संघीयताअनुकूल सिकाइ संस्कृति विकासको लागि शिक्षक तालिम

मुलुकको राष्ट्रिय आकांक्षा स्तरोन्नति, विकास र समृद्धि हासिल गर्न राष्ट्रिय सबलता अभिवृद्धि गर्न आवश्यक हुन्छ।मुलुकको आन्तरिक सबलता हासिल गर्न मुख्यतया तीनवटा आयाममा जोड दिनुपर्छ- राष्ट्रिय सदाचार प्रणाली, राष्ट्रिय बौद्धिक ढुकुटी निर्माण र राष्ट्रिय उत्पादनशील क्षमता।मुलुकको शिक्षक तालिम कार्यक्रमहरू यिनै तीनवटा आयामलाई चलायमान र मजबुदीकरण गर्ने दिशातर्फ उन्मुख छन्।शिक्षक तालिम कार्यक्रमहरू विशेषतः जीवन र जगत जोड्न, सिप र दक्षताबिच सहसम्बन्ध स्थापित गर्न, समन्यायिक र गुणात्मक सिकाइ सुनिश्चित गर्न केन्द्रित छन।यसका साथै नियमित र निरन्तर सोध, खोज, अनुसन्धान, प्रतिविम्बन गर्न र नवप्रवर्तन भित्र्याउन, जीवनपर्यन्त सिकिरहन, सिक्ने र सिकाउने संस्कृतिको निर्माण गर्न, प्राविधिक, दक्ष, नैतिकवान र बौद्दिकवान जनशक्ति विकास गर्नका लागि स्टिम (STEM-Science, Technology, Engineering and Mathematics) शिक्षा र मेस (MESH- Media literacy, Ethics, Sociology and History) शिक्षाको तादात्म्यता र सामञ्जस्यता कायम गर्ने ध्येयका साथ शिक्षक तालिम कार्यक्रमहरू सञ्चालन गर्ने प्रयास भएका छन्।यसका लागि शिक्षक तालिमको जीवनरेखाको रूपमा सूचना तथा सञ्चार प्रविधिलाई अवलम्बन गरिएको छ।अनलाइन/भर्चुअल तथा मिश्रित विधि, आमनेसामने विधि, सहकार्यात्मक र अनुसन्धानात्मक विधिहरू प्रयोगमा ल्यार्इएका छन्।

शिक्षक तालिममार्फत शिक्षकहरूको कार्यदक्षता र क्षमता अभिवृद्धि हुनुको साथै स्वअध्ययन संस्कृतिको विकास गरी विज्ञ नै सबैथोक हो भन्ने परम्परागत विश्वास, मान्यता र अभ्यासलाई विस्तारै विस्थापित गर्ने प्रयत्न गरिएको छ।स्वनिर्देशित र स्वनियमनको वातावरण तयार गरी सिक्ने र सिकाउने प्रक्रियामा आफ्नोपनको विकास गरी सिकाइप्रति अपनत्व हासिल गर्ने दिशातर्फ मुलुकको शिक्षक तालिम कार्यक्रमहरूले विस्तारै फड्को मार्दैछन्।संघीय संरचना यस किसिमको रूपान्तरणको लागि स्वर्णीम अवसर देखिन्छ।तालिम कार्यक्रमहरूलाई संघ, प्रदेश र स्थानीय तहको समन्वयात्मक, नतिजामूलक र सबल ढङ्गबाट यसको साझा लक्ष्य - "सिकाइप्रति श्रद्धाभाव जागृत" गराउनका लागि यो ठुलो अवसर हो।हालको संघीय संरचनाअनुसार संघअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई प्रमाणीकरण र पुनर्ताजगी तालिमहरूको पाठ्यक्रम तर्जुमा गर्ने, मापदण्ड विकास गर्ने, नमुना तालिम सामग्रीहरू विकास गर्ने र आवश्यकताअनुसार प्रदेश शिक्षा तालिम केन्द्रहरूको संस्थागत क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका क्षमता विकास तालिमहरू सञ्चालन गर्ने कार्यादेश रहेको छ।प्रदेश शिक्षा तालिम केन्द्रलाई शिक्षक पेसागत विकासमा प्रत्यक्ष रूपमा संलग्न भई तालिम कार्यक्रमहरू सञ्चालन गर्ने कार्यादेश रहेको छ।नयाँ संघीय संरचना र राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार स्थानीय तहलाई शिक्षक पेसागत विकासका लागि छोटा अवधिका तालिमहरू सञ्चालन गरी शिक्षकलाईलाई पेसागत सन्तुष्टिसहित उच्च मनोवल र उत्प्रेरणा विकास गर्ने अवसर प्राप्त भएको छ।यसका साथै स्थानीय तहमा शिक्षक पेसागत विकास र सहयोग अभिवृद्धि गर्न शिक्षकहरूको सिकाइ सञ्जाल निर्माण आवश्यक छ।समग्रमा संघ, प्रदेश र स्थानीय तहबिच सहकारिता, समन्वय र सहअस्तित्वको सिद्दान्तअनुसार असल सम्बन्ध र अभ्यासको आदानप्रदान गर्दै सवैको जित र हितमा समर्पित भई संघीयताअनुकूल सिकाइ संस्कृति निर्माण गर्ने दिशातर्फ मुलुकको शिक्षक तालिम कार्यक्रमहरू तर्जुमा र कार्यान्वयन भएका छन्।