Thuprai - Books and E-books

एकातिर प्रविधिमैत्री सिकाइ अर्कोतिर धुलाम्मे कक्षा कोठा

Admission edusanjal

फाट्ट फुट्ट विद्यार्थी । कुनै कक्षामा खचाखच विद्यार्थी । कतै धुलाम्मे डेक्सबेन्च बाहिरैबाट देखिन्छ । अधिकांश कक्षा कोठामा खियालागेको ताला झुन्डाइएको छ । बाहिर चउरमा गाईवस्तु चरिरहेका छन् । प्रायः क्याम्पसको प्रशासन शाखा हुने प्राय सुनसान हुने महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर क्याम्पस न्छ । पुस्तकालयमा कर्मचारी मात्रै छन् । 

सोही कलेजको अर्को विभागमा सेतो सर्ट, कालो पाईन्ट र टाईमा सजिएका विद्यार्थीको चाप बाक्लो देखिन्छ । कक्षा कोठा पनि प्रविधिमैत्री छन् । कक्षाकोठाको व्यवस्थापन आधुनिक तरिकाले गरिएको छ । बीबीएका विद्यार्थीलाई पढाउनका लागि हेर्दै मनमोहक कक्षाकोठाको व्यवस्था गरिएको छ ।

यो क्याम्पसमा केही वर्ष अघिसम्म भरिभराउ विद्यार्थी हुन्थे । एउटै संकायको पठनपाठन पनि तीन ‘सिफ्ट’मा चलाउनु पथ्र्यो । विद्यार्थी सिट नपाएर उभिएर पढ्थेें । १० हजारभन्दा बढी विद्यार्थी हुन्थे । अहिले आधा पनि छैनन् । तर पनि क्याम्पसले अहिले दुई सिफ्टमा कक्षा सञ्चालन गर्ने गरेको छ । बिहानी सत्रमा मानविकी, व्यवस्थापन, एमएस्सीको फिजिक्स तथा केमेस्ट्री र जनप्रशासन विषयको कक्षा हुने गरेको छ । आन्तरिक तर्फका धेरै कक्षा दिउँसो सञ्चालन हुने गरेको छ ।

यो क्याम्पसमा बीबीएमा भने अहिल ेपनि विद्यार्थीको आकर्षण उस्तै छ । यो विषय पढ्नका लागि धेरै विद्यार्थीबिच प्रतिष्पर्धा हुने गरेको छ । निश्चित कोटा भएकाले बीबीएमा नाम निकाल्न कठिन हुने गरेको विद्यार्थी बताउँछन् । महेन्द्र मोरङको बीबीए धेरै राम्रो भएकाले यही पढ्न आएको विद्यार्थी एन्जीला पन्तले बताईन ।

त्रिभुवन विश्वविद्यालयको स्थापना हुनुपर्व विराटनगरमा २०१२ सालमा स्थापना भएको महेन्द्र मोरङ क्याम्पसले पहिले भारतको पटना विश्वविद्यालयबाट संवन्धन प्राप्त गरी पठन पाठन सुरु गरेको थियो । त्रिविको स्थापनापछि पटना विश्वविद्यालयसँगको संवन्धन तोडियो ।

नेपालका विभिन्न भू–भागका साथै भारतबाट समेत विद्यार्थी महेन्द्र मोरङ क्याम्पस आउने गर्थे । एउटै सेक्सनमा १ सय सम्म विद्यार्थी हुन्थे । २०४१ सालदेखि शिक्षण गर्दैं आएाक बाबुराम तिमल्सेना अहिले क्याम्पस प्रमुख छन् । उनले भने, ‘विद्यार्थीको चाप धेरै भएपछि १७ वटासम्म सेक्सन बनाउनु परेको थियो । क्याम्पस पुरै भरिभराउ हुन्थ्यो ।’ अहिले बढीमा तीन वटा सेक्सन मात्र छन् ।

साढे २२ विघा क्षेत्रफलमा फैलिएको महेन्द्र मोरङ क्याम्पसमा २ वटा छात्रावास, एउटा पुस्तकालय छ । भवन धेरै छन् । क्याम्पस प्रमुख तिमल्सेनाले भने,‘क्यापसका अधिकांश भवन जीर्ण छन् । धेरै पुरानो भवन भएकाले काम नदिने अवस्थामा पुगेका छन् ।’ अधिकांश भवनहरु टालटुल गरेर काम चलाई रहेको उनको भनाई छ ।

क्याम्पसमा लजिक र होम साईन्सका विद्यार्थी नै छैनन् । केही वर्षदेखि यी दुवै विषयमा विद्यार्थी शून्य छन् । यी विषय पढाउने प्राध्यापक पनि रिटायर्ड भइसकेका छन् । संस्कृति, इतिहास, राजनीतिशास्त्र, अर्थशास्त्र विषयमा पनि विद्यार्थी कम छन । संस्कृति र इतिहासमा १० जना मात्र विद्यार्थी छन् ।

