After SEE Portal

यस्ता छन् प्रदेशमा शिक्षाको बजेट (पूर्ण पाठसहित)

Bridge Course

देशका सात वटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्य प्रस्तुत गरेका छन् । 

प्रदेश १

प्राविधिक जनशक्ति विकासको महत्वपूर्ण साधन हो । मानव संशाधनको प्रक्षेपण गरी आवश्यक जनशक्ति उत्पादन गर्न मनमोहन प्राविधिक विश्वविद्यालय स्थापनाका लागि १६ करोड ५० लाख रुपियाँ विनियोजन गरेको छु । मदन भण्डारी प्रौद्योगिक महाविद्यालयलाई सेवा विस्तार गर्न एक करोड रुपियाँ विनियोजन गरेको छु ।

उच्च पहाडी तथा हिमाली जिल्ला ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा र सोलुखुम्बुमा मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक क्याम्पसहरु सञ्चालन गर्न सुरु गर्न पाँच करोड रुपियाँ विनियोजन गरेको छु ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कायृक्रम सहित प्राविधिक शिक्षालयहरु रत्नकुमार वान्तवा प्राविधिक शिक्षालय इलाम, शैलजा आचार्य प्राविधिक शिक्षालय मोरङ, उत्तरपानी प्राविधिक शिक्षालय धनकुटा, सुम्निमा प्राविधिक शिक्षालय भोजपुर र मौरेगढी प्राविधिक शिक्षालय खोटाङलाई अनुदान उपलब्ध गराउन ३८ करोड ६९ लाख रुपियाँ विनियोजन गरेको छु ।

शिक्षालाई सुचना, सञ्चार र प्रविधियुक्त बनाइ शैक्षिक गुणस्तर सुधारमा जोड दिइनेछ । विद्यालय गुणस्तर सुधार अभियान सञ्चालनका लागि १७ करोड रुपियाँ विनियोजन गरेको छु । विद्यालयमा नर्सिङ सेवालाई थप विस्तार गर्न दुई करोड रुपियाँ छुट्याएको छु ।

प्रदेशमा रहेका सामुदायिक क्याम्पसहरुको स्तरोन्नति र संस्थागत सुदृढीकरणका लागि अनुदान उपलब्ध गराउन चार करोड ५० लाख रुपियाँको व्यवस्था गरेको छु ।

धनकुटामा निजामति कर्मचारी आवासीय विद्यालय सञ्चालनलाई निरन्तरता दिइनेछ । सम्भाव्यताको आधारमा प्रदेशमा सरकारी नमुना आवासीय विद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण सुरु गर्न एक करोड रुपियाँ विनियोजन गरेको छु । 

गरिबका छोराछोरीलाई एमबीबीएस अध्ययन गर्न बिना धितो सुलभरुपमा ऋण उपलब्ध गराउने उद्देश्यले स्थापित जनता चिकित्सा शिक्षा कोषलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरेको छु । यो कार्यक्रमलाई प्रदेशका सबै स्थानीय तहबाट एक एक जना चिकित्सक उत्पादन नभएसम्म निरन्तरता दिइनेछ ।

उच्च शिक्षामा महिलाको पहुँच वृद्धि गर्नका लागि महिला तथा विपन्न विद्यार्थी छाक्रवृत्ति कार्यत्रम सञ्चालन गर्न ५० लाख रुपियाँ विनियोजन गरेको छु ।

विद्यार्थी भर्ना अभियानलाई सशक्त बनाइ आगामी दुई वर्षमा प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिनेछ । यसका लागि दलित, सीमान्तकृत समुदाय र दुर्गम क्षेक्रका बालबालिकालाई शैक्षिक सामग्री वितरण कार्यत्रम सञ्चालन गर्ने व्यवस्था गरिनेछ । सामुदायिक विद्यालयका बालबालिकालाई दिवा खाजा र पहाडका आठ जिल्लाका सामुदायिक विद्यालयका बालबालिकालाई टिफिल बट्टा उपलब्ध गराउने कार्यको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

