कक्षा ११ पछि डरलाग्दो ड्रप आउट दर

माध्यमिक शिक्षा परीक्षा (एसईई) पछि गुणस्तरीय शिक्षाको खोजीमा राजधानी लगायतका अन्य सहर छिरेका विद्यार्थीहरूले जेनतेन कक्षा ११ पुरा गरेपनि धेरै विद्यार्थीले कक्षा पुरा गर्ने गरेका छैनन् ।

गत वर्ष काभ्रेबाट गुणस्तरीय शिक्षाको खोजीमा काठमाडौं आएकी सविना तामाङ विगत केही महिना अघिदेखि विद्यालय जान छोडेकी छिन् । उनलाई विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणले मात्र विद्यालय जान रोकेको भने होइन । उनी यस अघिदेखि नै विद्यालय जान छाडेकी हुन् । उनी कामको खोजीमा काठमाडौंको गल्ली चार्हादा चाहर्दै विद्यालयमा धेरै दिन जान सकिनन् । उनले पैसाकै लागि एक ग्यास कम्पनीमा ग्यास पाइप, रेगुलेटर, चुलो लगायतका विभिन्न सामान बेच्न उनी काठमाडौं भक्तपुर र ललितपुरका विभिन्न बस्ती र घरमा पुगिन् । उनले यही काम गर्दागर्दै गत फागुनदेखि विद्यालय जानै सकिनन् ।

तिमाल गाउँपालिकास्थित नारायणस्थान माध्यमिक विद्यालयबाट कक्षा १० पूरा गरेकी उनले ११ कक्षा भन्दा माथि पढ्न सकिनन् । अहिले उनी लकडाउन खुल्ने बितिकै घर जाने तरखरमा बसेकी छिन् ।

एसईई सकिएको भोलिपल्टै उनी काठमाडौंको एक स्थानीयको साथ लागेर कामसँगै गुणस्तरीय शिक्षार्जन गर्ने उद्देश्यले सहर पसिन्् । उनलाई ती व्यक्तिले कक्षा १२ सम्म पढाइदिने भन्दै घरैबाट लिएर आए । उनी काठमाडौंकै एक सामुदायिक विद्यालयमा कक्षा ११ मा भर्ना त भइन् तर ११ पनि पूरा गर्न सकिनन् । कारण त्यो मानिसले चार महिनापछि नै खर्च व्यहोर्न नसक्ने भन्दै उनको खर्च व्यहोर्न अस्विकार गरिदियो । त्यसपछि उनले बाध्य भएर बिचैमा पढाइ छाडिन् ।

‘पढाउँछु भनेर ल्याएका मान्छेले बिचमा पढाउन नसक्ने बताएपछि, बिचैमा पढाइ छाड्न बाध्य भएँ, गाउँमै भएको भए बरु जेनतेन गरी कक्षा १२ सम्म पढ्थेँ, काठमाडौंमा पढ्न भनेर आएको, बिचैमा छाड्नु प¥यो ।’ उनले भनिन् ।

ललितपुरको श्रृङ्गेरी माविमा कक्षा १२ मा पढ्दा पढ्दै संजय कार्की विदेश जाने भए । एसईई सकिएपछि नै पासपोर्ट बनाएका उनले कामको लागि दुबईमा जाने प्रक्रिया बुझिरहेका थिए । ‘पढेर पनि काम नै गर्नु हो, धेरै पढेर के गर्न सकिन्छ र ? बरु काम गरे, बेलैमा कमाइन्छ भनेर पासपोर्ट बनाइरहेको थिएँ, कक्षा १२ पढ्दापढ्दै फ्याट्ट दुबइमा काम गर्ने अवसर मिल्यो, कामभन्दा पढाइ ठूलो हैन भन्ने लागेर बिचैमा पढाइ छोडेँ’ उनले सुनाए ।

सविना र संजय त प्रतिनिधि पात्रमात्र हुन् । एसईई सकिएपछि धेरै विद्यार्थीहरू कक्षा ११ मा भर्ना त हुन्छन् । तर कक्षा १२ भने पूरा गर्दैनन् । बिचैमा कताँ हराउँछन् हराउँछन् । यो समस्या कुनै एउटा गाउँ, टोल वा क्षेत्रको मात्र होइन सिंगो राष्ट्रकै समस्या भएको विद्यालयका प्रधानाध्यापक, शिक्षाविद् तथा शिक्षा मन्त्रालय समेत स्विकार गर्छन् ।

अर्थ मन्त्रालयको पछिल्लो आर्थिक सर्वेक्षण अनुसार माध्यमिक शिक्षा अन्तर्गत कक्षा १० सम्मको टिकाउ दर क्रमश ः २०७२ मा ३७.९ प्रतिशत, २०७३ मा ४५.२, २०७४ मा ५७.१ र २०७५ मा ५८.५ प्रतिशत भएको उल्लेख गरेको छ ।

