प्रगतिशील प्राध्यापक सङ्गठनको ११औँ सम्मेलन वैशाख ८ गतेदेखि

काठमाडौँ, ७ वैशाख ः नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११औँ सम्मेलन यही वैशाख ८ र ९ गते हुने भएको छ । 

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित स्मृति भवनमा हुने सम्मेलनमा विभिन्न विश्वविद्यालहरूमा रहेका समस्याबारे छलफल हुनुका साथै तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरिने जनाइएको छ । 

सङ्गठनका उपाध्यक्ष डा तिलक भुसालले ‘पेसागत सुरक्षा र आत्मसम्मान, अनुसन्धानमूलक र गुणस्तरीय शिक्षा हाम्रो अभियान’ भन्ने मूल भावका साथ सुरु हुने सम्मेलनमा देशभरका करिब सात सय प्रतिनिधिको सहभागिता रहने जानकारी दिनुभयो । सम्मेलनमा विश्वविद्यायलयलाई पारदर्शी, प्रतिस्पर्धी, विद्यार्थी तथा अभिभावकमैत्री बनाउने विषयका साथै विश्वविद्यालयको छाता ऐन निर्माणका लागि जोड दिइने उहाँले बताउनुभयो । 

“सम्मेलनमा सबै विश्वविद्यालयलाई समेट्ने गरी एकीकृत छाता ऐन निर्माण, आंशिक र करार सेवामा कार्यरत प्राध्यापकहरूको समस्या, पदोन्नति, वृत्तिविकास, पेन्सनलगायत व्यवस्थाबारे गम्भीर छलफल हुनेछ”, उपाध्यक्ष डा भुसालले भन्नुभयो । 

सङ्गठनका सचिव देवराज अर्यालले विश्वविद्यालयलाई प्राज्ञिक थलोको रूपमा विकास, हाल देखिएका समस्याको दिगो समाधान, सामुदायिक क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरूको स्तर निर्धारण गर्न सङ्गठन प्रतिबद्ध रहेको र यसमा सम्मेलनले महत्वपूर्ण निर्णय गर्ने बताउनुभयो ।

विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतालाई कायम राखी उच्च शिक्षालाई अन्तरराष्ट्रियस्तरको बनाउन विश्वविद्यालय शैक्षिक प्रणाली र संरचनागत सुधार गर्नतर्फ सङ्गठनले आवश्यक पहल कदमी लिने उहाँले बताउनुभयो ।

सङ्गठनमा त्रिविलगायत विश्वविद्यालय र अन्तर्गतका आंज्ञिक एवं सम्बन्धन प्राप्त क्याम्पसमा कार्यरत प्राध्यापकसहित करिब १० हजार जना आबद्ध रहेका छन् ।