प्रारम्भिक बाल विकास केन्द्रका बाल शिक्षिकाहरु र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन गर्न पाँच करोड ५० लाख रुपियाँ विनियोजन गरेको छु ।

युवा वैज्ञानिकहरुले गर्ने खोज अनुसन्धानको निम्ति युवा आविष्कार कोषको व्यवस्था गरेको छु । युवा उद्यमी र युवा आविष्कारलाई प्रोत्साह गर्न मदन भण्डारी मानव संशाधन कोष स्थापना गरिनेछ । यसका लागि एक करोड रुपियाँ विनियोजन गरेको छु ।

समग्र शिक्षा क्षेत्रका लागि एक अर्ब २८ करोड रुपियाँ बजेट प्रस्ताव गरेको छु ।

प्रदेश २ 

बेटी पढाउ, बेटी बचाऊ कार्यक्रमलाई निरन्तरता दिँदै यसअन्तर्गत २५ हजार छोरीहरुको शिक्षा विमा/मुद्दती कार्यत्रमका लागि ३० करोड ६४ लाख ७७ हजार रुपियाँ, अन्य कार्यक्रमहरुको लागि २४ करोड ८६ लाख रुपियाँ बजेट विनियोजनको छु ।

विद्यार्थीहरुलाई भौतिक दूरी कायम राखी पठनपाठन गराउनुपर्ने वर्तमानको आवश्यकतालाई ध्यानमा राख्दै विद्यालयको थप भवन निर्माण, थप कक्षाकोठा निर्माण, मर्मत सुधार, स्वयंसेवी शिक्षक भर्ना, रेडियो र टेलिभिजनबाट शिक्षण कार्य सञ्चालन तथा अनलाइन शिक्षा विस्तार गर्नुपर्ने भएकोले यस क्षेत्रका लागि १० करोड रुपियाँ बजेट विनियोजन गरेको छु ।

विद्यालयको बालबालिकाको स्वास्थ्य शारीरिक, मनोवैज्ञानिक तथा संवेगात्मक विकासका लागि तीन करोड २५ लाख रुपियाँ बजेट विनियोजन गरेको छु ।

उच्च शिक्षामा अध्ययनरत अति विपन्न दलित, मुस्लिम तथा जेहेन्दार विद्यार्थीको छात्रवृत्तिको लागि एक करोड रुपियाँ विनियोजन गरेको छु । 

छात्राहरुको आत्म रक्षा तालिमका लागि एक करोड ५० लाख रुपियाँ विनियोजन छु ।

वागमति प्रदेश

शिक्षा, भाषा तथा संस्कृति प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने संवैधानिक हकको सुनिश्चित गर्न शिक्षा प्रणालीमा आवश्यक सुधार गरिनेछ । साथै शिक्षालाई व्यावसायिक, सीपमूलक एवं उद्यमशीलतातर्फ अग्रसर बनाउँदै सक्षम, नैतिक एवं राष्ट्रिय हित प्रति समर्पित गुणस्तरीय जनशक्ति तयार गर्न जीवनोपयोगी र व्यवहारिक शिक्षामा जोड दिइनेछ ।

गुणस्तर शैक्षिक पूर्वाधार, प्रदेश समृतिको आधार भन्ने लक्ष्यलाई सार्थक तुल्याउन र सामुदायिक विद्यालय, सुरक्षित विद्यालय भन्ने मान्यतालाई व्यवहारिकृत गर्न विद्यालयहरुमा कक्षाकोठा एवं छात्रावास निर्माण, घेराबारसहित भौतिक सवलीकरण एवं पूर्वाधार विकास र विद्यालयमा सूचना प्रविधि ल्याब, स्मार्ट बोर्ड र विज्ञान प्रयोगशाला स्थापनाको व्यवस्था गरेको छु । यसका लागि ४४ करोड ८७ लाख रुपियाँ विनियोजन गरेको छु ।

