Edusanjal +2 scholarship

भविष्यका कर्णधार बालबालिकाको जिम्मा शिक्षकको

Thuprai - Books and E-books

दैनिक कति घण्टा काम गर्नुहुन्छ लेखाजोखा छैन । कठिन परिस्थितिमा पनि सकारात्मक ऊर्जाका साथ लागि परेमा सफल भइन्छ भन्ने उदाहरण हो काठमाडौंको नील बाराही मावि । सो विद्यालयको आफ्नै जग्गा छैन् । कम्पाउण्ड घेराबारा गर्न सकेको छैन । विद्यालयको सुरक्षाका लागि मन्त्रालय, विभाग, स्थानीय तह वडा कही प्रस्ताव पेस गर्न नछुटाए पनि विद्यालयको घेराबारा हुन सकेको छैन । सरोकारवालाले चासो नदिँदा वर्सौंदेखि यस्तै समस्या झेल्दै आएको विद्यालय सञ्चालन, व्यवस्थापन, योजना निर्माण तथा समग्र महिला शिक्षकको विषयमा विद्यालयका प्रधानाध्यापक तथा महिला शिक्षक समाजका अध्यक्ष डा. जानुका नेपालसंग इडियुपत्रले गरेको कुराकानीको सारसंक्षेपः

विद्यालयको अवस्थाको बारेमा बनाइदिनोस् न ।

२०६२ मंसिर २ गते देखि विद्यालयको प्रधानाध्यापक भएर काम गरेको हुँ । मैले पद सम्हाल्दा जम्मा सय जना विद्यार्थी थिए । भवन थिएन । तीन ओटा टहरामा पठनपाठन हुन्थ्यो । विद्यालयको आफ्नै जग्गा थिएन । अहिले पनि विद्यालयले प्रति जग्गामा भोगाधिकार पाएर विद्यालय भवन निर्माण गरेको छ । अहिले विद्यालयमा १७ ओटा कक्षाकोठा छन् । हाल विद्यालयमा पुनः निर्माणको काम भइरहेको छ । तरकारी बजार छेवैमा रहेको टहरामा कक्षा सञ्चालन गर्दै आएका छौं । नजिकै कालिमाटी तरकारी बजार छ । वरिपरि उस्तै बाक्लो बस्ती छ । विद्यालयमा घेराबार छैन । विद्यालय कम्पाउण्ड खुला छ । त्यसैले विद्यालयमा हरेक खालका मान्छेको विश्राम गर्न आउने थलो जस्तै देखिन्छ तर बाह्य वातावरणको असर कक्षाकोठामा पर्न दिएका छैनौं । हामीले अभिभावकको विश्वास जितेर अहिले १ हजार ३२ जना विद्यार्थी अध्ययनरत छन् । पूर्वाधारको अभावका कारण भर्ना हुन आएजति विद्यार्थीलाई भर्ना लिन सकिएन ।

अभिभावकलाई केवल एक वर्ष आफ्ना छोराछोरी हामीलाई दिनोस् भनेर माग्यौं ।

अभिभावकको विश्वास गुमाएको विद्यालयले फेरी कसरी अभिभावकको विश्वास जित्यो ?

