विद्यालयलाई विद्यार्थीको चिन्ता

करिब चार हजार विद्यार्थी भएको विद्यालयलाई अहिले विद्यार्थीको भविष्य कतातिर जान्छ भन्ने चिन्ता परेको छ । ‘ देश लकडाउन भएको ४१ दिन भइसक्यो कहिले खुल्छ थाहा छैन, नयाँ शैक्षिक सत्रको एक महिना बित्न लाग्यो ।’ प्रधानाध्यापक श्रेष्ठ भन्छिन्, ‘वैकल्पिक शिक्षण माध्यमको पहुँचमा सबै विद्यार्थी छैनन्, अब कसरी यिनीहरूको पढाइ अघि बढाउने चिन्ता लागिरहेको छ ।’

कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी अभाव छ । विद्यार्थी कम भएकै कारण कति विद्यालय मर्ज भइसकेका छन् । मर्ज भएका विद्यालयको भौतिक सम्पत्ति अलपत्र छ । पुराना भवन जीर्ण भइ खण्डहर जस्तै देखिएका छन् । यिनी सामुदायिक विद्यालयका बिचमा केही यस्ता सामुदायिक विद्यालय पनि छन् जहाँ विद्यार्थी खचाखच छन् । पूर्वाधार अभावमा भर्ना हुन आएका सबै बालबालिकालाई भर्ना दिँनै सकिँदैन । सामुदायिक विद्यालयका कारण नजिकका निजी विद्यालयमा विद्यार्थी घटेका छन् । निजी छाडेर सामुदायिक विद्यालयमा बर्षेनि विद्यार्थी आउनेक्रम बढ्दो छ । सामुदायिक विद्यालयमा आकर्षण बढेको छ । यिनै आकर्षक विद्यालयको बिचमा छ झापा बिर्तामोडको देवी माध्यमिक विद्यालय ।

फोटोः नेत्रप्रसाद अधिकारी

यो विद्यालयमा तीन–चार वर्षअघि विद्यार्थी न्यून थिए । विद्यालयको पढाई पनि ठिकै थियो । तीन वर्ष अघि र पछिमा विद्यालयमा आमुल परिवर्तन आएको छ । देवी मावि प्रदेश नं. १ कै सबैभन्दा बढी विद्यार्थी भएको विद्यालय पनि भएको छ । दुई वर्ष अघि सम्म बाँसको टहरामा पठनपाठन हुँदै आएको विद्यालयमा अहिले २४ कोठाको पक्की भवन निर्माण भइसकेकोे छ । विद्यालयमा अहिले ४८ वटा कक्षाकोठा रहेका छन् । बाँसका ९ वटा टहरामा ७ वटा हटाईएको छ । विद्यालयले पठनपाठनमा सुधार गर्दै लगेपछि स्थानीय सरकार तथा विभिन्न क्षेत्रको सहयोगमा भवन निर्माण गरिएको हो ।

देवी माविले उच्च मावि शुरु गरेपछि विद्यालय नजिकैको कन्काई क्याम्पसले विज्ञान संकाय बन्द गर्नुपरेको स्रोतको भनाई छ । देवी माविमा अहिले व्यवस्थापन,विज्ञान, शिक्षा समूहमा सबैमा ६ देखि १० ओटा भन्दा धेरै सेक्सन छन् । विद्यालयले कानुन र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी)संगको सम्बन्धनमा कम्युटर इन्जिनियरिङ पनि शुरु गरेको छ ।

२०१९ सालमा स्थापना भएको सो विद्यालय २०६४ मा मावि भएको थियो भने २०६८ देखी प्लस टु सञ्चालन गरेको हो । विद्यालयमा अहिले ३ हजार ९७६ विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक अम्बिका श्रेष्ठले बताईन् । माविमा १ हजार ७१७ र कक्षा ११–१२ मा २ हजार ५५९ विद्यार्थी छन् । करिब चार हजार विद्यार्थी भएको विद्यालयलाई अहिले विद्यार्थीको भविष्य कतातिर जान्छ भन्ने चिन्ता परेको छ । ‘ देश लकडाउन भएको ४१ दिन भइसक्यो कहिले खुल्छ थाहा छैन, नयाँ शैक्षिक सत्रको एक महिना बित्न लाग्यो ।’ प्रधानाध्यापक श्रेष्ठ भन्छिन्, ‘वैकल्पिक शिक्षण माध्यमको पहुँचमा सबै विद्यार्थी छैनन्, अब कसरी यिनीहरूको पढाइ अघि बढाउने चिन्ता लागिरहेको छ ।’

