CMAT

घरघरमा शिक्षक, सबैको रोजाइमा पब्लिक

Bachelors Portal

धरान–१२ चतरा लाइनस्थित पब्लिक उच्च माविका शिक्षक तथा व्यावस्थापन समितिका सदस्य आजभोलि बालबालिकाको घरघरमा पुग्ने गरेका छन् ।

 नमूना विद्यालयका रुपमा स्थापित पब्लिक उच्च माविले विद्यालयको  सिकाइ स्तर सुधार गर्न र विद्यालयप्रति अपनत्वको विकास गर्न यो अभियान सुरु गरेको हो ।

लामो तथा छोटो बिदाको सदुपयोग गर्दै विद्यालय व्यवस्थापन समिति र शिक्षकले पहिलो चरणमा विद्यार्थीको घरघरमा पुगेर घरदैलो अभियान गर्न थालेका छन् । दसै तिहार र अन्य बिदाको दिन नियमित विद्यार्थीको घरघरमा पुग्ने गरेका विद्यालयले जानकारी दियो ।

विद्यालयमा कार्यरत ६० शिक्षकले नर्सरीदेखि १० कक्षासम्मका करिब एक हजार विद्यार्थीका घरघरमा पुगेर अभिभावकसँग अन्तरक्रिया गर्ने, बालबालिकाको पारिवारिक गतिविधिको अवलोकन गर्नेगरेका छन् ।

शिक्षक तथा व्यवस्थापन समितिको टोलीले विद्यार्थीका पारिवारिक अवस्था, विद्यालय र विद्यार्थीको घरको दुरीलगायतका विषयमा छलफल गर्दै विद्यालयलाई सुधार गर्नको लागि अभिभावकसँग राय सङ्कलन गर्ने गरेका छन् ।

‘विद्यार्थीका पारिवारिक अवस्था, विद्यार्थीको पढाइलगायतका विषयमा छलफल गर्दै विद्यालयलाई कसरी सुधार्न सकिन्छ ? भनेर अभिभावकसँग राय माग्यौँ’ शिक्षिका रञ्जिता परियारले भनिन्, ‘अभिभावकले आफ्ना छोराछोरीको पढाइ र भएका समस्याको बारेमा हामीलाई भन्नुभयो ।’

घरदैलो अभियानका क्रममा विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गरेर तयार पारेको प्रतिवेदन शिक्षकले बुधबार विद्यालयमा बुझाए । घरदैलो अभियानमा सहभागी शिक्षिका परियारले केही विद्यार्थीको घरमा पढ्ने वातावरण राम्रो नपाएको जानकारी दिइन् ।

करिब एक हजार अभिभावकका घरमा पुगेर अन्तरक्रिया गर्ने र अवस्था बुझ्ने काम भएको विद्यालयका प्रधानाध्यापक डा इन्द्र मोहन झाले जानकारी दिए ।

शिक्षकले बुझाएको प्रतिवेदन अध्ययनपछि शिक्षकबीच विद्यार्थीको पढाइ सुधार्न के कस्ता काम गर्न सकिन्छ भन्ने विषयमा थप अन्तरक्रिया गर्दे अभियानलाई निरन्तरता दिने प्रधानाध्यापक डा झाको भनाइ छ ।

 “विद्यालयको शैक्षिकस्तर माथि उठाउन विद्यार्थीको पृष्ठभूमि बुझ्न जरुरी लागेर शिक्षकलाई घरघर पठाएका हौँ”, प्रधानाध्यापक डा झाले भने, ‘हाम्रो लागि यो अभियान नयाँ प्रयोग हो, यो अभियानले विद्यालयसँग विद्यार्थीका परिवारलाई जोड्ने काम गरेका छौँ, विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’

सबैको रोजाइमा पब्लिक

नमूना विद्यालय छनोट भएको पब्लिक मावि पछिल्लो समय विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेको छ । विद्यालयको तथ्याङ्कअनुसार नर्सरीदेखि कक्षा १२ सम्म तीन हजार चार सय विद्यार्थी अध्ययनरत छन् ।

नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पढाइ हुने यो विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिकतर्फ इलेक्ट्रिकल इञ्जिनियरिङको पढाइ हुँदै आएको प्रधानाध्पक डा झाले  बताए।

यो वर्षदेखि कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, व्युटिसियन र हेयर ड्रेसिङ जस्ता विषयमा पढाइ सञ्चालन भइरहेको विद्यालयले जनाएको छ ।

प्रत्येक कक्षामा स्मार्ट बोर्ड राखिएको छ । व्यवस्थित पुस्तकालय र साइन्स ल्याव रहेको छ । विसं २००३ मा स्थापना भएको यो विद्यालय पूर्वकै पुरानोमध्ये एक हो ।

यो विद्यालयबाट विसं २०१२ मा रामबाबु खनालले प्रवेशिका परीक्षा (एसएलसी) मा सर्वप्रथम स्थान (बोर्ड फस्ट गरेका) हासिल गरेका थिए ।

धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख गणेशप्रसाद खतिवडाले पब्लिकबाट अन्य विद्यालयले सिक्न सक्ने धेरै कुरा रहेको बताउँदै विद्यालयको कामअनुसार उपमहानगरपालिकाले पनि सहयोग गरिरहेको बताए।

 

Thuprai - Books and E-books
I Tech store