एकै पटक विद्यार्थी बढेका होइन । यसका लागि हामीले योजना बनायौं । म प्रधानाध्यापक भएको अवस्थामा बाल कक्षा सञ्चालनमा थिएन । बाल कक्षा सुरु गर्यौं । आफ्नै विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका तीन जना विद्यार्थीलाई अत्यन्तै न्यून खाजा खर्च मासिक एक हजार रुपियाँ दिएर स्वयम् सेवकको रुपमा काम गर्न लगायौं । हामीले घर दैलो अभियान सञ्चालन गरेर अभिभावकलाई केवल एक वर्ष आफ्ना छोराछोरी हामीलाई दिनोस् भनेर माग्यौं । त्यो बेला विद्यार्थी समय सम्म कक्षाकोठामा बस्दैन थिए । किन बस्दैनन् भनेर अध्ययन गर्दै गयौं । आफ्नै खर्चमा विद्यार्थीलाई स्टेशनरी सामान प्रदान गरेर पढायौं । मैले यो क्रममा कति महिना बिना पारिश्रमिक काम गरेको छु । सुरुमा सबै अभिभावकलाई निजी स्कुलमा जस्तै झोला टिफिन दिएर पठाउन आग्रह गर्यौं । प्रधानाध्यापक भए पछि म कहिल्यै घर समयमा पुगिन । यातायातको आफ्नै साधन थिएन । कहिले सहकर्मी साथीसंग, कहिले विद्यालय व्यवस्थापन समितिको अध्यक्षसंग लिफ्ट मागेर बेलुका ८ बजे घर पुगें । विहान ६ बजे विद्यालयमा आईपुग्थे । काम गर्दा कहिल्यै थकाइको महसुस भएन । अझ के गर्दा राम्रो हुन्छ भनेर योजना, छलफल तथा अन्य सफल भएका भनिएका विद्यालयको अभ्यास हेरें बुझे र सोही अनुसार काम गर्दै जाँदा हरेक वर्ष विद्यालयमा विद्यार्थी संख्या बढ्यो । शिक्षा प्रेमी, अभिभावकको खोजी गरी अभिावक भेला गराएँ  । सम्मान गरियो । समुदायको चासो बढ्यो । विद्यार्थी बढे । बस्ने फनिर्चर थिएन । निजी विद्यालयसंग मागेर काम चलायौं ।अहिले भर्ना लिएर पढाउन नसक्ने गरी विद्यार्थी आउन थालेका छन् । सबैलाई पढाउने रहर छ तर भौतिक अवस्थाका कारण सकिएको छैन । हाम्रो विद्यालय २०१० सालमा स्थापना भएको हो तर अझै विद्यालयको जग्गा प्राप्तिको लडाइ जारी छ । तर सम्भव भएको छैन । पहिला विद्यालय सञ्चालन गरिएको ठाउँमा ६ रोपनी प्रति जग्गा थियो । अहिले तीन रोपनीमा सीमित भएको छ । विद्यालयमा घेरोबारा गर्न खोज्दा विभिन्न खालको अवरोधका कारण सकिएको छैन । जग्गाका लागि नगएको ठाउँ छैन तर अहिलेसम्म विद्यालयको आफ्नै नाउँमा जग्गा छैन् । काम गर्न असहज छ । जग्गाका लागि भवन बनाउन मन्त्रालय धाएँ । विभाग धाएँ । बजेट पर्यो । विवादका कारण काम हुन सकेन । घेराबाराका लागि बनाएका प्रस्ताव त्यसैखेर गएका छन् । विद्यालयमा बालकक्षा देखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ ।

महिला शिक्षकको अवस्था कस्तो छ ?

सहरी क्षेत्रमा महिला संख्या धेरै देखिएको छ । तर ग्रामीण क्षेत्रमा महिला शिक्षक कम छन् । विशेष गरेर माध्यमिक तहमा महिला शिक्षक कम छन् । महिला शिक्षक समाज गठन गरेर अहिले महिला शिक्षकलाई एक छानामुनि ल्याउने प्रयास गरिएको छ । महिला शिक्षक सशक्तिकरणको आवश्यकता छ । उपत्यकाका आसपासका केही जिल्लामा महिला प्रधानाध्यापक अलि बढी भएपनि बाहिरका जिल्लामा अत्यन्तै न्यून छ । बाहिरी जिल्लामा औंलामा गन्न सकिने गरिका मात्र महिला प्रधानाध्यापक हुनुहुन्छ । कतिपय अवस्थामा महिला शिक्षक आफैंले पनि नेतृत्व लिन नचाहेको अवस्था छ । महिलाको जिम्मेबारी घरपरिवारदेखि विद्यालय सम्म आईपुग्दा दोहोरो तेहोरो छ । महिलालाई जिम्मेबारी दिइहाले पनि तपाईं महिला हो काम गर्न सक्नुहुन्न भनेर हतोत्साही पार्ने प्रवृति अझै कायमै छ । महिलामा गर्न सक्दिन भन्ने हाउगुजी छ । आफ्नो क्षमताको कदर गर्न सक्ने गरी आत्मविश्वास बढेकै छैन । महिला सशक्तिकरणका लागि नेपाल सरकारले पनि नीतिगत व्यवस्था गर्नुपर्छ । लिडरशिपमा अग्र–पङ्तिमा बस्ने महिलाको अभाव छ । यसका लागि ठोस नीतिको आवश्यकता छ ।

 महिलालाई सबै ठाउँमा समान पहुँच पुर्याउन के गर्नुपर्छ ?

