शिक्षक, शिक्षण र प्रभावकारी विद्यालय

शिक्षक शब्दलाई विभिन्न दृष्टिकोणबाट व्याख्या गरिए पनि एउटा असल र प्रभावकारी शिक्षक विषयगत ज्ञान र दक्षता, पेशागत दक्षता, कला विज्ञान र प्रविधिको दृष्टिकोणबाट दक्ष, शैक्षिक रणनीतिको प्रयोगकर्ता, नयाँ शैक्षिक रणनीति खोजी गर्न सक्ने, कक्षा व्यवस्थापन र समय तालिकाअनुसार आफूलाई परिवर्तन गर्न सक्ने, शैक्षिक सिद्धान्तहरु र समय सुहाउँदो विशिष्ट अन्तरवार्ता राख्ने, विशिष्ट व्याख्याकर्ता, राम्रो प्रश्नकर्ता र नजिकबाट मार्ग निर्देशन गर्ने प्रवचक हो । 

एउटा असल शिक्षकसँग विद्यार्थीहरुको विकासात्मक विशेषता, सांस्कृतिक, सामाजिक, भौगोलिक अवस्था र विषयवस्तुसँग सम्बन्धित पूर्व ज्ञान थाहा पाउन सक्ने क्षमता हुनु अति आवश्यक मानिन्छ । त्यसैले नेपाल सरकारले पनि २०७२ चैत्र ३ गतेदेखि लागु हुने गरी शिक्षकका आठ वटा सक्षमता निर्धारण गरेको छ :

विषयवस्तुको ज्ञान, शिक्षण सिकाइका तौरतरिकाको ज्ञान, बालबालिका वा सिकारु सम्बन्धित ज्ञान, सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन, सञ्चार तथा सहकार्य, निरन्तर सिकाइ र पेशागत विकास, कानुनी आधार तथा पेशागत, आचारसंहिता, सूचना तथा सञ्चार प्रविधिको ज्ञान शिक्षकमा हुनुपर्दछ । विद्यार्थीको दृष्टिकोणमा कस्ता शिक्षकहरुलाई असल वा प्रभावकारी शिक्षकको रुपमा हेरिरहेका हुन्छन् त ? जुन शिक्षक स्नेही स्वभाव, सबैप्रति निष्पक्ष, सबै खालका विचारलाई सम्मान गर्ने, सक्रिय र समानुभूतिजन्य सीप व्यक्तिगत विभिन्नताको ज्ञान, मनोवैज्ञानिक ज्ञान र सीप, उपयुक्त शिक्षण विधि छनोट गर्नसक्ने सीफ, अतिरिक्त र सहत्रियाकलापको महत्व बुझेको, सकारात्मक अनुशासन पद्धतिको प्रयोग गर्नसक्ने, विद्यार्थीलाई निरन्तर पृष्ठपोषण र पुर्नबल दिनसक्ने, आफ्नो पेशाप्रति गर्व गर्ने र पेशामा रमाउने धैर्यवान सहनशील मित्रवत् स्वभाव भएको आदर्श व्यक्ति असल र प्रभावकारी शिक्षक हुन् । मलाई साह्रै मनपरेको तर मैले कतै भेट्टाएको तथ्य यहाँ उल्लेख गर्न चाहन्छु । शिक्षकलाई निम्नलिखित उपनामले पनि चिनिन्छ : जीवन जिउने तरिकाको सिकाइकर्ता, उत्प्रेरक, खोज अनुसन्धनात्मककर्ता, यात्रा समन्वयक, समन्वयकर्ता, स्वागतकर्ता, नियम लागुकर्ता आँखा देखाउने, प्रेरणाको स्रोत, आयोजक, तालिका निर्माणकर्ता, सजावटकर्ता, वास्तविकता परीक्षक, आर्थिक सङ्कलक, प्राविधिक, सिकाइकर्ता, कार्यक्रम निर्माणकर्ता, सपना देखाउने, मनोरञ्जनकर्ता, सल्लाहकार आदि तर हालको शिक्षक प्रविधिमैत्री हुनु नितान्त आवश्यक छ ।

शिक्षण पेशा 

शिक्षण पेशा भनेको वास्तवमा पेशा नभएर सेवा हो भन्ने ठान्दछु । किनभने मैले जति समय शिक्षण सेवामा लगाइरहेको छु ती सबै अनुभवले म आफू जहिले पनि सेवा र सहयोगको भावना हरक्षण आइरहेको हुन्छ । ती विचार र भावनाले जनताको उन्नति र प्रगतिको लागि हमेशा प्रेरित गरिरहेको हुन्छ । 

शिक्षणलाई कला र विज्ञानको समायोजनको रुपमा लिइएको पाइन्छ । जसलाई शिक्षक केन्द्रित प्रवचन, विद्यार्थी केन्द्रित खोज, साधारण सिद्धान्तको प्रयोग र परिस्थितिअनुसारको विशिष्ट अभ्यासको रुपमा परिभाषित गरिन्छ । 

