शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समायोजित विद्यालयका कर्मचारीलाई समायोजन भएको विद्यालयमा विद्यार्थी संख्या र आवश्यकता अनुरुप समायोजन गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ ।
केन्द्रले दिएको निर्देशनमा समायोजित विद्यालयमा विद्यालय कर्मचारीको आवश्यकता नहुने भए सम्बन्धित स्थानीय तहले आफ्नो क्षेत्रभित्रको अन्य आवश्यक विद्यालयमा पठाउन निर्देशन दिएको हो ।
नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रीय समिति, काठमाडौंले विद्यालय समायोजन एवम् एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७ अनुसार विद्यालय समायोजन गर्दा शिक्षक तथा बालविकास सहयोगी कार्यकर्ताको समायोजनको विषय उल्लेख भएको, विद्यालय कर्मचारी बारे स्पष्ट नहुँदा तलब भत्ता लगायत व्यवस्थापनमा समस्या परेको भन्दै मन्त्रालयमा निवेदन दिएका थिए ।
सो विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको चैत्र २० को मन्त्रीस्तरीय निर्णय अनुसार यस्तो निर्देशन दिएको हो । स्थानीय तहभित्र त्यस्ता कर्मचारीको व्यवस्थापन गर्न आवश्यक नभए स्थानीय तहले सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने र इकाइले जिल्ला भित्रको कर्मचारी आवश्यक पर्ने विद्यालयमा पठाइ व्यवस्थापन गर्न निर्देश्न दिएको हो ।
दीर्घकालीन व्यवस्थापन नहुञ्जेलसम्मका लागि समायोजन भएकै विद्यालयमा कामकाज गर्ने र सो अवस्थामा समायोजन भएकै विद्यालयमा एकभन्दा बढी विद्यालय कर्मचारीको लागि अनुदान रकमको व्यवस्थापन गर्ने, ती कर्मचारी सेवाबाट हटेमा वा अन्यत्र विद्यालयमा गई रिक्त भएको अवस्थामा नयाँ नियुक्ति नगर्ने व्यवस्था सबै स्थानीय तह, र नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रीय समितिलाई पत्राचार गरिएको केन्द्रका शाखा अधिकृत भुवनेश्वर जोशीद्वारा जारी गरिएको सूच्नामा उल्लेख गरिएको छ ।