मंसिर तेस्रो साताबाट हिमपात परेका कारण माथिल्लो मनाङ र नार्पाभूमि लगायतका स्थानमा वार्षिक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । कतै त्रैमासिक र कतै अर्धवार्षिक परीक्षा मात्रै सकिएको छ । वार्षिक परीक्षाको टुङ्गो लगाउन नपाउँदै प्रतिकूल मौसमका कारण विद्यालय बन्द गरिएको हो ।
फागुनमा नयाँ शैक्षिक सत्र शुरु हुने यो जिल्लामा विगतका वर्षमा यो समयमा वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरिसर्किको हुन्थ्यो । ङिस्याङ गाउँपालिका–६, माथिल्लो मनाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज घिमिरेले मङ्सिर २२ मा परीक्षा सकाएर विद्यालय बन्द गरिएको बताए । “हिउँले चिसो बढेपछि गाउँपालिकामा बैठक बसेर यसवर्ष जाडो अघिको पढाइलाई टुङ्ग्याउन बाध्य भयौं”, उनले भने । हिउँ नपरे फागुन १५ र परे चैत १ बाट विद्यालय खुला गर्ने निर्णय भएको छ ।
“कोरोना सङ्क्रमण यस वर्ष साउनबाट शैक्षिक सत्र सुरु गर्नुपर्यो । गत वर्ष चैतबाट सुरु हुन्थ्यो,” उनले भने, “कोरोनाले शैक्षिक सत्र नै फेर्नुपर्यो ।”
आधारभूत तहका विद्यालय मङ्सिर २० गतेबाटै बन्द गरिएको छ । यसवर्ष शैक्षिक सत्रको ४ महिना पछाडि धकेलिएको छ । कोरोनाले २०७७ मङ्सिरमा लिनुपर्ने वार्षिक परीक्षा २०७८ असारमा लिनुपरेको घिमिरेले बताए । ङिस्याङ गाउँपालिका शिक्षा तथा खेलकूद शाखा अधिकृत बाबुराम गैह्रेले माथिल्लो मनाङका सबै विद्यालय बन्द गरिसएिको जानकारी दिए ।
पुस १ गतेबाट लागू हुने गरी ४५ दिनको हिउँदे बिदा दिइएको छ । “मङ्सिर १७÷१८ बाट नै हिउँ पर्न थाल्यो । प्रायः गोरखालीका बालबच्चा छन् यहाँ । हिउँ पर्न थालेपछि गाह्रो भयो, बच्चा लानुपर्यो भन्दै अभिभावक आउने र बालबालिका लिएर जान थालेपछि विदालय बन्द गरिएको शिक्षा शाखाले जानकारी दियो । शिक्षा शाखाका अनुसार ङिस्याङ गाउँपालिकामा एउटा माध्यमिक विद्यालय, तीन वटा कक्षा १–७ सम्मको आधारभूत, एउटा कक्षा १–३ सम्मको आधारभूत र चार वटा कक्षा १–५ सम्मको आधारभूत विद्यालय छन् ।
हिउँदे बिदा माघ १५ गतेसम्मको लागि गरिएको छ । त्यसपछि विद्यालय खुल्छ ।” स्थानीय तहले माघ १५ गतेसम्मको लागि विद्यालय बन्द गरेपनि चिसोका कारण पठनपाठन हुन नसक्ने र विद्यार्थी नआउने भएकाले बिदा बाहेक विकल्प नभएको विद्यालयले जानकारी दियो ।
विद्यालय बिदा भएसँगै मनाङका शिक्षक अन्य समय विद्यालय प्रशासन खोलेर बस्ने गरेको छन् । नार्पाभूमि गाउँपालिकाको फू गाउँस्थित फू आधारभूत विद्यालय मङ्सिर १५ गतेदेखि नै बन्द भएको शिक्षक कृष्णप्रसाद अधिकारीले बताए । उनले भने, “गाउँमा बस्न सक्ने अवस्था छैन । चिसोले सबै तल झरिसक्नुभएको छ, विद्यालय बन्द गरेका छौं ।”
उनका अनुसार नारमा रहेको आधारभूत विद्यालय पनि बन्दछ । सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कोइरालाले चामे गाउँपालिकाले हिउँदे बिदा पुस १५ गतेदेखि माघ १५ गतेसम्मलाई मात्रै तोकेको बताए ।