कोभिड–१९ का कारण नियमित विद्यालय सञ्चालन अवरुद्ध भएको अवस्थामा समेत बालबालिकाको सिकाइलाई निरन्तरता दिन सङ्घीय सरकार र स्थानीय तहसँग सहकार्य गरी दूर तथा खुला शिक्षा र वैकल्पिक शिक्षण सिकाइ पद्धतिमार्फत सहजीकरण गर्न आवश्यक व्यवस्था मिलाएको छु ।

प्रदेशका अति सिमान्तकृत एवं लोपोन्मुख लगायत लक्षित समूहका बालबालिकाहरुको गुणस्तरीय विद्यालय शिक्षाको पहुँच सुनिश्चित गर्न सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, चितवन र धादिङ जिल्लामा गरी पाँच वटा आवासीय विद्यालयहरुको पूर्वाधार विकास र सञ्चालनका लागि १२ करोड रुपियाँ व्यवस्था गरेको छु ।

शुन्य दरबन्दी भएका सामुदायिक माध्यमिक विद्यालयहरुमा प्रतिविद्यालय एक माध्इमिक शिक्षक व्यवस्था गर्नुका साथै प्रारम्भिक बाल शिक्षकहरुको प्रोत्साहनलाई निरन्तरता दिएको छु । यसका लागि १८ करोड ७९ लाख रुपियाँ विनियोजन गरेको छु ।

२० वटा नमुना विद्यालयको गुरुयोजनाअनुसारको कार्यक्रम कार्यान्वयन प्रक्रिया अगाडि बढाउने तथा स्रोत साधनहरुको उच्चतम सदुपयोग गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सामुदायिक विद्यालयहरुलाई एक आपसमा समायोजनका लागि प्रोत्साहन गर्ने व्यवस्था मिलाएको छु । यसका लागि २६ करोड ५० लाख रुपियाँ विनियोजन गरेको छु ।

शिक्षा तालिम केन्द्रको सुदृढीकरण गरी शिक्षक तथा प्रधानाध्यापकहरुको क्षमता अभिवृद्धि गर्न प्रविधिमैत्री तथा विषयगत तालिम सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाएको छु ।

जीवनोपयोगी, व्यवहारिक एवं विज्ञान र प्रविधिमा आधारित प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमलाई प्रभावकारी तुल्याउन, प्राविधिक शिक्षा सञ्चालित विद्यालय तथा बहुप्राविधिक तथा प्राविधिक शिक्षालयहरुको भौतिक पूर्वाधार एवं मेसिनरी औजारको व्यवस्थाका लागि १९ करोड २५ लाख रुपियाँ विनियोजन गरेको छु ।

प्रदेशभित्र एकीकृत शैक्षिक सूचना प्रणालीको सुदृढीकरण र माध्यमिक शिक्षा (कक्षा १०)को परीक्षा सञ्चालन, व्यवस्थापन र प्रमाणीकरणलाई प्रदेशबाट नै सञ्चालन गर्न आवश्यक कानुनी र संस्थागत संरचनाको व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

प्रदेश सरकार र विश्वविद्यालय, सङ्काय, अध्ययन संस्थानबीच समझदारी गरी कम्तीमा स्नातक तह अध्ययन गरेका विद्यार्थीहरुलाई बढीमा एक वर्षसम्म प्रदेशबाट तोकिएको निकाय वा स्थानीय तहमा स्वयंसेवकको रुपमा काम गर्ने व्यवस्था मिलाइनेछ । यसरी काम गर्ने स्वयंसेवकले पाउने सुविधा लगायतका अन्य विषय समझदारीपत्रमा उल्लेख भएबमोजिम हुने गरी प्रदेश सरकार शिक्षालय सहकार्य कार्यक्रम सञ्चालनमा ल्याउन बजेट विनियोजन गरेको छु ।