सबैभन्दा पहिला महिलाले पढ्नु पर्यो । आत्मविश्वास जगाउने क्षमता अभिवृद्धि सम्बन्धि तालिम प्रदान गर्नुपर्यो । महिलालाई प्रदान गरिएका कार्यक्रमको दायरा फराकिलो बनाइ सिकाइलाई आयआर्जनसंग जोड्नु पर्यो । महिलाले पनि लिङ्गका आधारमा म कमजोर छु भन्ने भावनाको अत्य गरेर म पनि गर्न सक्छु भन्ने आँट गर्नुपर्छ । महिला शिक्षक कक्षाकोठा र घरमा सीमित हुनुहुँदैन । आफ्ना विद्यार्थीले सिके सिकेनन् जान्नु पर्यो । उसका समस्याको पहिचान गर्नु पर्यो । अपनत्वको भाव विकास गरी आफ्नो क्षमता आदानप्रदान गरी नेतृत्वमा पुग्ने कोसिस गर्नुपर्छ । सबै शिक्षकले यो मेरो हो । मैले गर्नैपर्छ । यो जिम्मेबारी मेरै हो भन्ने भावनाको विकास गरेमा महिलाले हस्तक्षेपपूर्ण तरिकाले आफ्नो पहुँच स्थापित गर्न सक्छन् । सिकाइ जीवन्त चलिरहने प्रक्रिया हो । गरेर आर्जन गरेको सिकाइ जीवन्त हुन्छ । त्यसैले महिलाले गर्न सक्दिन भनेर पछि पर्नुहुँदैन । गर्छु भनेर आँट गरेमा महिलाले व्यवस्थापन गरेको विद्यालय मात्र होइन अन्य संस्था पनि पारदर्शी, र राम्रा भएका छन् ।

कामको सिलसिलामा कहिले लैङ्गिक रुपमा होच्याएको महसुस गर्नु भएको छ ?

त्यस्तो धेरै त छैन तर कहिले काँही अवश्यै गरेको छु । मैले यो स्कुलमा २०४९ सालदेखि शिक्षक भएर काम गरें । तर विद्यालयमा व्यवस्थापन समितिको बैठक कहिले बसेको थाहा थिएन । पहिलो पटक बैठक बोलाए । जनप्रतिनिधि हुनुहुँदैन थियो । वडाको सचिवले सिधै उहाँ त महिला हुनुहुदो रहेछ काम गर्न सक्नु हुन्न भन्नु भयो । निक्कै हत्तोसाही पार्न खोज्नु भयो । तर अहिले उहाँनै मेरो प्रसंशक बन्नु भएको छ । यो देखि बाँहेक कहिलेकाँही नयाँ भर्नाका लागि आउने अभिभावकले म प्रधानाध्यापकको कुर्सीमा बसिरहेकै अवस्थामा हेडसर हुनुहुन्न भनेर सोद्नु हुन्छ खल्लो लाग्छ । यो देखि बाँहेक मैले अरु अनुभूति गरेको छैन । हामीले लिङ्गमा होइन काममा विश्वास गर्नुपर्छ भन्ने भावनाको विकास गर्न आफ्नो आत्मविश्वासलाई जगाउनुपर्छ । कसैले विरोध गरेमा पनि काम गरेर प्रमाणित गर्नुपर्छ ।

यसैगरी, नील बाराहीमा धेरै समस्या छन् यसको समाधानका लागि अझै धेरै काम गर्न बाँकी छ । सरोकारवालासंग बहस गरी यसको दिगो विकासका लागि काम गर्नुछ । वरिपरि भएका महलको छायाँमा होइन काँडाको विचको गुलाव जस्तै फुलाउन, आफ्ना नानी बाबुहरुको भविष्य निर्माण गर्ने अभिभारा हामीमा भएका कारण हामी यस्ता झिना मसिना कुरामा अल्झिनु हुन्न । मान्छे लिङ्गका आधारमा सबल र दुर्बल हुँदैन । कामको आधारमा मूल्याङ्कन गरिनुपर्छ ।

अन्त्यमा, आज नारी दिवस केही भन्न चाहनु हुन्छ ?

११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा समस्त नारीले म केही गरौं भन्ने भावना जागृत होस् । कोही नारीले शिक्षा आर्जन गर्नबाट बञ्चित हुनु नपरोस् । कुनै पनि बालबालिका तथा महिलाले कुनै पनि खालको हिंसाको सिकार हुनु नपारोस् भन्न चाहन्छु । त्यसैगरी महिला शिक्षकले पनि आफ्नो जिम्मेबारीको बोध गर्न सक्नुहोस् । अभिभावकले तपाईंलाई आफ्ना छोरोछोरी सुम्पिएका छन् । उनीहरुको भाग्य निर्माता तथा पदप्रदर्शक हामी हौं भन्ने भावनाको विकास गर्न सकियोस् । हामीले जानेको भएको क्षमता ट्रान्सफर गरेर समाजका हरेक क्षेत्रमा कसरी आफ्नो नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने सोचको विकास होस् । महिला र पुरुषमा केही पनि फरक छैन भन्ने भावना विकास होस् भन्न चाहन्छु ।