‘ग्रीन, क्लीन, पीस एण्ड सेफ’ भन्ने नाराका साथ विद्यालय अघि बढेको छ । हरित विद्यालय बनाउनका लागि जनप्रतिनिधि समेत लागेका छन् । जनप्रतिनिधि झापा बाहिर जाँदा नयाँ बिरुवा फेला पारे विद्यालयमा ल्याएर दिने गरेको शिक्षक उमेशकुमार शाहुले बताए । उनले भने, ‘उपप्रमुख भारतको सिलगुडी जानु भएको रहेछ, आउँदा १२० वटा नयाँ जातका बिरुवा लिएर आउनु भयो ।’ राती १२ बजे मलाई विद्यालयमा बोलाएर उपप्रमुख पवित्रा महतराले बिरुवा दिएर जानुभयोे ।’

साहुका अनुसार हरित विद्यालय बनाउनका लागि स्वामी, कस्टेल, मयुरपंखी, रुद्राक्ष लगायतका बिरुवा लगाइएको छ । विद्यालय नजिकै घर भएका उनी विद्यालयमा अहोरात्र खट्ने गरेका छन् । सामुदायिक विद्यालय सुधार्ने भए अधिकांश समय विद्यालयलाई दिनुपर्ने उनी बताउँछन् । दैनिक विद्यालयलाई १६ घण्टा सम्म दिने गरेको उनले बताए ।

साहु मात्रै हैन विद्यालयमा अधिकांश शिक्षकहरूले १२ घण्टाभन्दा वढी समय दिने गरेका छन् । ६ घण्टाको तलब पाएपनि अरु ६ घण्टा तलब भत्ता सुविधा विनै विद्यालयको विकासका लागि शिक्षकहरू खटिने गरेका छन् ।

विद्यालयलाई व्यवस्थापन समितिका अध्यक्ष ज्ञानुराम प्रसाई र शिक्षक अभिभावक संघका अध्यक्ष गणेश तामाङ प्राय विद्यालयमै भेटिने गरेका छन् । विद्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर विद्यालयमै बसेर काम गर्ने, छलफल गर्ने गरिएको व्यवस्थापन समितिका अध्यक्ष प्रसाईले बताए । उनका अनुसार विद्यालय शनिबार पनि खुल्ने गरेको छ । शनिबार विद्यालय सरसफाई गरिने, बोटबिरुवा गोडमेल लगायतका काम गर्ने गरिएको उनको भनाई छ ।

देवी माविमा बिर्तामोड नगरपालिका वडा नम्बर १, ४, ५, ६ र अर्जुनधारा नगरपालिका वडा नम्बर ६ र ११का साथै इलाम पाँचथर, ताप्लेजुङ जिल्लाका विद्यार्थी अहिले अध्ययनरत छन् । विद्यालयमा सुविधा सम्पन्न कक्षाकोठा र प्रयोगशाला, शिक्षणमा आईसीटी प्रयोगको विस्तार, व्यवस्थित खेलमैदान र सुरक्षित कम्पाउण्ड, हरित विद्यालय कार्यक्रम, गुणस्तरीय शिक्षाका लागि योजनाबद्ध कार्यक्रम, हरेक कक्षामा बुक कर्नर, हरेक कक्षामा सीसी क्यामरा र प्रोजेक्टर, हरेक कक्षामा कन्ट्रोल मेकानिजम सहितको साउण्ड सिस्टमको व्यवस्था गरिएको प्रधानाध्यापक श्रेष्ठले बताईन् ।

देवी माविमा निजी स्रोतबाट ९४ जना शिक्षक र १२ जना कर्मचारी रहेका छन् । प्रावि तहमा २८ जना, निमाविका ९, माविका ५ र प्लस टुका २ जना सरकारी शिक्षक रहेको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिइन् ।

स्थानीय सरकार पनि बिर्तामोड नगरपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा लागेको छ । उसले झापाका अन्य नगरपालिका भन्दा बढी शिक्षा क्षेत्रमा वजेट छुट्याएको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले शिक्षाका लागि २ करोड बढी बजेट छुट्याएको नगरप्रमुख ध्रुव सिवाकोटीले बताए । नगरपालिकाले सवै सामुदायिक विद्यालयाई समानरुपमा हेर्ने गरेको उनको भनाइ छ । नगर भित्र १८ वटा सामुदायिक विद्यालय रहेका छन् ।

Thuprai - Books and E-books