प्रदेश विश्वविद्यालय स्थापना गरी शैक्षिक कार्यक्रम सुरु गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु । सामुदायिक क्याम्पसहरुको भौतिक सवलीकरण एवं सूचना प्रविधि तथा विज्ञान प्रयोगशालाको सुदृढीकरणका लागि १० करोड ३१ लख रुपियाँ विनियोजन गरेको छु । प्रदेशमा स्थायी बसोबास भएका सामुदायिक तथा सरकारी क्याम्पसमा अध्ययनरत छोरी बुहारीलाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गर्न बजेटको व्यवस्था गरेको छु ।

गण्डकी प्रदेश 

गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानको पूर्वाधार विकास र सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिएकोछु । गण्डकी विश्वविद्यालयअन्तर्गत सूचना प्रविधि विषय र शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन कार्य आगामी आर्थिक वर्षमा सुरु गर्ने गरी ४२ करोड ७५ लाख रुपियाँ व्यवस्था व्यवस्था गरेको छु ।

सामुदायिक विद्यालयमध्येबाट छनौट भएका विद्यालयलाई आदर्श विद्यालय र नमूना आवासीय विद्यालयको रुपमा विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छु । गुरुकुल, गुम्बा, मदरसा, भाषिक पाठशाला जस्ता वैकल्पिक विद्यालयको पूर्वाधार विकासमा आवश्यक बजेट विनियोजन गरेको छु । 

एमबीबीएस लगायत उच्च प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा छनोट भएका दलित, अल्पसंख्यक तथा गरिब विद्यार्थीलाई थप प्रोत्साहन गर्न उच्च शिक्षा प्रोत्साहन छाक्रवृत्ति कार्यत्रमलाई निरन्तरता दिएको छु ।

उच्च शिक्षा अध्ययनरत दलित, अल्पसङ्ख्यक तथा गरिब विद्यार्थीलाई प्रदेश सरकारको आवश्यकताका क्षेत्रमा अनुसन्धान गर्न शोधवृत्ति प्रदान गर्ने व्यवस्था मिलाएको छु । 

शैक्षिक जनशक्तिको क्षमता अभिवृद्धि गर्दै प्रविधिमैक्री शैक्षिक कार्यत्रमलाई निरन्तरता दिन शैक्षिक तालिम केन्द्रलाई सात करोड ९५ लाख रुपियाँ व्यवस्था गरेको छु ।

प्रदेश ५

अभियानको रुपमा स्थानीय तहसँगको लागत सहभागितामा सार्वजनिक विद्यालयमा शौचालय निर्माण एवम् खानेपानी तथा सरसफाइ सुविधा बिस्तारका लागि सात करोड २० लाख रुपियाँ र विद्यालयहरूमा अन्य पूर्वाधार निर्माणका लागि ११ करोड रुपियाँ गरी जम्मा १८ करोड २० लाख रुपियाँ विनियोजन गरेको छु । सार्वजनिक विद्यालयहरू विपद्को बेलाका जनआश्रयस्थल बन्ने गरेको यथार्थतालाई मनन गरी पूर्वाधारमा सुधार गरिनेछ ।

स्थानीय तह, सामुदायिक स्वास्थ्य संस्था, निजी स्वास्थ्य संस्था तथा गैरसरकारी संस्थाको सहलगानीमा विद्यालयमा परिचारिका कार्यक्रमको बिस्तारका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

प्रदेशको विकासको लागि आवश्यक प्राविधिक मानवपुँजी निर्माण गर्न विज्ञान, प्रविधि, गणित र ईन्जिनियरिङ (स्टेम) विषयलाई संस्थागत गरी विद्यालय शिक्षालाई रुपान्तरण गर्दै लगिनेछ । प्रदेशका सबै जिल्लामा “स्टेम“ परियोजना सञ्चालन गर्न पाँच करोड रुपियाँ विनियोजन गरेको छु ।

