CMAT

त्रिवि अल्मुनाईअध्यक्षमा सुनिती श्रेष्ठ हाडा निर्वाचित

काठमाडौँ, २१ पुस (रासस) ः त्रिभुवन विश्वविद्यालय (त्रिवि) अल्मुनाई एशोसिएशनको अध्यक्षमा सुनिती श्रेष्ठ हाडा निर्वाचित हुनुभएको छ । आज त्रिविमा सम्पन्न प्रथम वार्षिक साधारणसभा हाडाको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

समितिको उपाध्यक्षमा प्राडा सुदर्शनराज तिवारी, महासचिवमा प्राडा ऋदिशकुमार पोख्रेल, सचिव अर्जुनकान्त मैनाली र कोषाध्यक्षमा प्राडा कुश्मिला आचार्य चयन हुनुभएको छ । 

अल्मुनाई त्रिविमा अध्ययन गरेका विद्यार्थीे स्वतन्त्र सङ्गठन हो । चार वर्षका लागि निर्वाचित कार्यसमितिमा सदस्यमा सन्तोष रायमाझी, रामचन्द्र पोखरेल, कमल घिमिरे, रामप्रसाद खतिवडा, शङ्कर खनाल, निर्जा पोखरेल, नन्दकिशोर कुमार, चन्द्रलाल श्रेष्ठ, रविचन्द्र पराजुली, गङ्गाबहादुर थापा, सीता शिवाकोटी, मोहनप्रसाद पन्थी, गुणनिधि न्यौपाने, रामकैलाश यादवलगायत रहनुभएको छ । 

यस्तै अरुण ठाकुर, जगतकृष्ण पोखरेल, विजयलाल प्रधान, तारा सापकोटा, पुरुषोत्तम उपाध्याय, धीरज प्रधानाङग र तीर्थप्रसाद मिश्र पनि सदस्यमा चयन हुनुभएको छ । विसं २०७३ असोजमा स्थापना भएको संस्थाले त्रिविको हितका पक्षमा काम गर्ने महासचिव पोखरेलले जानकारी गराउनुभयो । अहिले अल्मुनाईमा २०१ जना साधारण सदस्य रहेका छन् । 

सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि एवं संस्थाका संरक्षक त्रिवि उपकुलपति प्रा डा तीर्थराज खनियाले आफूले अध्ययन गरेको विश्वविद्यालयसँग अल्मुनाईले संस्थागतरुपमा जोडिन पाउनु गर्वको कुरा हुने बताउनुभयो । 

विश्वविद्यालयलाई अल्मुनाईको उपस्थिति र अनुपस्थितिले अन्तर्राष्ट्रिय जगत्मा ठूलो भूमिका खेल्ने बताउँदै उहाँले विश्वविद्यालयको सबै पक्षमा सहजीकरणका लागि अल्मुनाईले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

यस्तै त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले एशोसिएशनको स्थापना अहिले बामे सर्ने अवस्थामा रहेको भएपनि भविष्यमा यसले त्रिविलाई उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा स्थापना गर्न मद्दत गर्नसक्ने बताउनुभयो । त्रिविको उच्च शिक्षा शिक्षण र अनुसन्धानमा केन्द्रित रहेको बताउनुहुँदै उहाँले अहिलेसम्मको प्रयास शिक्षणमा जोड दिने रहे तापनि अबका दिनमा अनुसन्धानलाई प्राथमिकतामा राखेर विश्वविद्यालयले अनुसन्धानमूलक व्यावहारिक ज्ञान निर्माण गर्नुपर्ने धारणासमेत व्यक्त गर्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले त्रिविको विकासका लागि अल्मुनाईसँग हातेमालो गर्ने हो भने अर्काको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुने धारणा व्यक्त गर्नुभयो । 

Thuprai - Books and E-books