स्थान अभावले गर्दा त्रिपुरेस्वरको दशरथ रंगशालामा पनि दीक्षान्त समारोह आयोजना भयो । पछिपछि यसले निरन्तरता पाउन सकेन । संयुक्त दीक्षान्त समारोह गरेका दृष्टापनि छन् त्रिविसंग । सुरुसुरुमा ठाउँ अभावमा त्रिपुरेश्वरको रंगशालामा पनि दीक्षान्त समारोह गर्यो ।

२०६२–६३ को आन्दोलनपछि राजालाई कुलपति हुने व्यवस्था हटेर प्रधानमन्त्री कुलपति हुने प्राबधान ल्याइयो ।

२०१८ सालमा त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियन गठन गरियो । पहिलो अध्यक्ष नवराज सुवेदी भएका थिए । २०१९ मा युनियनका अध्यक्ष तीर्थनाथ गोगल बने । तत्कालीन शिक्षामन्त्री कीर्तिनिधि विष्टले युनियनको उद्द्दाटन गरेका थिए ।

प्राध्यापक संघ स्थापनाको कथा पनि रोचक छ । संघ स्थापना हुनुमा त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्राध्यापकको पनि उत्तिकै भूमिका छ । शून्यबाट सुरु भएको संघ आज देशभर रहेको छ ।

 ‘ म, त्रलोक्य नाथ र गोपाल शर्माको समूहले विधान लेख्ने निर्णय भयो, एजुकेसन काउन्सीलको एउटा हलमा बसेर विधान लेखेका हौं, विधान भए पछि म, त्रैलोक्यनाथ लगायतले चुनाव लड्यौं ।’ शङ्करराज पाठक संस्थापक सरस्वती बहुमुखी क्याम्पस भन्छन्, ‘पहिलो पटक मेरै कलेजमा पहिलो बैठक बस्यौं ।’

त्यो बेला पनि कांग्रेस कम्युनिष्ट भन्दै भोट माग्थे , हामी लाइन बसेर भोट हाल्थौं । वाग्ले

अहिले यो विश्वविद्यालयको ९ ओटा संकाय र संस्थान चार अनुसान्धान केन्द्र छन् ४० ओटा केन्द्रीय विभाग ६२ ओटा आंगिक क्याम्पस र १०६२ सम्बन्धन प्राप्त क्याम्पस छन् । यो विश्वविद्यालयमा करिब ४ लाख विद्यार्थी अध्ययनरत छन् । उच्च शिक्षाको करिब ८० प्रतिशत विद्यार्थीको भार त्रिविले थेगेको छ ।

A Levels MA
Thuprai - Books and E-books