विज्ञान संकायमा अध्ययनरत छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्न दुई करोड ५० लाख रुपियाँ बजेटको व्यवस्था गरेको छु ।

मुक्त कमैया, कमलरी, मुस्लिम, दलित र पिछडावर्गका छात्राहरूका लागि कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न दुई करोड ५० लाख रुपियाँ व्यवस्था गरेको छु ।

मुस्लिम समुदायका छात्राहरूको शिक्षामा सहभागिता वृद्धि गर्न बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीका ६ वटा विद्यालयहरूलाई मुस्लिम छात्राहरूको छात्रावाससहितको नमूना विद्यालयमा रुपान्तरण गर्न तीन करोड रुपियाँ विनियोजन गरेको छु ।

प्रदेशलाई आवश्यक वन, कृषि, सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रका प्राविधिक जनशक्ति उत्पादनमा जोड दिइनेछ । प्रदेश विश्वविद्यालय ऐन प्रदेश सभाबाट पारित हुनासाथ बाँकेको खजुरामा प्रदेश विश्वविद्यालय स्थापना गरिनेछ । यसका लागि सात करोड रुपियाँ विनियोजन गरेको छु ।

विज्ञान र प्रविधिको क्षेत्रमा स्नातकोत्तर गर्दै गरेका युवालाई प्रदेशका सम्पदा र सम्भावनामा केन्द्रित रहेर शोध अनुसन्धान गर्नका लागि प्रदेश योजना आयोगमार्फत वर्षको १० विद्यार्थीलाई शोधवृत्ति प्रदान गरिने व्यवस्था सुरू गरिनेछ । आगामी वर्षका लागि १० लाख रुपियाँ विनियोजन गरेको छु ।

विशेष आवश्यकता भएका बालबालिकालाई लक्षित गरी स्थानीय तह तथा नेपाल सरकारसँगको सह(लगानीमा रुपन्देहीको कञ्चन गाउँपालिकाको रुद्रपुर माध्यमिक विद्यालय परिसरमा आवासीय सुविधासहितको सुस्तःमनस्थिति विशेष विद्यालय निर्माण गर्न एक करोड रुपियाँ र विशेष शिक्षा सहयोग कार्यक्रमका लागि एक करोड रुपियाँ गरी दुई करोड रुपियाँ विनियोजन गरेको छु । 

विज्ञान प्रविधि, अनुसन्धान तथा विकास, सिप विकास, सिप तथा सिपमूलक तालिमको नियमन, बहुप्राविधिक शिक्षालयको व्यवस्थापनका लागि प्रदेश सरकारको स्वामित्वमा प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना गर्न पाँच करोड ६२ लाख रुपियाँ विनियोजन गरेको छु । युवा जनशक्तिलाई रोजगारमूलक प्राविधिक शिक्षाका लागि रूकुम पूर्वको भुमेमा र दाङको तुल्सीपुरमा बहुप्राविधिक शिक्षालयको भौतिक संरचना निर्माण गर्न नौ करोड रुपियाँ छुट्टाएको छु ।

कर्णाली प्रदेश

दक्ष, सचेत र राष्ट्रप्रति वफादार नागरिक तयार गरी आधुनिक समाजको निर्माण गर्न शिक्षा क्षेत्रको विकासलाई मैले उच्च प्राथमिकता दिएको छु । नेपाल सरकार र स्थानीय तहसँगको समन्वयमा आगामी आर्थिक वर्षभित्र कर्णालीलाई पूर्ण साक्षर प्रदेश बनाइनेछ ।

प्रदेश शिक्षा नीति र कानुन तर्जुमा गरी नव सिर्जनशील वैज्ञानिक र मानव मूल्यमा आधारित शिक्षा विकास गरिनेछ । नेपाल सरकार र स्थानीय तहसँगको समन्वय र सहकार्यमा समयानुकूल पाठ्यक्रम तयार गरिनेछ ।

