फाउण्डेसनले ८ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने

धनगढी उपमहानगरपालिकाले गरेको सिफारिसका आधारमा लर्डबुद्ध एजुकेसशन फाउण्डेसनले ८ जनालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । 

फाउण्डेसनले  बीएससी आईटीमा दुई जनालाई निःशुल्क, तीन जनालाई ल्याब फी र ट्युसन फी तथा तीन जनाले ट्युसन फीमा पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

धनगढी उपमहानगरकै सिफारिसमा, अरू योग्य विद्यार्थीले न्याशनल आइसीटी स्कलरसिपका साथै अरू अवसर पनि पाउने गरी सहमति भएको फाउण्डेसनका अध्यक्ष पङ्कज जालानले बताए ।

फाउण्डेसन र धनगढी उपमहानगरपालिकाबिच शैक्षिक सहकार्यको सहमति पछि विद्यार्थीले छात्रवृत्ति पाउने भएका हुन् ।

दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने उद्देश्यले फाउण्डेसन र धनगढी उपमहानगरबिच शैक्षिक सहकार्यको सहमति भएको छ ।

सहकार्य सम्बन्धी सम्झौता पत्रमा फाउण्डेसनका अध्यक्ष जालान र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालले हस्ताक्षर गरेका छन् ।

विद्यार्थीलाई नेपालमा उपलब्ध व्यावसायिक मार्ग पहिचान सहित सुनिश्चित भविष्यका लागि करिअरको निर्णय गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ ।

साथै उनीहरूलाई भविष्यको लागि मार्ग दर्शन र बहु आयामिक क्षेत्रमा अन्तर्दृष्टि प्रदान गर्दै,  मुलुकभित्रै शिक्षा र रोजगारीका सम्भावनाबारे जानकारी प्रदान गरिने, सहमति पत्रमा उल्लेख छ ।

यो कार्यक्रम मार्फत विद्यार्थी र शिक्षकको प्राविधिक र डिजिटल सीप विस्तार गर्दै, बृहत् प्रशिक्षण कार्यक्रम मार्फत रोजगार बजारको लागि तयार पारिने लक्ष्य राखिएको छ । तालिमले नवीनतम प्रविधि, सञ्चार सीप, डिजिटल उपकरण क्लाउड कम्प्युटिङ लगायत विभिन्न क्षेत्र समेट्नेछ ।

धनगढी उपमहानगरभित्रका युवाहरूलाई सूचना प्रविधियुक्त बनाउन लर्डबुद्ध एजुकेसन फाउण्डेसनसँग शैक्षिक सहकार्य गर्न लागिएको मेयर हमालले बताए।