महेन्द्र मोरङ क्याम्पसले पछिल्ला बर्षहरुमा नयाँ विषय थप गरेको छ । जसका कारण विद्यार्थी संख्या बर्षेनि बढ्दो क्रममा छ । आन्तरिक तर्फको पठनपाठन शुरु भएपछि विद्यार्थी सख्या बढ्दै गएको हो । नियमित तर्फ विद्यार्थी घट्दो क्रममा रहेका बेला आन्तरिक तर्फभने क्याम्पसमा विद्यार्थी बढी रहेका छन् । नियमित तर्फ हरेक वर्ष विद्यार्थी भर्ना कम भईरहेको छ । नियमितको विज्ञान संकायमा भने विद्यार्थी संख्या बढी नै रहेको क्याम्पस प्रमुख तिमल्सेनाले बताए । अहिले मेट्रियोलोजी,  बीबीएम,  बीबीए, वीपीएच, वीएस्सी सिएसआईटी,  बीबीए, वीसीए, सोसलवर्क, पत्रकारिता, ग्रामीण विकास, एमए (अंग्रेजी) एमपीए, एमवीएस आन्तरिक तर्फ गरिएका संकाय हुन । नियमित तर्फ विज्ञान संकायको फिजिक्स, केमेस्ट्री, बोटानी र जुलोजी छन् । व्यवस्थापन तर्फ  बीबीएस र बीए छन् । क्याम्पसले एमएड र एलएलएम आगामी शैक्षिक शत्रदेखि शुरु गर्दै छ । यसका लागि सम्पूर्ण प्रकृया पुरा गरिसकिएको प्रमुख तिमल्सिनाले जानकारी दिए ।

आंशिक सहित २ सय प्राध्यापक, ५५ जना प्रशासनिक कर्मचारी र २९ जना सहायक छन् । पुराना कर्मचारीहरुको अहिले धमाधम अवकास पनि भईरहेको छ । क्याम्पसले नयाँ कर्मचारी थप गर्ने सोच नबनाएको क्याम्पस प्रमुख तिमल्सेनाले बताए ।

पूर्व क्षेत्रको पुरानो महेन्द्र मोरङ क्याम्पसलाई २०२४ सालमै विश्वविद्यालय बनाउने प्रस्ताव गरिएपनि अहिलेसम्म पनि त्यसले सार्थकता भने पाएको छैन । भौतिक संचरना जीर्ण भएकाले क्याम्पस प्रशासनले पनि विश्वविद्यालय बनाउनका लागि पहल गरेको छैन । क्याम्पस प्रमुख तिमल्सेना भन्छन्,‘पहिले भौतिक पूर्वाधार राम्रो हुनु पर्‍यो ।’

नयाँ भौतिक संरचना निर्माणका लागि क्याम्पसले पहल भने नगरेको हैन । तर सम्बन्धित निकायले चासो नदेखाउँदा भौतिक संरचनाहरु ढल्ने अवस्थामा पुगेका छन् । पुनर्निमाणका लागि राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय लगायतका स्थानमा ३२ करोड ८ लाखको योजना प्रस्ताव गरेको छ । योजना स्वीकृति भएको खवर क्याम्पसले अहिले सम्म पाएको छैन । पुराना भौतिक पूर्वाधारका कारण सवैभन्दा बढी जोखिममा पुस्तकालय रहेको छ । २०७२ सालको भूकम्पका कारण पुस्तकालयको भवन चिराचिरा परेको छ । जुनसुकै बखत भवन भत्कने सक्ने पुस्तकालयका इन्चार्ज आनन्दप्रसाद चौधरीले बताए । उनले भूकम्पका कारण भवन सवै चर्किएको देखाए ।

भवन भत्कदै गएको र वुक र्‍याक नहुँदा पुस्तकालयमा पुराना कितावहरु असरल्स छन् । कुनै कुनै पुस्तकहरु धमिराले पनि खाईसकेको छ । ८१ हजार ४ सय ३५ वटा किताव रहेको पुस्तकालयमा पुराना कितावहरुलाई जोगाउन समस्या रहेको इन्चार्ज चौधरीले बताए ।

महेन्द्र मोरङमा अध्ययन गरेर धेरै व्यक्ति उच्च ओहदामा पुगे । तर तिनले क्याम्पसलाई फर्केर नहेर्दा क्याम्पस दिनदिनै जीर्ण बन्दै गएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी,पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व मन्त्रीहरु महेश आचार्य, डा. मीनेन्द्र रिजाल लगायतका व्यक्तिहरु महेन्द्र मोरङकै उत्पादन हुन । देशको उच्च तहमा पुगेको व्यक्तिहरुले पनि क्याम्पसलाई खासै माया गर्न नसकेको क्याम्पस प्रमुख तिमल्सेनाको गुनासो छ ।

शिक्षा र राजनीतिक परिवर्तनमा महेन्द्र मोरङ क्याम्पसको ठुलो भूमिका रहेको पूर्र्व स्ववियु सभापति महेश रेग्मी बताउँछन् । कीर्तिपुर क्याम्पस पछिको राजनीतिक महत्व महेन्द्र मोरङले राख्ने गरेको उनले बताए । ऐतिहासिक क्याम्पस भएकाले राज्यले पनि प्राथमिकता दिएर भौतिक पूर्वाधारमा लगानी गर्नुपर्ने उनको भनाई छ । क्याम्पसले अहिले गतिलिँदै गएकाले नयाँनयाँ विषय थप गर्दै जानु पर्ने रेग्मीले बताए ।