चीनको वुहानबाट सन् २०१९ मा सुरु भएर अहिलेसम्म निरन्तर विश्वलाई तड्पाइरहेको कोरोना भाइरसको प्रभावले आम जनतालाई सताइरहेको छ । सिक्ने सिकाउने र जिविकोपार्जन गर्ने अवस्थालाई कोरोनाले खलबलाएको छ । यसले वर्तमानमा शिक्षक विद्यालय जान नसक्ने र विद्यार्थी विद्यालय गएर सिक्न नपाउने तथा एक वर्ष कक्षोन्नति ढिलो हुने जस्तो सामान्य अवरोध देखिएला तर अन्ततः यसको प्रभाव भयावह हुने निश्चित छ । त्यसैले अवस्थालाई केही हदसम्म समयमै सोच्न सकियो र उपयुक्त कदम चालियो भने भविष्यको सङ्कट केही कम गर्न सकिन्छ ।
कोरोना जोखिमको अवस्थालाई नियालेर हेर्ने हो भने कोरोना भाइरसको प्रभाव अझै केही समय लम्बिने निश्चित छ र यसले नेपालको शैक्षिक सत्र पनि केही पर सर्ने निश्चित छ । तर यसका लागि शिक्षक तथा सरोकारवाला निकायले समयमै ध्यान दिएर परम्परागत विधिको सट्टा आधुनिक तरिकाले सोच्न र कार्यान्वयन गर्न सकियो भने आत्तिनु पर्ने अवस्था छैन । अहिले नेपालमा लकडाउनको समय छ । सबैजना कोरोना रोकथामका लागि घरमै बसेको अवस्था छ । हरेकको दिन कटाउने साधन सूचना प्रविधि भएको छ । यसलाई सही तरिकाले उपयोग गर्न सकियो भने यो समय भोलिका लागि पक्कै पनि महत्वपूर्ण र फलदायी हुनेछ । अहिले हरेक शिक्षक तथा सरोकारवाला निकायले आफ्नो जिम्मेवारी बुझ्ने र बढीभन्दा बढी प्रभावकारी जिम्मेवारी वहन गर्ने तथा पेसागत उन्नयनका क्रियाकलाप सिक्ने समय हो । अहिले सिकेका सिकाइ लकडाउन पश्चात प्रयोग गर्न सकिन्छ, जसले विद्यार्थी तथा अभिभावकलाई चिन्तित नभई खुसी बनाओस् ।
यो बेलामा जे जसरी भए पनि शिक्षक तथा स्थानीय सरकारले केही न केही योजना बनाउनै पर्छ । अहिले शिक्षा व्यवस्थापनका नेतृत्वकर्ता र शिक्षकहरुले जहिले सुरु होला त्यही बेला सोचौंला भन्ने पुरातन विचार हटाएर अब म पनि फरक गर्दैछु र फरक तरिकाले प्रस्तुत हुनेछु भन्ने बुझ्नु जरुरी छ । स्थानीय तहको शिक्षा विभाग र शिक्षकले यसरी बुझिदिनुपर्दछ :
१) विद्यालय शिक्षाको समग्र व्यवस्थापन स्थानीय तहमा आएसँगै त्यस मातहत रहेको शिक्षा विभागको काम अहिले अरुबेला जस्तो परम्परागत प्रक्रियामा रहेर पुग्दैन । यो समय अबको शैक्षिक सत्रको समय कति रहन्छ र त्यसलाई कसरी बढीभन्दा बढी प्रयोग गरेर उपलब्धि बढाउन सकिन्छ भन्नेतिर लाग्ने हो । शिक्षा विभागको प्रमुख तत्तत् स्थानीय तहभित्रका विद्यालयको नेतृत्वकर्ता हो । विभिन्न सरोकारवाला निकायबीच सल्लाह र परामर्श गरेर सबैको समन्वयमा मात्र तयार गरिएको योजनावद्ध खाका लागु गराउन निर्देशन दिने तथा त्यसको अनुगमन एवं सुपरीवेक्षण गर्नु दायित्व उनको हो ।
स्थानीय तहको शिक्षा विभागले यस्तो सोचिदियोस् लकडाउन पश्चात विद्यालय खोल्नु अगाडि स्थानीय शिक्षा प्रमुखले सरोकारवाला निकायसँग बैठक डाकोस् । बैठकको मितिसँगै सरोकारवाला निकाय तमतयारका साथ गएर आआफ्ना तर्कसँगत विषयवस्तुलाई छलफल र अन्तरक्रियाको वातावरण बनाइयोस् । छलफलबाट निस्कने निष्कर्षलाई लिपिवद्ध गरी जनसमुदायसम्म पुग्ने गरी प्रकाशन गरियोस् । शिक्षक तथा विद्यार्थीलाई चाहिने आवश्यक सामाग्रीमा कुनै कञ्जुस्यार्इँ वा राजनीतिकरण नगरियोस् । आवश्यकताअनुरुपका छोटा अवधिका तालिम तथा सेमिनार आयोजना गरियोस्, जसको उपयोगले तुरुन्तै कक्षाकोठाको शिक्षण प्रभावकारी बन्न सकोस् ।