शैक्षिक पूर्वाधार, शिक्षण सामग्री र नवीन प्रविधिको प्रयोग गरी जीवनोपयोगी प्राविधिक शिक्षाको विकासका लागि स्थानीय तहसँग सहकार्य गरिनेछ ।

शिक्षाको गुणस्तर विकास र अनुसन्धानका लागि मध्यपश्चिम विश्वविद्यालयमा भाइरोलोजी ल्याब स्थापना र आवश्यक भौतिक पूर्वाधार विकासका लागि १० करोड रुपियाँ विनियोजन गरेको छु । गुणस्तरीय प्राविधिक जनशत्तिः उत्पादनका लागि पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको प्रक्रिया अगाडि बढाउन आवश्यक बजेट व्यवस्था गरिएको छ ।

हिमाली र विकट पहाडी क्षेत्रमा आवासीय विद्यालय निर्माण गरिनेछ । भूगोल एवं विद्यार्थी सङ्ख्याको आधारमा विद्यालय समायोजन गर्न प्रोत्साहन गरिनेछ । सामुदायिक क्याम्पस, एक निर्वाचन क्षेत्र एक प्राविधिक शिक्षालय र प्रदेश राजधानीमा अपाङ्गता भएका विद्यार्थीका लागि विशेष विद्यालय र दलित छात्रावास निर्माण गरिनेछ । उल्लिखित पूर्वाधार कार्यमा २८ करोड १० लाख रुपियाँ विनियोजन गरेको छु ।

दुर्गम पहाडी र हिमाली जिल्लामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सम्बन्धनमा सञ्चालित गैरनाफामूलक प्राविधिक शिक्षालयसँग प्राविधिक शिक्षा विकासका लागि संस्थागत साझेदारी गरिनेछ । ज्ञान र सीपसँगै स्वआर्जन (लर्न एण्ड अर्न) अवधारणामा सञ्चालन हुने विद्यालयको पूर्वाधार विकासमा सहयोग गरिनेछ । उल्लिखित कार्यक्रमका लागि चार करोड रुपियाँ विनियोजन गरेको छु ।

दक्ष प्राविधिक जनशक्ति विकास गर्न चिकित्सा, इन्जिनियरिङ, कृषि, भेटेरिनरी र सूचना प्रविधिमा उच्च शिक्षा अध्ययन गर्न चाहने आर्थिकरुपमा कमजोर जेहेन्दार विद्यार्थीलाई स्थानीय तहसँगको साझेदारीमा अध्ययनपछि तीन वर्ष सम्बन्धित स्थानीय तहमा अनिवार्य काम गर्ने गरी मापदण्डका आधारमा छात्रवृत्ति प्रदान गर्न दुई करोड रुपियाँ विनियोजन गरेको छु ।

शिक्षा क्षेत्रका उल्लिखित कार्यक्रम कार्यान्वयनका लागि जम्मा ८९ करोड रुपियाँ विनियोजन गरेको छु ।

सुदूरपश्चिम प्रदेश

प्रदेशस्तरमा विश्वविद्यालय, प्राविधिक विश्वविद्यालय तथा पोलिटेक्निक संस्था स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

कैलाली बहुमुखी क्याम्पसलाई खुला तथा वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ कार्यक्रम सञ्चालन गर्न अनलाइन कन्फरेन्स हल र इलाइब्रेरी व्यवस्थापन तथा सञ्चालन एवं भवन निर्माणका लागि एक करोड ५० लाख रुपियाँ विनियोजन गरेको छु ।

प्रदेशभित्रका विज्ञान तथा प्राविधिक विषय पठनपाठन हुने क्याम्पसहरुलाई प्रोत्साहन अनुदान र प्रदेशभित्रका नौ वटा नमूना क्याम्प्सहरुको व्यवस्थापनका लागि पूँजीगत अनुदान प्रदान गर्न दुई करोड ८५ लाख रुपियाँ विनियोजन गरेको छु ।

