नेपाल राष्ट्रिय पुस्तकालयको भवन भूकम्पले क्षति पुर्याएपछि पुनः निर्माण हुन सकेको छैन ।पुनः निर्माणका लागि तयारी थालिएको भएपनि २०७७ साउन ५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार निर्माण कार्य रोक्का गरिएपछि पुनः निर्माण हुन नसकेको हो ।
२०७२ वैशाख १२ को भूकम्पले हरिहर भवनस्थित राष्ट्रिय पुस्तकालयको भवन जीर्ण बनेपछि पुस्तकालयको सम्पूर्ण सेवा ठप्प छ । सरकारले २०७५ असोज २८ मा नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्किने डिजाइनसहितको राष्ट्रिय पुस्तकालय भवन निर्माण गर्ने र अरू प्रस्तावमा लेखिएबमोजिम हुने निर्णय गरेको थियो ।
पुस्तकालय निर्माण प्रक्रिया अघि बढेसँगै विभिन्न व्यापारिक समूहले सरकारलाई प्रभावित तुल्याएर उक्त ठाउँमा व्यापारिक भवन बनाउने भन्दै रोकेका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समेत जमल, घण्टाघर, रानीपोखरी, टुँडिखेलदेखि दशरथ रंगशालासम्म एकीकृत योजना बनाउने प्रस्ताव अघि सारेपछि पुस्तकालय निर्माण कार्य अघि बढ्न नसकेको हो । सरकारले २०७७ साउन ५ मा ‘अर्को निर्णय नभएसम्म जमलको जग्गामा नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण नगर्ने÷नगराउने’ निर्णय गरेपछि प्रक्रिया रोकिएको थियो ।
तत्कालीन सरकारले २०१३ सालमा राजगुरु हेमराज पाण्डेको पुस्तकालयलाई खरिद गरी सञ्चालनमा ल्याएको पुस्तकालयमा विभिन्न भाषाका १ लाख ५० हजारभन्दा बढी पुस्तक तथा पत्रपत्रिकाहरू संरक्षित थिए ।
२०१८ सालदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको पुस्तकालयमा रहेका अधिकांश अभिलेखमा अहिले धमिरा लाग्न थालेको सरोकारवालहरु बताउँछन् । भवन अभावमा बोरा र पोकोमा राखिएका ती ऐतिहासिक अभिलेखहरु नष्ट भएर जाने संम्भावना बढेर गएको छ । भवन निर्माण र व्यवस्थापनमा सरकारको उचित चासो नगएको सरोकारवालाको दाबी छ ।
पुस्तक संरक्षण
भूकम्पपछि पुस्तकालयको प्रशासनिक काम हरिहर भवनस्थित घोडातबेला टहराबाटै सम्पादन हुँदै आएको छ । तीन सय वर्ष पुराना हस्तलिखित ग्रन्थहरूसमेत भएको पुस्तकालयमा नेपाली,नेपालमा बोलिने विभिन्न भाषाका लिखित संग्रह सहित अंग्रेजी, हिन्दी, संस्कृत, मराठी, पाली, फ्रेन्च, जापानिज, थाई, मलेसियन भाषाका पुस्तक राखिएका छन् ।
पुस्तकालयको स्वामित्वमा रहेका पुस्तकहरू अहिले महेन्द्र उच्च माध्यमिक विद्यालय, सानोगौचरणमा ५१ हजार थान, शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमीमा २२ हजार र हरिहरभवनकै एक टहरोमा रहेको शाखामा ७ हजार थान राखिएको महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पुस्तकालय प्रमुख उपेन्द्रप्रसाद मैनालीका अनुसार भूकम्पपछि आधा जति पुस्तक मात्र र्याकमा राखिएका छन् । झन्डै सात हजार थान बालपुस्तक र नयाँ खरिद गरिएको तीन हजार पुस्तक हरिहर भवनकै बालशाखामा गोदामभित्र बोरामा राखिएका छन् । पुस्तकालयका लागि आधुनिक र सुविधा सम्पन्न भवनको व्यवस्था गर्दै पुस्तकको संरक्षण र उपयोगमा ध्यान दिनुपर्ने महालेखा परीक्षकको प्रतिवेदनले सुझाए पनि सरकारले यसको सुनुवाइ गरेको छैन ।
