शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्रको विज्ञापन आव्हान गरेको छ । आयोगको २९ गतेको निर्णयानुसार शिक्षक सेवा आयोग नियमावली (संशोधन सहित), २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम आवेदन माग गरेको हो ।
नियमावली अनुसार न्यूनतम योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिहरूबाट माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि आजदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली मार्फत अनलाइन दरखास्त दिन सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन– संशोधन तथा थपघट गर्न नसकिने व्यहोरा सूचनामा उल्लेख छ ।
व्यक्तिगत विवरण र पेस गर्नुपर्ने कागजातहरू सुनिश्चित गरेर मात्र अनलाइन दरखास्त दिनुपर्ने तथा पछि फरक परेमा वा पर्न गएमा व्यक्ति स्वयं जवाफदेही र उत्तरदायी हुनुका साथै सो सम्बन्धमा आयोगबाट कुनै पनि कारवाही हुन नसक्ने सूचनामा उल्लेख छ ।
विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np बाट प्राप्त गर्न र हेर्न सकिनेछ ।