यस प्रदेशमा रहेको त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त एक मात्र कृषि क्षेत्रको सामुदायिक क्याम्पस गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पस, बैतडीको भवन निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

प्रदेशमा उच्च शिक्षा प्रदान गर्ने क्याम्पसहरुको भौतिक पूर्वाधारको अवस्था कमजोर भएको कारण अध्ययन अध्यापन गर्ने कार्य गर्न असहज भएकोले उच्च शिक्षा कार्यक्रमअन्तर्गत भवन निर्माण, क्याम्पसहरुमा पुस्तकालय व्यवस्थापन तथा आइसीटी व्यवस्थापनको लागि १५ करोड ७२ लाख विनियोजन गरेको छु ।

युवा जनशक्तिलाई प्रदेशकै सेवाका लागि प्रेरित गर्न मेरो विशेषज्ञता मेरै प्रदेशका लागि भन्ने मर्मसहित पिछडिएको वर्गका जेहेन्दार विद्यार्थीहरुलाई चिकित्सा शिक्षा छात्रवृत्ति, लक्षित वर्गका लागि उच्च शिक्षा अध्ययन छात्रवृत्ति र अतिविपन्न वर्गका विद्यार्थीहरुको लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम छात्रवृत्तिका लागि चार करोड ९३ लाख रुपियाँ विनियोजन गरेको छु ।

आर्थिक वर्ष २०७५/७६ र चालु आर्थिक वर्षमा निर्माण प्रारम्भ भएका र आगामी आर्थिक वर्षमा निर्माण गरिने प्राविधिक धारका सामुदायिक विद्यालयहरुमा छात्रावास निर्माणको लागि २८ करोड रुपियाँ विनियोजन गरेको छु ।

सङ्घीय सरकारको विशेष अनुदानमा महेन्द्र मावि खलङ्गा दार्चुला, केदार मावि दोगडाकेदार–४ पिपलकोट, बैतडी र जयपुर मावि देवलकोट पञ्चेश्व्र गापा बैतडीमा नमुना छात्रावास सहितको विद्यालय निर्माणका लागि विनियोजन गरेको आठ करोड रुपियाँको प्रभावकारी परिचालनबाट उपरोक्त विद्यालय भवनहरु त्दारुकताका साथ निर्माण गर्ने व्यवस्था मिलाएको छु ।

विद्यालय शिक्षालाई उच्च प्राथमिकता दिँदै सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार अभिवृद्धि गर्न दुई कोठे विद्यालय भवन, चार कोठे विद्यालय भवन, छात्रा शौचालय, विद्यालय संरक्षण तथा मर्मत संभार लगायत आइसीटी व्यवस्थापन गरी प्रदेशको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गरिनेछ । जसका लागि एक अर्ब १७ करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छु ।

कोभिड–१९ को संक्रमणको कारण विद्यालय शिक्षण सिकाइ कार्य असहज भइरहेको अवस्थामा वैकल्पिक सिकाइको माध्यमबाट सिकाइ सहजीकरण गर्ने कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने कार्यको थालनी गरिनेछ । जसका लागि एक करोड रुपियाँ विनियोजन गरेको छु ।

परम्परागत तथा धार्मिक प्रकृतिका विद्यालयहरु तथा विशेष शिक्षा सञ्चालित विद्यालयहरुको सुदृढीकरणको लागि एक करोड ८० लाख रुपियाँ विनियोजन गरेको छु ।

शिक्षकहरुको अध्ययन अध्यापन गराउने सिकाइ सीपसम्बन्धी क्षमता विकास गर्न प्रदेशस्तरबाट शिक्षकहरुको पेशागत विकास एवं तालिमको लागि एक करोड ८२ लाख रुपियाँ विनियोजन गरेको छु ।

A Levels MA
Thuprai - Books and E-books