After SEE Portal

आगामी वर्ष प्रदेश १ लाई पूर्ण साक्षर प्रदेश घोषणा गरिने

Bridge Course

प्रदेश १ आगामी आर्थिक वर्षमा पूर्ण साक्षर घोषणा गरिने भएको छ । आगामी वर्षको बजेट भाषणमा प्रदेश १ लाई पूर्ण साक्षर घोषणा गर्ने भनिएको छ ।

समुदायमा रहेका नवसाक्षरहरुलाई स्थानीय तहको समन्वयमा निरन्तर शिक्षाका कार्यक्रमहरु सञ्चालन गरी जीवनपर्यन्त सिकाइमा आवद्ध गर्ने बजेटमा भनिएको छ ।

‘औपचारिक, अनौपचारिक वा अतिरिक्त तरिकाले व्यावसायिक शिक्षा र तालिम लिएका व्यक्तिलाई राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली अन्तर्गत सीप परीक्षण गराई सम्मानजनक रोजगारीका अवसर वृद्धि गर्ने कार्यक्रमलाई आवश्यक बजेट विनियोजन गरेको छु ।’ बजेट भाषणमा घोषण गरिएको छ ।

प्रदेश १ ले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिँदै भौतिक सुविधाको विस्तार एवं शिक्षामा सूचना प्रविधिको प्रयोग र प्रवर्द्धन गर्नका लागि रु ९ करोड ६५ लाख बजेट विनियोजन गरेको छ ।

प्रत्येक जिल्लामा एकएक नमुना विद्यालय

 प्रदेश एक भित्रका सबै जिल्लामा एक एक ओटा नमुना विद्यालय छनोट गरिने भएको छ ।

उत्कृष्ट व्यवस्थापन र नतिजा भएका सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्न प्रत्येक जिल्लाबाट एक एक ओटा विद्यालय छनौट गरी प्रति विद्यालय रु १० लाखका दरले पुरस्कृत तथा प्रोत्साहन गर्न बजेट विनियोजन गरिएको छ ।

शिक्षाको गुणस्तरलाई प्रारम्भिक तहदेखिनै मजबुत बनाउँदै लैजान स्थानीय तहसँगको साझेदारीमा प्रदेश स्तरीय नमुना माध्यमिक विद्यालय र बालमैत्री आधारभूत विद्यालय विकास, व्यवस्थापन र सञ्चालन गर्ने कार्यका लागि रु. ९ करोड २५ लाख बजेट विनियोजन गरेको छ ।

प्रत्येक जिल्लामा विज्ञान प्रयोगशाला

प्रत्येक जिल्लामा एक–एक ओटा विज्ञान प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।

 विज्ञान शिक्षक अनुदान कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । विज्ञान शिक्षक र प्रयोगशालाका लागि रु. २ करोड ११ लाख बजेट विनियोजन गरेको छ ।

प्राविधिक शिक्षाका लागि करिब ५ करोड

 ‘प्राविधिक शिक्षामा लगानी, समृद्ध प्रदेशको बिहानी’ भन्ने नाराका साथ प्रदेश भित्र सञ्चालनमा रहेका प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रदान गर्ने शिक्षालय र विद्यालयहरुको भौतिक तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गरी प्रयोगात्मक र व्यावहारिक सिकाइको सुनिश्चितताका लागि रु. ४ करोड ६५ लाख बजेट व्यवस्था गरेको छ।

शिक्षक तालिम

 शिक्षकको पेशागत दक्षता अभिवृद्धि गर्न र विद्यार्थी सिकाई उपलब्धी सुधारका लागि प्रधानाध्यापकलाई व्यवस्थापन तथा सञ्चालन तालिम, शिक्षकलाई सेवा प्रवेश र सेवाकालिन तालिम, विज्ञान प्रविधि, इन्जिनियरिङ्ग र गणितको तालिम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको बजेट भाषणमा उल्लेख गरिएको छ ।

मनमोहन प्राविधिक विश्वविद्यालयलाई रु. १७ करोड

 मनमोहन प्राविधिक विश्वविद्यालयलाई प्रदेश गौरवको शैक्षिक संस्थाको रुपमा विकास गर्न इन्जिनियरिङ र स्वास्थ्य विषयको स्नातक तहको अध्ययन प्रभावकारी बनाउन रु. १७ करोड विनियोजन गरेको छ ।

प्रादेशिक चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान स्थापना गर्न विस्तृत संभाव्यता अध्ययनको लागि आवश्यक बजेट विनियोजन गरेको छ ।

उच्च शिक्षामा लगानी अभिवृद्धि गरी गुणस्तरीय रोजगारमुलक शिक्षाको सुनिश्चितताको लागि सामुदायिक क्याम्पस सुदृढीकरण गर्न पूँजीगत एवं संचालन अनुदानका लागि रु. १० करोड ४५ लाख विनियोजन गरेको छ ।

 

A Levels MA
Thuprai - Books and E-books