After SEE Portal

विद्यालय शिक्षाको पाठ्यक्रम संरचना

Bridge Course

परिच्छेद चार विद्यालय शिक्षाको पाठ्यक्रम संरचना

यस परिच्छेदमा पाठ्यक्रमका सैद्धान्तिक आधारहरू, अन्तर्राष्ट्रिय परिवेश र अभ्यास, राष्ट्रिय आवश्यकता एवम् विभिन्न सरोकारवालासमेतको अपेक्षालाई दृष्टिगत गरी विद्यालय शिक्षाको दृष्टिकोण, विद्यालय शिक्षाका राष्ट्रिय उद्देश्यहरू, तहगत सक्षमता र पाठ्यक्रम संरचना प्रस्तुत गरिएको छ ।

४.१ विद्यालय शिक्षाको दृष्टिकोण विद्यालय शिक्षाको दृष्टिकोण “समाजवादउन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम र प्रतिस्पर्धी नागरिक विकास" गर्नु हुने छ ।

४.२ विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य विद्यालय शिक्षाका राष्ट्रिय उद्देश्यहरू निम्नानुसार हुने छन् :

१. प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व विकास गर्ने

२. राष्ट्र र राष्ट्रियताप्रति निष्ठावान्, सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य मान्यताप्रति प्रतिबद्ध, स्वाभिमानी, सामाजिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्ने, चरित्रवान्, नैतिकवान् एवम् जिम्मेवार नागरिक तयार गर्ने

३. श्रमप्रति सम्मान एवम् सकारात्मक सोच भएका, रोजगार तथा स्वरोजगारउन्मुख, उत्पादनमुखी, उद्यमशील र सिपयुक्त नागरिक तयार गर्ने

४. व्यक्तिको सामाजिकीकरणमा सहयोग गर्दै सामाजिक सद्भाव तथा सहिष्णुता र राष्ट्रिय एकता सुदृढ गर्न सहयोग पुयाउने

५. प्राकृतिक तथा राष्ट्रिय सम्पदा र पर्यावरणको संरक्षण, संवर्धन र सदुपयोग गर्दै दिगो विकासमा योगदान गर्ने सचेत नागरिक तयार गर्ने

६. प्रत्येक व्यक्तिमा शान्ति, मानव अधिकार, समानता, समावेशिता र सामाजिक न्यायका मान्यताअनुरूपको आचरण विकास गरी समतामूलक, समावेशी, न्यायपूर्ण र समाजवादउन्मुख राष्ट्र निर्माणमा मदत गर्ने

७. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी, आधुनिक सूचना तथा सञ्चार प्रविधि प्रयोग गर्न सक्ने विश्वपरिवेश सुहाउँदो दक्ष जनशक्ति तयार गर्ने

८. वैज्ञानिक अवधारणा, तथ्य, सिप, सिद्धान्त तथा प्रविधिको प्रयोग गर्न सक्ने वैज्ञानिक सुझबुझ भएका तथा अनुसन्धानमुखी जनशक्ति तयार गर्ने

९. रचनात्मक तथा समालोचनात्मक चिन्तन गर्ने, जीवनोपयोगी सिप भएका सहिष्णु र भाषिक सक्षमतामा निपुण नागरिक तयार गर्ने

१०. नेपाली मौलिक कला, संस्कृति, सौन्दर्य, आदर्श तथा वैशिष्ट्यहरूको संरक्षण, संवर्धन र विस्तारतर्फअभिप्रेरित भएका नेपालको इतिहास, भूगोलको ज्ञान भएका, नेपाली पहिचान र जीवनशैलीप्रति गौरव गर्नेनागरिक तयार गर्ने

११. जलवायु परिवर्तन तथा प्राकृतिक एवम् मानव सिर्जित प्रकोपप्रति सचेत रही सम्भावित जोखिमन्यूनीकरण तथा विपत् व्यवस्थापन गर्न सक्षम नागरिक तयार गर्ने

१२. सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका निम्ति आवश्यक मानव संसाधनको विकास गर्ने

४.३ विद्यालय शिक्षाको तहगत संरचना र उमेर

नेपालको विद्यालय शिक्षा आधारभूत र माध्यमिक गरी दुई तहको रहेको छ । एक वर्ष अवधिको प्रारम्भिक बालविकास तथा शिक्षापछि कक्षा १ देखि कक्षा ८ सम्म गरी जम्मा आठ वर्षको आधारभूत शिक्षा कायम गरिएको छ भने कक्षा कक्षा ९ देखि १२ सम्मको चार वर्ष अवधिको शिक्षालाई माध्यमिक शिक्षा कायम गरिएको छ । माध्यमिक शिक्षा साधारण, परम्परागत र प्राविधिक तथा व्यावसायिक गरी तीन प्रकारको हुने छ । माध्यमिक शिक्षाको प्राविधिक तथा व्यावसायिक धारतर्फ थप एक वर्ष अवधिको व्यावहारिक अभ्यास समेटिने छ । बालमनोविज्ञान, सिकारुको उमेर तथा सिकाइ क्षमतास्तरका आधारमा विद्यालय शिक्षाको तहगत र कक्षागत खाका देहायबमोजिम हुने छ :

विद्यालयको तह कक्षा उमेर समूह सिकाइ क्षमतास्तर
प्रारम्भिक बाल विकास र शिक्षा प्रारम्भिक बालविकास र शिक्षा ४ वर्ष  
आधारभूत कक्षा १-३ ५ देखि ७ वर्षसम्म तह १
  कक्षा ४ - ५ ८ देखि ९ वर्षसम्म तह २
  कक्षा ६ - ८ १० देखि १२ वर्षसम्म तह ३
माध्यमिक कक्षा ९ - १० १३ देखि १४ वर्षसम्म तह ४
  कक्षा ११ - १२ १५ देखि १६ वर्षसम्म तह ५

द्रष्टव्य :

१. उपर्युक्त खाकाबमोजिम सिकाइ क्षमतास्तरसँग तादाम्य हुने गरी राष्ट्रिय योग्यता प्रारूपमा सिकाइ क्षमता स्तरको तहगत सक्षमता निर्धारण हुने छ ।

२. माध्यमिक तहको प्राविधिक तथा व्यावसायिक धारमा थप एक वर्ष अवधिको व्यावहारिक अभ्यास अनिवार्य हुने छ ।

३. उल्लिखित तालिकामा निर्दिष्ट उमेर समूहले सम्बन्धित वर्षको उमेर पूरा भएको जनाउने छ ।

क्रमश....

स्रोत: विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६को अंश 

A Levels MA
Thuprai - Books and E-books