रोल्पा नगरपालिका–८ जङ्कोटका १२ वर्षीय सीता वली शुक्रबार बेलुका काफल टिप्न जान्छिन् । टिपेको काफल बिक्रीका लागि शनिबार बिहानै उनी सदरमुकामतर्फ लाग्छिन् ।
उनको घर जङ्कोटदेखि सदरमुकाम लिवाङ पुग्न करीब तीन घण्टाको पैदलयात्रा हिँड्नुपर्छ । “काफलको सिजन हो, अहिले म प्रत्येक शुक्रबार यसरी नै काफल टिप्न जान्छु र शनिबार बजारमा लगेर बिक्री गर्छु”, उनले भनिन् । उनीसँगै काफल बेच्न आएकी सोही ठाउँकी कक्षा– ८ मा अध्ययनरत जमुना वलीले भनिन्, “बुबा,आमा कृषि पेशा गर्नुहुन्छ, हामीले भने जती पढाइखर्च दिन सक्नुहुन्न, यसरी काफल बेचेर कमाएको पैसाले हामी कापीकलम किन्ने र नास्ता खाने गर्दछौँ ।”
घरमा आफ्ना अभिभावक बेरोजगार हँुदा पनि सानो कक्षामा पढ्ने बालबालिकाले यो समस्या भोग्नु परेको हो । “आफू सानै उमेरको हुँदा आमा अर्कैसँग विवाह गर्नुभयो रे, बुबा कता हुनुहुन्छ पत्तै छैन”, काफल बेच्न सदरमुकाम आएकी कक्षा ७ मा अध्ययनरत सम्झना परियारले भनिन् । “पढ्ने मन त साह्रै हो, तर के गर्नु बुबा,आमा कसैको माया र साथ पाइन, तै पनि सङ्घर्ष गरेर पढ्ने प्रयास गरिरहेकी छु”परियारको दुःखेसो छ ।आफन्त चमेली परियारको घरमा बसेर उनी अध्ययन गरिरहेकी छिन् ।
यी त केही उदाहरण मात्र हुन् । अहिले काफलको सिजन हो । जिल्लाका अधिकांश जङ्गल क्षेत्रमा काफल पाइने गर्दछ । शुक्रबार दिउँसो काफल टिप्न जाने अनि शनिबार बिहानै बजारमा पु¥याएर बिक्री गर्ने अधिकांश रोल्पाली बालबालिकाको अहिले दैनिकी जस्तै बनेको छ । “काफलको सिजन छ, सबैले हामी जस्तै गरी काफल बेच्न जान्छन्, भने जति भाउ पाइदैन, सहजै बिक्री पनि हुँदैन” टँुडिखेलमा काफल बेच्दै गरेकी जङ्कोट आधारभूत विद्यालय कक्षा ७ मा पढ्ने चमेली परियारले भन्नुभयो ।
“पहिलो पटक आउँदा त १५ रुपैयाँको एक गिलास पनि बेचियो, यसपाली १० रुपैयाँको एक गिलास पनि बिक्री भएन, अब के गर्ने र घर फर्काएर लाने त होला” परियारले भनिन् ।
शनिबार सदरमुकामका बजार बन्द हुने र स्थानीय सरकार गठन भएसँगै बजारमा देखिएको चहलपहलको कमिका कारण पनि ती बालबालिकाले बिक्रीका लागि ल्याएको काफल बिक्री हुन नसकेको स्थानीय व्यापारी रामकुमार केसीले बताउनुभयो ।
“अरु दिन काफल बिक्री गर्न आउ भने पढाइ छुट्छ, शनिबार बिक्री गर्न आउँदा बिक्री नै हुँदैन”, उनीहरुको गुनासो छ । आफूहरुलाई खर्च नपुग्दा पढाइमा समस्या परेको गुनासोसमेत गरेका छन् । आफूहरुको पढाइसमेत प्रभावित भए पनि खर्च जुटाउनका लागि काफल बिक्री गर्नुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।
रोल्पामा दुई लाख २४ हजार ५०६ जनामध्ये करीब तीन हजार २०० घरधुरी गरीबीको रेखामुनी रहेका छन् । गरिबीकै कारण जिल्लामा एक हजार ७०० बालबालिका विद्यालय बाहिर रहेका छन् । यसभित्र पनि असाहय र अनाथ बालबालिका सबैभन्दा बढी मारमापर्ने गरेका छन् । साँझ बिहान एक छाक जुटाउनकै लागि भए पनि अधिकांश बालबालिका इँटाभट्टा, होटेल, पसलमा श्रम गर्न बाध्य छन् ।
शिक्षा र बालबालिकाको क्षेत्रमा जिल्लामा विभिन्न सङ्घ, संस्थाले काम गरिरहे पनि अझै धेरै सङ्ख्यामा बालबालिका विद्यालय बाहिर रहेका छन् ।
विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनका लागि र गरिबीकै कारण विद्यालयमा भर्ना भए पनि कापी,कलम जुटाउनका लागि भए पनि काफल बेच्नु परेको अवस्थाको अन्त्यका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।
–उमा के सी