गाउँपालिकाले अघिल्ला वर्षमा ५० दिन तोकेको थियो । “कोभिडले विद्यालय चलाउन सकेनौं । गत जेठ ३१ पछिको बाढीपहिराले विद्यालय भवन बगाउदा अझ लामो समय विद्यालय खुलाउन सकेनौं । बाढीपहिराले जलविद्युत् बगाउदा अनलाइन कक्षा पनि चलाउन सकेनौं,” प्रधानाध्यापक कोइरालाले भने, “बल्ल–बल्ल तीन महिना जति पढायौं । फेरि यहाँको चिसोले बन्द गर्नुप¥यो ।”
उनका अनुसार कक्षा ८, ९ र १० को परीक्षा शनिबारदेखि सकिँदैछ । आधारभूत तहको परीक्षा यसअघि नै सकिएको छ । “तीन महिना जति पढाए पनि परीक्षा भने अर्धवार्षिक तरिकाले ४० पूर्णाङ्कको लिएका छौं । नतिजा सार्वजनिक गरेर विद्यालय बन्द गर्ने तयारी गरेका छौं”, उनले भने, ।
उनका अनुसार पिउने पानी र सडकमा पानी जमेर बरफ बनेको छ । मनाङमा जनजीवन कष्टकर बनेको छ । “केही हुन्छ कि भनेर अलि अलि ढिला गर्यौं तर साना बच्चाको प्रस्तुतिले कतै हामीले बालबालिकालाई सजाय त दिएनौं भन्ने सोचर आवासमा बस्ने बालबालिकालाई पनि समस्या हुनसक्ने भएकाले छिटोछिटो परीक्षा गरेको उनले जानकारी दिए ।
चामे गाउँपालिका शिक्षा तथा खेलकूद शाखा संयोजक इन्द्रजङग गुरुङका अनुसार पुस १५ गतेदेखि माघ १५ गतेसम्म हिउँदे बिदा गरिएको छ ।
पुस १५ मा विद्यालयले अर्धवार्षिक परीक्षा सक्ने उनले बताए । “हिमपातले असर गरेन भने माघ १६ गतेबाटै खुला गर्छौै । हिमपातले असर गर्न थाल्यो भने फागुन १ गतेबाट जसरी पनि विद्यालय खुलाउनु पर्ने हुन्छ”, उनले भने ।
नासों गाउँपालिका–५ थोंचेस्थित प्रकाशज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमराज पन्थीले जाडो बिदा पुस १५ गतेबाट हुने बताए । उनले भने, “जाडो बिदा खासगरी ११ गतेबाट हुन्छ । स्थानीय बिदा ५ दिन जोडेर १६ गतेबाट लागू हुने गरी जाडो बिदा तोकेका छौं ।”
उनका अनुसार फागुन १ गतेबाट पठनपाठन सुरु हुनेछ । अहिले पहिलो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ । शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख मोतीप्रसाद चापागाईंले चिसो बढ्दै गएपछि मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका सबै विद्यालय बन्द भएका गरिएको बताए ।
चामे र नासोंमा परीक्षा अन्तिम अन्तिममा पुगेको र विद्यालय बन्द हुने क्रममा रहेको उनले जनकारी दिए । उनले भने, “हिमपातसँगै चिसो बढ्न थालेको छ । चिसोले बस्न नसक्ने अवस्था भएपछि परीक्षा सकाएर स्थानीय तहले जाडो बिदा दिएको छ ।”
शिक्षा नियमावली अनुसार वर्षमा ४५ दिन विद्यालय बन्द गर्न मिल्छ । यसमा ५ दिन स्थानीय बिदा लिने व्यवस्था अनुसार बिदा बढाइएको छ । तर, विद्यालय खुल्ने, खुलाउने र बन्द गर्ने निर्णय पछिल्लो समय स्थानीय तह र यस मातहतमा रहेकाले शिक्षा शाखाले प्रधानाध्यापकको बैठकमार्फत निर्णय गर्ने गरेका छन् ।
मनाङमा चार माध्यमिक, नौ आधारभूत र १३ प्राथमिक (आधारभूत) गरी कूल २६ वटा सामुदायिक विद्यालय छन् । शिक्षक टाढाटाढाबाट आउने÷जाने गर्नुपर्ने भएकाले बिदाको समयबाहेक अन्य समय समेत थप गरी मनाङको पढाइ प्रभावित हुँदै आएको छ ।