कक्षा ११ को सोही तथ्यांक रहेको छ भने कक्षा १२ सम्मको टिकाउ दर भने गतिलो छैन । प्रकाशित सर्वेक्षण अनुसार २०७२ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये ११.५ प्रतिशत विद्यार्थीमात्र कक्षा १२ पुग्ने गरेका छन् । वि.सं. २०७४ मा १७.१ र २०७५ मा २२.२ प्रतिशत विद्यार्थीले मात्र कक्षा १२ सम्म अध्ययन गरेको भयावह तथ्यांक सार्वजनिक भएको छ । २०७३ मा कति विद्यार्थीले कक्षा १२ पढे ? भन्ने वास्तविक तथ्यांक सरकारसँग छैन ।

विद्यार्थीहरूको ड्रप आउट बढ्नुमा स्वयम् शिक्षक र अभिभावकको कारण भएको रोम्बस सेकेण्डरी स्कुलका प्रिन्सिपल डा. राजेन्द्र कोजू बताउँछन् । उनले कक्षा १० मा पुगेका विद्यार्थीलाई विद्यालय, शिक्षक र अभिभावकको दबाब पर्न जाँदा परेको असरका कारण कक्षा ११ मा विद्यार्थी नटिक्ने गरेको बताए । ‘एसईईसम्म उनीहरू निकै दबाबमा हुन्छन्, स्कुलले पनि, घरमा पनि, सरमिसहरूले पनि खाली पढ् पढ, राम्रो ग्रेड ल्याउनुपर्छ भन्दा उनीहरू स्वतन्त्र भएको अनुभव गर्न पाउँदैनन्, जब एसईई सकिन्छ, उनीहरू स्वतन्त्र हुन्छन्, अनि के पढ्नु भनी पढाइ छोड्छन् ।’ उनी भन्छन् ।

यस्तै माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टोन) का अनुसार कक्षा ११ मा भन्दा कक्षा १२ मा ड्रप आउटको समस्या बढी देखिएको छ । सो कक्षामा पढ्ने छात्रहरू कामको खोजीमा जाने र छात्राहरू भने बिह गर्ने हुँदा बिचैमा पढाइ छाड्नेको दर बढी देखिएको हो ।

कक्षा ११ र १२ मा विद्यार्थी टिकाउन नसक्नुमा शिक्षा नीतिकै कमजोरी रहेको शिक्षाविद्को धारणा छ । ‘ड्रप आउटको संख्या भयावह छ, यस्तो हुनुमा केही नीतिगत समस्या छन् ।’ शिक्षाविद् विद्याथानाथ कोइरालाले भने, ‘पाठ्क्रममा भएको गल्तीमा सुधार नगरिनु र सरकारले आवासीय विद्यालय नबनाएको कारण ड्रप आउटको समस्या बढेको हो ।’

उनले वर्तमान शिक्षा प्रणालीलाई अर्थोपार्जन प्रक्रियासँग जोड्न नसक्दा विद्यार्थीलाई उत्साहित नबनाएको जानकारी दिँदै पढाइदेखि दिक्क भएका विद्यार्थीले बीचैमा पढाइ छोड्ने गरेको बताए । ‘पढेर के गर्नु, जागिर खान सकिन्न, जागिर खान सोर्सफोर्स चाहिन्छ, बरु विदेश गयो, बेलैमा कमायो भन्ने सोचका धेरै विद्यार्थी छन् ।’ उनले भने, ‘जेनतेन एसईई गरिहालियो, अब किन पढ्ने भन्छन् ? यसको गतिलो जवाफ शिक्षकले दिन सक्दैनन्, अनि बिचैमा विद्यालय छोड्छ्न् ।’

हिसानका अध्यक्ष रमेश सिलवाल भने निजी स्कुल÷कलेजहरूको तुलनामा सामुदायिक स्कुल÷कलेजमा विद्यार्थीको ड्रपआउट दर बढी रहेको बताउँछन् । उनी भन्छन्, ‘निजी स्कुल÷कलेजहरूमा मुस्किलले ० दशमलव ५ प्रतिशत विद्यार्थीले मात्र बिचैमा पढाइ छोड्छन् ।’

कोही पढ्न नसकेर त कोही प्राविधिक शिक्षामा गएर पनि बिचैमा पढाइ छाड्ने गरेका विद्यार्थीहरू छन्, थोरैले भने शुल्कको कारण छाड्छन्’, उनले भने, ‘केटाहरू खाडी मुलुकतिर त कोही युरोप अमेरिकातिर लाग्छन्, यसले गर्दा कति सामुदायिक प्लस टुहरू छोरी बुहारी पढ्ने कलेजमा रुपान्तरण भइ रहेका छन् ।’