भवन निर्माणस्थल टुङ्गो लागेनः महालेखा परीक्षक
जमलमा विरोध भो । पूर्वाधार तयारी हुन लगानी फसिसकेपछि रोकियो । पुस्तक अलपत्र परे । तत्कालीन मन्त्रिपरिषद्बाट २०७५असोज २८ गते काठमाडौंको जमलस्थित कित्ता नं। १२७० को ७ रोपनी १५ आना जग्गामा राष्ट्रिय पुस्तकालयको लागि एक अत्याधुनिक भवन निर्माण गर्ने निर्णय भयो । सोही निर्णयअनुसार ड्रइङ÷डिजाइन तथा नक्सा पास लगायतका काम सम्पन्न भयो । उक्त कार्यका लागि सरकारले रु।१ करोड ७ लाख खर्च गरिसकेको महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
भवन निर्माणका लागि सानो ठिमी स्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको परिसरमा सरकारले तयारी थालेको भए पनि यसले उचित गतिलिन नसकेको शिक्षा मन्त्रालयका उच्च अधिकारीले बताए । ‘जमलमा व्यापारिक कम्पेस बनाउन त्रिभुवन विश्वविद्यालयको एक समूह लाग्यो’ ती अधिकारीले भने, ‘व्यापारी समूहको एक गिरोह र त्रिविका केही व्यक्तिको मिलेमत्तोमा पुस्त्कालय बनेन, पुस्तक अलपत्र परे। ।’
जमलमा किन बनेन पुस्तकालय ?
शिक्षाविद्, अभियन्तालगायतको सुझावमा जमलमा भवन निर्माण थालनी गरिएको भए पनि रोकियो । शिक्षाविद्ले राष्ट्रिय पुस्तकालयलाई राष्ट्रिय गौरवको विषयका रूपमा लिनुपर्ने सुझाउँदै आएका छन् । शिक्षाविद् केदारभक्त माथेमाका अनुसार राष्ट्र चिनाउन राष्ट्रिय पुस्तकालय आवश्यक छ । ‘राष्ट्रिय पुस्तकालय भनेको कुनै सहरको कुना या गाउँबस्तीमा होइन, सुविधा सम्पन्न सहरको बीचमा हुनुपर्छ,’ उनले भने , ‘राष्ट्रिय सम्पत्ति, इतिहास तथा राष्ट्र चिनारीको पहिचान बोकेका विषयवस्तुको संरक्षणका लागि सरकार पछि हट्नु हुँदैन, यो कुना त्यो कुना होइन प्रमुख सहरका विचमा भवन निर्माण गरेर सबै अभिलेखको संरक्षण गरिनुपर्छ ।’
जमल मै पुस्तकालय बन्छः मन्त्रालय
जमलमा बन्ने तयारी अवस्थामा रहेको जग्गा नेपाल राष्ट्रिय पुस्तकालयको नै भएको हुनाले सोही स्थानमा पुस्त्कालय बन्ने मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘यो जग्गा शिक्षा मन्त्रालयको थियो त्रिभुवन विश्वविद्यालय २०२८ सालपछि स्वयत्त भएर गएपछि उसको भोगाधिकार पनि खोसियो, पुस्तकालयको नाममा जग्गा छ जमलमा नै बन्छ ।’ उनले भने, ‘पुस्तकालय सबैको पहुँचमा हुनुपर्छ त्यसैले सानोठिमी भन्दा जमल नै पुस्तकालयका लागि ठिक हुन्छ ।’
सानो ठिमीको शिक्षा मन्त्रालयको स्वामित्वमा रहेको जग्गामा छोटो समयको व्यवस्थापनका लागि प्रि प्याब हाउस बनिसकेको र केही दिनमा नै सबै पुस्तकको व्यवस्थापन सोही ठाउँमा सुरक्षित तरिकाले स्थानान्तरण गरिने मन्त्रालयले जानकारी दियो ।