विभिन्न मनोवैज्ञानिकहरुले शिक्षणलाई एउटा कलाको रुपमा लिने गरेको पाइन्छ । विद्यार्थीको ज्ञानलाई पुर्नसंरचना गर्नु चिन्तनलाई अझ स्पष्ट र पूर्णता दिनु शिक्षण हो । यसैगरी शिक्षण भनेको पूर्ण र सही ज्ञान विद्यार्थीहरुमा हस्तान्तरण र प्रस्तुत गर्नु हो । विद्यार्थीहरुले त्यस्तो शिक्षणलाई राम्रो मान्छन् जुन सिकाइमा निम्न कुराहरु समेटिएको हुन्छ : व्यक्तिगत भिन्नता, सक्रिय सहभागिता र सिकाइ, निरन्तर पृष्ठपोषण र पुनर्बल, तत्परता अथवा प्रेरणा, समस्यामूलक सिकाइ सहजीकरण, भावनात्मक तथा व्यवहारिक समस्याको व्यवस्थापन र अशाब्दिक सन्चार । त्यसैले शिक्षण भनेको कला हो, जसको माध्यमबाट आफूले पढेको परेको सिकेको ज्ञान, सीप र अनुभवको हस्तान्तरण गरिन्छ । यो जीवन अवधिभर चलिरहने निरन्तर पद्धति पनि हो ।

प्रभावकारी विद्यालय

प्रभावकारी विद्यालय भन्ने वित्तिकै जुन विद्यालयको शैक्षिक, प्रशासनिक, भौतिक, आर्थिक, सामाजिक एवम् वातावरणीय पक्षहरु विद्यार्थी एवम् शिक्षक कर्मचारीमैत्री रहेको हुन्छ । ती विद्यालयलाई प्रभावकारी विद्यालय भनिन्छ । कुनै पनि विद्यालय प्रभावकारी विद्यालय बन्नको लागि समुदाय विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यालयलाई माया गर्ने शिक्षा प्रेमी एवं समाजसेवीको भूमिका अटुटरुपमा रहिरहनु पर्दछ । त्यसैले एउटा असल प्रभावकारी विद्यालयका विशेषताहरुमा निम्न पक्षलाई स्पष्टसँग समेटिएको हुनुपर्दछ :

१) विद्यालयको स्पष्ट लक्ष्य निर्धारण गरिएको हुन्छ : अल्पकालीन र दीर्घकालीन लक्ष्य बनाइएको हुन्छ । लक्ष्य निर्धारण गर्न विद्यार्थीको शैक्षिक सामाजिक, आत्मिक तथा शारीरिक विकासलाई विशेष ध्यान दिइएको हुन्छ । लक्ष्य प्राप्ति भए नभएको नियमितरुपमा समीक्षा गरिएको हुन्छ । लक्ष्य निर्धारणमा शिक्षक, विद्यार्थी, अभिभावकको सक्रिय संलग्नता गराइन्छ । 

२) विद्यालयको नेतृत्व स्पष्ट र दृढ हुन्छ : शिक्षक तथा विद्यार्थीको दैनिक अनुभवको स्पष्ट जानकारी राखी राम्रो काममा प्रोत्साहित गरिन्छ । विद्यालयको समस्याप्रति संवेदनशील हुने विद्यालयको हरेक काम वा हरेक खालको निर्णय लिँदा शिक्षक, विद्यार्थी, अभिभावक सबै पक्षको सामूहिक सहभागितामा जोड दिइन्छ ।

३) विद्यार्थीको सिकाइमा विशेष जोड दिइन्छ : सबै विद्यार्थीले सिक्न सक्छन् भन्ने विश्वास राखिन्छ । विद्यार्थीको व्यक्तिगत विभिन्नतालाई विशेष ध्यानमा राखिन्छ । विद्यार्थीहरुको प्रगतिको निरन्तर मूल्याङ्कन तथा सञ्चालनमा जोड दिइन्छ । भावनात्मक वातावरणलाई पनि महत्व दिइन्छ । 

४) शैक्षणिक क्रियाकलापमा जोड दिइन्छ : प्रभावकारी शैक्षणिक क्रियाकलापमा विद्यालयको सम्पूर्ण शक्तिको लगानी गरिएको हुन्छ । प्रभावकारी कक्षाकोठाको व्यवस्थापन गरिएको हुन्छ । सम्भव भएसम्म अतिरिक्त कक्षाको व्यवस्थापन गरिएका हुन्छ । विद्यालय प्रशासनलाई शिक्षकमैत्री बनाइएको हुन्छ । सकारात्मक पृष्ठपोषण र पुनर्बललाई प्रोत्साहित गरिएको हुन्छ । 

