ट्युसन बाजेका कथा

“ट्युसन पढ्ने चलन त्यो बेलादेखि नै हुन्थ्यो” नेपालका पहिलो गभर्नर हिमालयशमशेर जबराले भने, “शिक्षककहाँ जानु पर्दैन थियो । शिक्षक घरमै आउँथे ।” कहलिएका शिक्षकहरू दरबारमा पढाउन जान्थे । कतिपय शिक्षकको पेसा नै दरबारमा ट्युसन पढाउने हुन्थ्यो । त्यस्ता शिक्षकलाई ‘ट्युसन बाजे’ भनिन्थे रे । दरबारसम्म कोही हिँडेर पुग्थे, कोही साइकलमा । आकर्षक आय आर्जनको राम्रो स्रोत थियो– ट्युसन ।

थापाथलीको एउटा दरबारमा खेदिएका प्रधानमन्त्री देवशमशेरका सन्तान बस्दै आएका थिए । हिमालयशमशेर एक्लोलाई ट्युसन पढाउन शिक्षकहरू दरबार पुग्थे । कखरा सिक्नेदेखि छ कक्षासम्म उनले घरमै स्वअध्ययन गरे । ट्युसन बाजेहरूले उनलाई पढाइदिएका थिए । कक्षा ७ पुगेपछि बल्ल उनी औपचारिक शिक्षाका लागि दरबार हाइस्कुल भर्ना भए । भारदारका छोराछोरीहरू प्रारम्भिक शिक्षा ट्युसन बाजेहरूसँग आर्जन गर्ने र माथिल्लो कक्षा पुगेपछि विद्यालयमा भर्ना हुन जाने चलन नै बनिसकेको थियो ।  

दरबारमा ट्युसन पढाउन जाने शिक्षकको दरबारसम्म राम्रो पहुँच बनिसकेको हुन्थ्यो । सुनिएका रमाइला प्रसङ्ग पनि छन् । कतिपय ट्युसन बाजेहरूले त घरमा श्रीमति सुत्केरी छ वा न्वारान गर्नुपर्ने छ वा ब्रतबन्ध गर्नुपर्ने छ भनेर पनि थप रकम राणाजीहरूसँग तान्न माहिर हुन्थे । सुनिएको एउटा प्रसङ्ग– नरेन्द्रबहादुर बस्नेतले ‘आई एम अ क्लोन विफोर दी क्राउन’ भनेर दरबारबाट मोटरसाइकल बक्सिस पाएथे रे । ट्युसन बाजेहरुले मासिक एक सयदेखि दुई सय रुपियाँसम्म पाउँथे ।

त्यस्ता ट्युसन बाजेले भारदारका पक्षमा वकालत गर्नुलाई अन्यथा कसरी मान्न सकिन्थ्यो र ? मास्टरलाई विद्यार्थीहरू उजुरी गर्न पुग्थे– मास्टरसाब, फलानो राणाले मलाई कुट्यो । मास्टर साहेबसँग भारदारका छोराछोरीलाई कारवाही गर्ने आँट कहाँबाट मिल्थ्यो र ? उल्टै सर्वसाधारण विद्यार्थीलाई कुट्ने राणाजीका छोरालाई मास्टर साहेबले भन्थे रे– रछानमा ढुङ्गाले हान्दा छिटा आउँछ ।

माथिल्लो कक्षामा पुगेपछि चुक्ली लगाउने कुरा खासै हुँदैन थिए । दरबार हाइस्कुलमा अध्ययन गरे पनि पूर्णकालीन विद्यार्थी नभएरै हुनुपर्दछ हिमालयशमशेरले भारतीय शिक्षकले भारदार र सर्वसाधारणका छोराछोरीबीच भेदभाव गरेको देख्न पाएनन् । उनले नेपाली शिक्षकले गर्दा होलान् तर धेरै जसो बंगाली शिक्षक भएकाले त्यस्तो भेदभाव कक्षाकोठामा नदेखेको सुनाउँछन् । “अझ बंगाली शिक्षकहरुले त त्यस्तो भेदभाव नगरेकोमा गर्व गर्दथे” उनले थपे, “बंगाली शिक्षकहरू ‘स्ट्रेट’ थिए ।”

