Bachelors Portal

३९० घण्टाको तालिमबाट जीविकोपार्जन गर्ने सपना

Managed Admission 2022

‘मेरो नागरिकता अहिले ल्याइ पुर्‍याउन ढिला भयो भने मेरो भौचर त छुट्दै न नि सर ?’ अतालिँदै २९ वर्षीय चितवनकी कुमारी चेपाङ भन्छिन्, ‘हेर्नुन बच्चा सानो छ, हिड्ने बेलामा झगडा गर्‍यो भुसुकै बिर्सेछु ।’

‘नआतालिनुन दिदी पाइहाल्नु हुन्छ नि ! अब एकैछिन पर्खनुस् न है ! तपाईँको नागरिकता आउने बितिकै दिइहाल्छौं नि ।’ व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (दोस्रो) ले भृकुटी मण्डपमा गत पुस सात र आठ गते आयोजना गरेको भौचर मेलामा स्वयंसेवकका रुपमा काम गरिरहेकी भावना श्रेष्ठले भनिन् । उनी दुई दिने सो मेलाकी स्वयंसेवक हुन् ।

चेपाङलाई आफ्नो अघिपछि दौडिरहेको तीन वर्षीय छोराको भन्दा पनि भौचर नपाइएलाकी भन्ने चिन्ताले पिरोलेको छ । उनले १० वर्षअघि कक्षा सातमा पढ्दापढ्दै आर्थिक अभावका कारण पढ्न छाडिन् ।

भौतिक सम्पत्तिका रुपमा थोरै घरबारी मात्र भएका उनका बुबाआमाले ज्यालामजदुरी गरेर पढाउने खर्च जुटाउन सकेनन् । बुबाआमाले  ज्यालामजदुरी गरेर कमाएको पैसाले परिवारलाई दुई छाक टार्न मुस्किल भयो । उनी पनि ज्यालामजदुरी गरेर बुबाआमालाई दुईचार पैसा कमाउन सहयोग गर्न थालिन् । उनको पढ्ने सपना अधुरैै रह्यो ।

आफ्नै जस्तो अवस्थाको सामाना आफ्ना छोराछोरीले गर्नु नपरोस् भनेर उनी विकल्पको खोजीमा छिन् । यसका लागि उनी परियोजनाले आयोजना गरेको मेलामा आएकी हुन् । उनी मेलाबाट भौचर लिएर सिलाइबुनाइ तालिम लिन चाहन्छिन् ।

व्यावसायिक सिप हासिल गरेपछि आफैंले व्यावसाय सञ्चालन गर्न नसके पनि अरुकैमा काम गरेर पनि राम्रो कमाइ गर्न सकिने उनको विश्वास छ । ‘सानासाना दुई जना छोरा छन्, जेठो छोरा ७ वर्षको भइसक्यो ।’ उनले भनिन्, ‘आफूले पढ्ने बेलामा आर्थिक अभावका कारण पढ्नै सकिएन तर छोराहरूलाई यस्तो समस्या नपरोस् भनेर धेरै पैसा कमाउन चाहन्छु । यो तालिमलाई मैले अवसरका रुपमा लिएकी छु ।’

अनामनगर बस्दै आएकी उनी भौचर लिएर कान्तिपुर वहु प्राविधिक शिक्षालय प्रालिबाट तालिम लिएर व्यवसायिक रुपमा काम गर्ने सोचमा छिन् ।

उनकै जस्तो छ महिनाको बच्चालाई छाडेर भौचर लिन टोखा देखि भृकुटी मण्डप आएकी रीता श्रेष्ठ तालिमपछि ब्युटीपार्लर खोल्न चाहन्छिन् । उनले मानविकीमा स्नातक गरेकी छिन् । उनले स्नातक गरेको भएपनि बेरोजगार छिन् । बेरोजगारीकै कारण व्यावसायिक सिप सिकेर आफैं उद्यमी बन्ने चाहानाले मेलामा आएकी हुन् ।

परियोजनाले १६ वर्षदेखि ४० वर्ष उमेर समूहका १० हजार ९४१ युवायुवतीलाई भौचरमा आधारित तालिम प्रदान गर्ने भएको छ । विभिन्न ५८ ओटा तालिम प्रदायक संस्थाबाट ३४ विषयमा तालिम प्रदान गरिने परियोजनाले जानकारी दियो । परियोजनाका अनुसार २६ हजार ३५९ जना आवेदक मध्ये १० हजार ९४१ जनालाई छनोट गरेको हो । छनोटमा परेकाले मेलाबाट भौचरलिने सहभागीहरूलाई उनीहरूको मागअनुसार पायक पर्ने संस्थाबाट निःशुल्क तालिम प्रदान गरिने छ ।

परियोजनाले सुविधाविहीन समूहका दलित,लोपोन्मुख, अति सीमान्तकृत तथा सीमान्तकृत जनजातिका युवायुवतिलाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यले तालिम प्रदान गर्न लागेको परियोजना निर्देशक चन्द्रकान्त भूसालले जानकारी दिए । ७ हजार ५०० युवालाई तीन महिनाको (३९०घण्टा) तालिम  निःशुल्क प्रदान गर्ने भएको छ ।

Select college / campus