साउन २३ गते आएको बाढीले कैलालीका बाढी प्रभावित क्षेत्रका विद्यालयमा क्षति पुगेको छ ।
बाढीले विद्यालयमा पानी पस्दा कागजात, कापी किताब, बिच्छ्याइएका कार्पेट, बालबालिका बस्ने कुसन नष्ट भएका छन् ।
टीकापुर नगरपालिका(६ भगवानपुस्थित खड्ग आधारभूत विद्यालयका चार कोठामा बाढी पसेपछि कार्पेट, शैक्षिक सामग्रीलगायतमा क्षति भएको छ ।
विद्यालयमा परीक्षा चलिरहेकाले पानी पसेका कोठामा सरसफाइलगायतका काम भइरहेको, भिजेका कागजात सुकाउन लागिएको प्रधानाध्यापक रामप्रसाद खनालले बताए ।
“बाढीले भिजेका कागजात सुकाउन थालेका छौँ, राम्ररी घाम पनि लागेको छैन, कतिपय किताब काम नलाग्ने गरी नष्ट भएका छन्”, उनले भने ।
जनज्योति आधारभूत विद्यालय भर्तापुरका प्रधानाध्यापक पूर्णप्रकाश शाहले बाढी विद्यालयमा पसेपछि करिब रु ५० हजार बराबरको क्षति भएको बताए ।
“भर्तापुरमा कार्पेट, कुसन, काजगात र किताब भिजेका छन्”, उनले भने “विद्यालयमा परीक्षा चलिरहेकाले दुई कोठा सफा गरेर परीक्षा भइरहेको र बाँकी बाढीका कारण हिलाम्मे भएकाले विद्यालय सरसफाइ गर्ने काम भइरहेको छ ।”
नगरपालिकाका प्रवक्ता तथा वडा नं ३ का वडाध्यक्ष विक्रम चौधरीले बाढीले विभिन्न स्थानमा विद्यालयमा क्षति पुर्याएको बताए ।
“वडा नं ८ का सबै विद्यालय र वडा नं ३ का जाल्पा आधारभूत विद्यालय बर्दवाफाँटा, पडरियास्थित केदारनाथ आधारभूत विद्यालय र मदरसा विद्यालयमा बाढी पसेको छ”, उनले भने, “वडा नं ८ मा शिव आधारभूत विद्यालय, कृष्णध्वज मावि, कालिका आधारभूतलगायतका विद्यालय डुबानमा परेका छन् । शिक्षकलाई पूर्वतयारीबारे जानकारी भएकाले विद्यालयका कागजात सुरक्षित छन् । अब सरसफाइलगायतका कार्य गर्नुपर्नेछ ।”
भजनीका विद्यालयमा बर्खे बिदा भएकाले विद्यालय बन्द हुँदा पढाइमा असर नपरेको उनको भनाइ छ ।