किस्सा रमाइला रमाइला छन् । दरबार हाइस्कुलका शिक्षक थिए– वासुदेव भट्टराई । राणा विद्यार्थीहरूले ‘भट्टराई बाजे’ भन्ने गरेका यिनलाई स्कुलमै तमाखु खानु पथ्र्याे । हाफटाइममा तमाखु खानैपर्ने । विद्यार्थी प्रमोदशमशेरले हुक्कामा पिसाब फेरी दिएका रहेछन् । गन्ध आयो । पालेलाई हुक्काको पानी नफेरी तमाखु किन हालेको भनेर सातो लिएछन् । पालेले होइन भनेपछि बद्माशी गर्नेका बारेमा खोजी भयो । प्रमोदशमशेरले सकारे । भट्टराई बाजेले बद्माश भन्ने गालीमात्र पाए । भारदार बाहेकका विद्यार्थीले त्यो काम गरेको भए कुटाइमात्र खानुपर्थेन, स्कुलबाटै निकाला हुनुपथ्र्याे ।

तिनै ट्युसन बाजेको अर्काे प्रसङ्ग– पाठ सुनाउन नसक्दा बेन्चमाथि उभ्याइदिए प्रमोदशमशेरलाई । प्रमोदशमशेर पिसाब आयो भनेर उम्किन खोजे । पिसाब च्यापिसक्यो भने । ट्युसन बाजेले त्यही गरिदेउ भन्दिए । चकचके प्रमोदशमशेरले के बाँकी राख्थे र ? बेन्चमै उभिएर पिसाब गरिदिए । सुरुवालबाट धरर पिसाब चुहियो । घर जाउ भनेर पठाइदिए । अरु विद्यार्थी भैदिएको भए के हुन्थ्यो?

ट्युसन पढाउन दरबार हाइस्कुलका हेडमास्टर बोधविक्रम अधिकारी पनि पुग्थे । देवीप्रसाद रिमाल पनि पुग्थे । हिमालयशमशेरलाई धेरै समयसम्म भैरवबहादुर प्रधानले ट्युसन पढाइदिएका थिए । उनले अङ्ग्रेजी, इतिहास आदि विषय पढाउँथे । नेत्रबहादुर थापा भूगोल विषय पढाउँथे । संस्कृत र नेपाली विषयको ट्युसन पढाउन विन्दुनाथ शर्मा प्याकुरेल पुग्थे । “विन्दुनाथ मेरा पिताजीको क्लास फ्रेन्ड पनि हुन् । उनले मलाई साहित्यमा शोख जगाइदिएका थिए” १९९८ सालको एसएलसी परीक्षार्थी हिमालयशमशेले भने, “मलाई इमान्दारिता सिकाएको भैरबहादुर प्रधानले हो । त्यो बेला नैतिक बाटोमा जानुपर्छ भनेर सिकाइन्थ्यो । अब त नैतिक शिक्षा नै पढाइँदैन रे ।”

हिमालयशमशेरका बाजेहरु प्रधानमन्त्री वीरशमशेरको पालादेखि अध्ययनका लागि अजमेरको मियो कलेज वा कलकत्ता विश्वविद्यालयमा जान्थे । मियो कलेजमा अङ्ग्रेजीमा पढाइन्थ्यो, तर फ्रेन्च अनिवार्य थियो । उबेला नेपालमा संस्कृत अनिवार्य भएको जस्तो । त्यसैले उनका पुर्खालाई फ्रेन्च भाषा पनि आउँथ्यो । देवशमशेरलाई पनि फ्रेन्च भाषा आउँथ्यो । मियो कलेजमा फ्रेन्च दोस्रो विषय हुन्थ्यो भने अङ्ग्रेजी तेस्रो विषय हुन्थ्यो ।

त्यो बखत कक्षा ७ लाई रोमनमा आईभी अर्थात फोर्थ ग्रेड भनिन्थ्यो । कक्षा ८ लाई थर्ड ग्रेड, कक्षा ९ लाई सेकेन्ड ग्रेड र कक्षा १० लाई फष्र्ट ग्रेड भन्ने चलन । हिमालयशमशेर स्मरण गर्छन्, “कसैले तिमीहरु कुन क्लासमा पढ्छौ ? भनेर सोध्दा हामीले फष्र्ट ग्रेडमा पढ्छौँ भनेर भन्थ्यौँ ।” 