५) व्यवसायिक विकासमा जोड दिइन्छ : शिक्षकलाई व्यवसायिक सीप विकासका लागि जोड दिइन्छ । जीवन पर्यन्त सिकाइको अवधारणालाई शिक्षकहरुमा स्थापित गर्ने प्रयास गरिन्छ । 

६) सुरक्षित वातावरणको सिर्जनामा जोड दिइन्छ : आपसी सम्मान र शुद्ध आचरणमा जोड दिइन्छ । शिक्षक, विद्यार्थी तथा अभिभावक बीचको सकारात्मक सम्बन्धमा जोड दिइन्छ । विद्यार्थीमा पठन सीपको वातावरणमा निर्माणमा जोड दिइन्छ । 

७) विद्यार्थीहरुको सहझागितामा जोड दिइन्छ : सबै विद्यार्थीहरुलाई सह तथा अतिरिक्त त्रियाकलापमा भाग लिने समान अवसर प्रदान गरिन्छ । सिकाइ क्रियाकलापमा बढीभन्दा बढी विद्यार्थी सहभागितामा जोड दिन्छ । विद्यालयको विभिन्न निर्णय प्रक्रियामा विद्यार्थीहरुलाई सहभागी गराउने प्रयास गरिन्छ । 

निष्कर्ष

कुनै पनि कुरा सिक्न र प्राप्त गर्न विद्यार्थी अर्थात् सिकारु आफैले प्रयत्न गर्नुपर्छ तर सिक्ने र प्रयत्न गर्ने सिलसिलामा सिकारुलाई सहयोग वा मार्ग निर्देशनको आवश्यकता पर्दछ त्यसको भूमिका शिक्षकले निर्वाह गर्न सक्दछ । सकारात्मक व्यवहार वा सहयोगले विद्यार्थीको सिक्ने क्षमतामा वृद्धि वा हौसला प्रदान गर्दछ । सिक्नका लागि अनुकूल वातावरण विद्यालयले निर्माण गर्न सक्दछ । जसले प्रभावकारी सिकाइ गराउन सहयोग गर्दछ । २०७६ सालको चैत्र ११ देखि मुलुकमा भएको लकडाउनले सबैभन्दा बढ्ता प्रभावित शैक्षिक क्षेत्र नै देखिएको छ । विद्यार्थीको पठनपाठनलाई सहजीकरण गर्ने भन्दै नेपाल सरकार शिक्षा मन्त्रालयले पठनपाठन सञ्चालनको लागि शिक्षण सिकाइको वैकल्पिक कार्यविधि बनायो । सूचना तथा सञ्चारका विभिन्न साधनलाई प्रयोग गरी पठनपाठन क्रियाकलाप सञ्चालन गर्ने बानी र क्षमता शिक्षक तथा विद्यार्थीमा नहुँदा एवं राज्यका तीनै तहका सरकारको शिक्षण सिकाइ प्रक्रिया सञ्चालनसम्बन्धी असक्षमताका कारण शिक्षक र विद्यार्थी वर्गमा ठुलो मर्का परेको छ । तीन तहका तीन प्रकारका निर्णय, राज्यका नीति निर्माण गर्ने र लागु गर्ने तहमा रहेका विद्धान वर्गहरुको कारण शिक्षकलाई बदनाम गर्ने काम भैइरहेका छ ।

नियमित पठनपाठन, परामर्शको अभावमा शिक्षक र विद्यार्थीमा मानसिक तनाव, उच्च संवेग जस्ता समस्याहरु देखा परेका छन् । धेरै विद्यार्थीहरुको उमेर  खेर जाने र पढाइप्रति वितृष्णा पैदा भई पढाइ छोड्ने अवस्था देखिएको छ । देशका बहुमत विद्यालय, शिक्षक, विद्यार्थीहरु इन्टरनेटको पहुँच बाहिर छन् । जसको कारण देशमा दुई प्रकारका विद्यार्थीको जन्म भएको छ । शिक्षकलाई अब वैकल्पिक तरिकाबाट सोच्न र आफ्ना कार्यशैली परिवर्तन गर्नैपर्ने वाध्यता छ । त्यसैले अबको शिक्षक, शिक्षण र विद्यालय प्रविधिमैत्री हुनु आवश्यक छ किनभने शिक्षा विकासमा यी तीन कुरा एक अर्काको परिपूरक मानिन्छ । कुनै पनि सिकारुलाई सिक्नका लागि उपयुक्त प्रक्रिया, अवसर, आवश्यक स्रोत साधनको व्यवस्था मिलाइ सिक्न सहज र सक्षम बनाउन शिक्षक, शिक्षकको शिक्षण र प्रभावकारी विद्यालय व्यवस्थापनको अहम भूमिका रहेको हुन्छ । 

लेखक पद्मकन्या विद्याश्रम मावि, डिल्लीबजारका विज्ञान शिक्षक हुन् ।