सम्भव भएसम्म हरेक विद्यालयमा फास्ट ट्रयाक विधिबाट भए पनि सूचना प्रविधि जडान गरियोस् । शिक्षकलाई अझै पनि कारिन्दाको रुपमा सोच्ने परम्परागत मनरोगलाई हटाइयोस् । शिक्षककै कारण आफूलाई गौरवान्वित बनाउनेतर्फ लागेर शिक्षकलाई हरेक क्रियामा उत्प्रेरित बनाइयोस् । समयसमयमा प्रगति मूल्याङ्न तथा आवश्यकता जान्ने बुझ्ने प्रयास गरियोस् ।
२) शिक्षक शिक्षा तथा समग्र विकासको नेतृत्वकर्ता मानिने शिक्षक सामाजिक तथा शैक्षिक व्यवस्थाको मुख्य अङ्ग हो । राजनीतिक तथा शैक्षिक नेतृत्वले जतिसुकै ठूला कुरा गरे पनि जबसम्म शिक्षक स्वस्फुर्तरुपमा सेवा दिन तत्पर हुँदैन र रहने वातावरण बन्दैन तबसम्म नेपालको शिक्षा प्रणाली आशातितरुपमा अगाडि बढ्छ जस्तो लाग्दैन । अहिलेको विषम परिस्थितिमा एउटा शिक्षकले अरु बेला जस्तो सोचेर पुग्दैन । अहिले शिक्षकको काम अरु बेला जस्तो पेशागत गुनासा राख्ने, समाजले कसरी हेर्ला, शिक्षा सरोकार निकाय तथा राजनीतिक नेतृत्वले के भन्छन् र हाम्रा माग कसरी पूरा गर्न सकिन्छ भन्नेतिर लाग्ने समय होइन । अहिले आफूले पढिरहेको वा जानेको शिक्षकको परिभाषा तथा गुणअनुरुप आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने आवश्यकता छ ।
म पनि एक शिक्षक हुँ । मैले यो बेलामा जस्तो सोचिरहेको हुन्छु अरुले पनि त्यस्तै सोचोस् भन्ने नभई हरेक शिक्षकले केही न केही सोचोस् भन्ने मेरो लेखको सार हो । एक शिक्षकले यो बेलामा केही सोचोस् भन्ने मलाई लाग्छ । मैले पनि सोच्दै छु । विश्वव्यापी बढी रहेको कोरोना प्रभाव र यसको असरलाई मैले नजिकबाट नियालिरहेको छु र यसको भोलिका दिनसम्म पर्ने प्रभाव पनि दिमागले भ्याएसम्म सोचिरहेको छु । सोच्ने र तथ्याङ्क विश्लेषण गर्ने मात्र नभएर आफ्नो जिम्मेवारीलाई नजिकबाट अनुसन्धान गरी यसलाई सफलतापूर्वक अवतरण गराउने विषयमा पनि सोचेको छु । अबको शैक्षिक सत्र पक्कै पनि केही ढिला हुने निश्चित छ । अबको शैक्षिक सत्र यो मितिबाट सुरु होला र त्यसका लागि मैले के के गर्ने भनेर केही गति बढाएर आफ्ना योजना बनाएको छु । विद्यार्थीलाई सुरुमै छोटो समय वाध्यताको तर अवसरको रुपमा बुझाउन प्रयत्न गर्नेछु । बाँकी रहेको समय र पढाइ हुने दिनलाई मध्यनजर गर्दै वार्षिक शैक्षणिक योजना बनाउनेछु । वार्षिक शैक्षणिक योजनाअनुरूप एकाइ योजनालाई बढीभन्दा बढी महत्व दिनेछु । पाठ्यक्रम तथा यसका उद्देश्य र विषयवस्तुलाई दिमागमा स्मरणयोग्य बनाइसकेको छु ।
कक्षाकोठामा छिर्ने दिन जब आँउछ त्यस दिनबाट योजनावद्ध खाकाअनुरुप अगाडि बढ्नेछु । प्रारम्भमै फाठ्यक्रम तथा विषयवस्तुका क्षेत्र र त्रम, विशिष्टिकरण तालिकालाई भरसक सूचना प्रविधिको प्रयोगबाट स्पष्ट पार्नेछु । छोटो समयलाई बढीभन्दा बढी उपयोगीमूलक बनाउन र थोरै समयमा धेरै कुरा सिकाउन सूचना प्रविधिको अधिकतम प्रयोग गर्नेछु । तर यसको प्रयोगलाई ‘वान वे’ बनाउने गल्ती गरिने छैन । हरेक एकाइका विशिष्ट उद्देश्यअनुरुप न्यूनतम आवश्यकता पूरा गर्न चाहिने विषयवस्तु र त्यसका लागि चाहिने शैक्षणिक क्रियाकलापको लिखितरुप वा दिमागी भण्डारण गर्नेछु । विनायोजनाको कक्षायात्रा पूर्णतया निषेध गर्नेछु । हरेक दिन विशेष दिन र उपलब्धिलाई मापनयोग्य बनाउने छु । आवश्यक सूचना तथा सामाग्रीहरु उपलब्ध गराएर बढीभन्दा बढी अभ्यास गराउनेछु । सिकाइ प्रकिया पूर्णतया बाध्यात्मक नभई मनोरञ्जनपूर्ण बनाउने प्रयत्न गर्नेछु । हरेक दिनको सिकाइपछि अभ्यासका लागि चाहिने सामग्रीको व्यवस्था वा स्रोत तथा ठाँउ बताउनेछु । विद्यार्थीलाई विभिन्न सिकाइका अवसर तथा त्यसका स्रोतलाई अधिकतम उपयोग गराउन उत्प्रेरित गर्नेछु ।
लेखक कोटेश्वरस्थित सरस्वती माविका शिक्षक हुन् ।