चन्द्रशमशेरका छोरा केशरशमशेर । केशरका छोरा साम्राज्य र मुरारीशमशेर । केशरमहलदेखि दरबार हाइस्कुलको दूरी एक किलोमिटर पनि छैन । साम्राज्य र मुरारी गाडी चढेर दरबार हाइस्कुल पुग्थे । बाटो त त्यो बेला पनि फराकिलो नै थियो । त्यो बेला कार चढेर स्कुल पुग्नेहरु साम्राज्य र मुरारीमात्र थिए । भारदारका छोराहरु घोडा वा बग्गी चढेर । अरु त हिँडेरै । पाटनबाट सत्यमोहन जोशी पनि हिँडेरै दरबार हाइस्कुल पुग्थे । थापाथलीबाट घोडा चढेर जान्थे हिमालयशमशेर । सयसले उनलाई घोडाबाट ओराल्थ्यो । त्यहाँ पढुन्जेल सयसले घोडालाई समाएर बसिरहन्थ्यो । पढाइ सकिएपछि घोडा चढेर फर्किन्थे । 

हिमालयशमशेर पूर्णकालीन विद्यार्थी थिएनन् । टुरिस्ट विद्यार्थी जस्तो । उनी ‘क्याजुअल स्टुडेन्ट’ बनेर पढेको बताउँछन् । उनी अपरान्ह ११÷१२ बजेतिर स्कुल पुग्थे । आठ वटा विषय थिए– अङ्ग्रेजी प्रथम र द्वितीय, भर्नाकुलर, इलिमेन्ट्री संस्कृत, गणित, इतिहास, भूगोल र अतिरिक्त विषयहरूमध्येबाट कुनै एक । उनले तीन वटा जति कक्षामात्र ‘एटेन्ड’ गर्थे । साथमा खाजा लगिएको हुन्थ्यो । “दरबार हाइस्कुलको बुइगलमा पालेले लिएर जान्थे । तेस्रो तलामा बुइगल थियो । उनले धूलो टकटकाएर हामीलाई बस्ने ठाँउ बनाइदिन्थे । त्यही बसेर खाजा खान्थ्यौँ” उनले स्मरण गरे ।

साम्राज्यशमशेर, सिंहप्रताप शाह, भूपेन्द्र शाह लगायत उनका सहपाठी । सिंहप्रतापहरूले खासै पढाइमा रूची राख्दैन थिए । जबरजस्ती स्कुलमा जान्थे । उनीहरूको काम नै मास्टरलाई जिस्क्याउने मात्र हुन्थ्यो । शिक्षक बाबुराम थिए । उनले एच् ओ आर् एस् ई हार्स, डी ओ जी डाग् भनेर पढाउँथे । उनैले स्टेट्म्यान अङ्ग्रेजी दैनिक लिएर हिँड्थे । अनि हार्स र डाग् भनेर पढाउने भएपछि विद्यार्थीहरुले निकै खिसी गर्थे । उनले घोक्नमात्र भनिरहन्थे । कक्षाकोठामा पुगेपछि उङ्न थाल्थे । त्यो पत्रिका पढ्नुभन्दा पनि मुख ढाक्न काम लाग्थ्यो । उनी उङ्न थालेको देखेपछि विद्यार्थीहरु गलल हाँस्न थाल्थे । झस्किएर ब्युझिन्थे । निद्रा बिथोलिएपछि बेतले विद्यार्थीलाई कुट्नसम्म कुट्थे । जसले उनलाई घरैबाट पान मसला, सुपारी, लड्डु, पेडा लगिदिएको हुन्थ्यो ती पिटाइ खानबाट जोगिन्थे । बाँकीको हुर्मत लिइछाड्थे । पान मसला लिएर जाने विद्यार्थीहरु अनुपस्थित भएका दिनमा समेत हाजिरी जनाइदिन्थे रे यी मास्टर साहेबले ।

अमर बाबु निकै कडा शिक्षक । कान निमोठी दिन्थे । पिट्न पनि अग्रसर । उनीहरु जस्ता अरू पनि बंगाली शिक्षक थिए । शिक्षक कडा भए पनि विद्यार्थी बद्माशी गर्न चुक्दैन थिए ।