After SEE Portal

विद्यालयमा सिकाइ सहजीकरण गर्न उपयुक्तः शिक्षक, दुई दिन भित्र विद्यालय पुग्न शिक्षकलाई केन्द्रको निर्देशन

Bridge Course

मन्त्रालय भन्छ विद्यार्थीलाई पढाउँ । स्थानीय प्रशासन विद्यालयमा सञ्चालन भएका शैक्षिक गतिविधिमा रोक लगाउँछ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भने सबै शिक्षकलाई अबको मितिले दुईदिन भित्र विद्यालयमा पुग्नै पर्ने निर्देशन दिएको छ ।

बाक्लो बस्तीमा गएर चउर र चौतारमा बसेर पढाउनुभन्दा आवश्यक सुरक्षा अपनाइ संक्रमण नभएको स्थानमा विद्यालयबाटै सिकाइ सहजीकरण क्रियाकलाप सञ्चालन गर्नु उपयुक्त हुने शिक्षकहरु बताउँछन् ।

कोविड १९ बाट ठप्प भएको विद्यार्थीहरुको पठनपाठन संचालन गर्ने सन्दर्भमा मन्त्रालयबाट जारी गरिएको ूविद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को दफा ३३ को उपदफा २ बमोजिम विद्यालयले कार्ययोजना बनाएर विद्यालय मै पठनपाठन गर्नु उपयुक्त छ।’ सरस्वती माध्यमिक विद्यालय म्याङ्लुङका प्रधानाध्यापक गोविन्दराज श्रेष्ठ आफ्नो फेसबुक पेजमा लेख्छन्, ‘सिकाइ सहजीकरणका नाममा मान्छेका पेटिहरुमा, रित्ता पाटीमा, चौतराहरुमा, छहारी विनाका चौर लगायतका ठाउँहरुमा राखेर जबर्जस्त सहजीकरणको नाटकले फेस्बुक रङ्गाउने काम भन्दा केही हुन्न यसले विद्यार्थीमा ज्ञानको भण्डारण गर्न सकिन्न ।’

यसरी सिकाइ सहजीकरण गर्दा विद्यार्थीको बसाइका सहजता, अभिभावकलाई पर्ने दबाब, पढ्नु भनेको किताब पल्टाउनु मात्र हो भन्ने विषयले प्रश्रय पाउने प्रधानाध्यापक श्रेष्ठ बताउँछन् ।

प्रधानाध्यापक श्रेष्ठको विचारमा सहमत छन् तिलोत्तमा मावि पाल्पाका प्रधानाध्यापक झविन्द्र ज्ञावली । घुँडामा कापी किताबको रास राखेर शिक्षक र विद्यार्थीलाइ सास्ती दिँदा सिकाइ नहुने उनको विचार छ ।

चौर चौतारा र टोलमा सबैतिर साबुन पानी तथा शौचालय उपलब्ध उपलब्ध नहुने हुँदा एउटा चौतारामा १२ कक्षाका २ जना, ११ कक्षाका १ जना, १० कक्षा का३ जना, ९ कक्षाका ३ जना ,८ कक्षाका १ जना,७ कक्षाका२ जना, ६ कक्षाका ३ जना, ५ कक्षाका २ जना, ४ कक्षाका २ जना, ३ कक्षाका १ जना गरी २० जना विद्यार्थी भेला भए ,त्यहाँ कति शिक्षक जाने भन्ने प्रश्न गर्छन् नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक निमकान्त रेग्मी ।

विद्यालयको कक्षाकोठामा दूरी कायम गरेर , मास्कको उचित प्रयोग गरेर गराएर,साबन पानीको पूरा ब्यवस्था गरेर, घामपानीबाट विद्यार्थीलाई जोगाउदै, फराकिलो कम्पाउन्ड भित्र राखेर ,एक बेन्चमा एक विद्यार्थी राखेर सिकाइ सहजीकरण गर्न उपयुक्त हुनेमा तीनै जना प्रधानाध्यापक सहमत देखिन्छन् ।

विद्यार्थी र शिक्षकहरुलाई निरीह ,घुमन्ते ,झोले, टोले, चौतारे, सत्तले, फलैचे बनाउने कोसिस गर्नु भन्दा आवश्यक सुरक्षा तथा यातायातको सुविधा भएका ठाउँमा यातायातको व्यवस्था गरी विद्यालयमा नै सिकाइ सहजीकरण गर्न उपयुक्त हुने प्रधानाध्यापक श्रेष्ठको धारण छ ।

यसैविच कतिपय विद्यालयले न्यून विद्यार्थीलाई पालैपालो विद्यालयमा बोलाइ सिकाइ सहजीकरण गर्न थालेका छन् भने सोही कार्यलाई स्थानीय प्रशासनले बन्द गर्न निर्देशन दिँदै आएको छ ।

हिजो मात्र दोलखालगायतका केही जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि अवरुद्ध विद्यालयका शैक्षिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी भएको विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ लाई मध्यनजर गर्दै कतिपय विद्यालयले आवश्यक स्वास्थ्य सुरक्षाका उपाय अपनाइ सुचारु गरेको शैक्षिक गतिविधि स्थानीय तथा जिल्ला प्रशासनले बन्द गर्दै आएको छ । अधिकांश विद्यालयले सञ्चालन गरेको शैक्षिक कार्यक्रम स्थानीय प्रशासनले बन्द गर्दै आएको छ ।

यसैबिच शिक्षा तथा मानव स्रोत विकास केन्द्रले लामो समयदेखि अवरुद्ध विद्यार्थीको सिकाइलाई निरन्तरता प्रदान गर्न निजी क्षेत्रलाई सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयद्वारा जारी विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ को बुदा नं २३ अनुसार शिक्षक–विद्यार्थी सम्पर्क स्थापना गर्ने क्रियाकलापमा निजी क्षेत्रको सहयोग परिचालन गर्नेका लागि निजी क्षेत्रको सहयोगको अपेक्षा गरेको केन्द्रले जानकारी दियो ।

शिक्षक–विद्यार्थी सम्पर्क स्थापना गरी शिक्षण सिकाइलाई निरन्तरता दिन जनस्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार चाहिने आवश्यक सामग्री लगायत शिक्षकलाई विद्यालय सम्म पुयाउन यातायातको सहज र सुरक्षित व्यवस्था मिलाउन सरोकारवालालाई आग्रह गरेको छ ।

त्यसैगरी कार्ययोजना, २०७७ को बुदा नं ४ अनुसार शिक्षक कार्यस्थलमा असोज पहिलो हप्तासम्म पुगी सक्नु पर्ने व्यवस्था भएकोमा कारणवस अहिले सम्म कुनै शिक्षक विद्यालय पुगी नसकेको अवस्था भएमा अवको दुई दिन भित्र विद्यालय पुगी सक्नु पर्ने केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत निर्देशन दिएको शाखा अधिकृते भुवनेश्वर जोशीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

 

 

A Levels MA
Thuprai - Books and E-books