यसरी बनौँ असल अभिभावक

अल्बर्ट आइन्स्टाइन कक्षा ६ मा पढ्दै गर्दा उनका अभिभावकलाई विद्यालयबाट पत्र आयो । जसमा लेखिएको थियो, “तिम्रो छोराले पढ्न सक्दैन, अरु विद्यार्थीसँग स्तर नै मिल्दैन । त्यसैले भोलिदेखि विद्यालय नपठाउनू ।” आमाले पत्र पढेर आइन्स्टाइनलाई भन्नुभयो, “बाबू, विद्यालयले भनेको छ, तिम्रो पढाइको स्तर अरु विद्यार्थीभन्दा उच्च छ, विद्यालयले तिम्रो स्तरलाई पढाउन सक्दैन रे । तसर्थ, तिमी भोलिदेखि घरमै बसेर अध्ययन गर्नू ।” आइन्स्टाइनले विश्वास गरे र घरमै बसेर अध्ययन गर्न थाले । तिनै आइन्स्टाइनलाई आज हामी भौतिकशास्त्रका महान् वैज्ञानिक भनेर चिन्छौँ ।

    

माथिको उदाहरणबाट प्रष्ट हुन्छ कि बालबालिकाहरु असल मानिस बन्न घरबाट हुने सहयोग कस्तो हुनुपर्छ र त्यसले बालबालिकामा कस्तो सहयोग गर्छ भनेर । कतिपय अभिभावकहरु सोध्ने गर्नुहुन्छ, “मेरा छोरोछोरीले पढ्दै पढदैनन् । भनेकै मान्दै मान्दैनन् । दिक्क बनाइसके......सर, लौन के गर्ने होला ?” उहाँहरुका यस्ता प्रश्नहरु आउँदै गर्दा म सोच्ने गर्छु, उहाँहरुले चाहिँ आफ्ना बालबालिकाका लागि गर्नैपर्ने कुराहरु केके गर्नुभएको होला ? अभिभावकहरुका , माथिका प्रश्नहरुको उत्तर ठ्याक्कै यही नै हो भनेर पाउन त गाह्रो छ । यो लेखमा मात्र ‘असल अभिभावक कसरी बन्ने भन्ने’ सम्बन्धमा केही कुराहरु उजागर गर्न खोजिएको छ ।

१. बालबालिकालाई पर्याप्त समय दिनुहोस् ।     

अमेरिकन लेखक Dr. Seuss ले भनेका छन्: "A person is a person no matter how small." हिजोआज दैनिक कार्यव्यस्तताका कारण धेरै अभिभावकहरुले आफ्ना बालबच्चालाई पर्याप्त समय दिन सकिरहेका छैनन् । बिहान अफिस जाँदा बच्चाहरु सुतिरहेका हुन्छन्, फर्किँदा निदाईसकेका । उनीहरुका बारेमा उनीहरुसँगै बसेर कुरा नगर्दा बालबालिकाहरुमा मनोवैज्ञानिक असर पर्न सक्छ । कतिपय अभिभावकहरुको सोचाइ हुन्छ, केटाकेटीहरुसँग के कुरा गर्ने, बुझ्दैनन्, बुझे पनि केही गर्न सक्ने होइनन् । तर यो गलत सोचाइ हो । अझ केटाकेटीहरुले केही भनेमा “चुप लाग्, सानो मान्छे ठूलो मुख !” भन्ने अभिभावकहरु पनि देखिनुहुन्छ । यसले बच्चालाई हतोत्साहित बनाउँछ । उनीहरुसँगै बस्ने, खेल्ने, उनीहरुकै स्तरको गफगाफ गरिदिने, उनीहरुका रुचिका कुरा गर्ने, आफ्ना बाल्यकालका कुराहरु सुनाउने, उनीहरुका कुरा सुन्ने, पारिवारिक जमघट र निर्णयमा उनीहरुलाई पनि सरिक गराउने जस्ता काम गर्न सकिन्छ । यसो गर्दा बालबालिकाहरु अभिभावक तथा घरपरिवारप्रति सकारात्मक बन्न पुग्छन् । समयसमयमा बाहिर घुमाउन लगी विभिन्न धार्मिक, साँस्कृतिक एवम् प्राकृतिक सम्पदाहरुको भ्रमण गराई त्यस्ता सम्पदाहरुको महत्व बुझाउन सके झन् राम्रो हुन्छ ।

 २. उनीहरुका कुरा र भावना बुझ्नुहोस् ।

 बालबालिकाहरु के सोच्छन्, के गर्छन्, के बोल्छन् आदि कुराहरुको जानकारी अभिभावकले राख्नै पर्छ । उनीहरुकै राम्रो र फाइदाका लागि भनेर गरिएका र भनिएका कुराहरुको तरिका नमिल्दा उनीहरुमा नकारात्मक धारणाको विकास भइरहेको हुनसक्छ । सानो गल्तीमा ठूलो सजाय दिने, हप्काउने, कुटपिट गर्ने, नियन्त्रणमा लिन खोज्ने जस्ता कार्यहरुले कलिला मस्तिष्क बोकेका बालबालिकाहरुमा अनावश्यक तनाव सिर्जना गर्दछ । यसरी उत्पन्न हुने तनाव व्यवस्थापन गर्न उनीहरुलाई निकै गाह्रो पर्छ । बालबालिकाहरुलाई अरु बालबालिकाहरुसँग तुलना गर्ने भुल कदापि गर्नु हुँदैन । हामीले के बुझ्नुपर्छ भने हरेक व्यक्ति फरक हुन्छ र हरेक व्यक्तिले केही न केही विशेष गुण बोकेर यस धर्तीमा आएको हुन्छ । एकदमै राम्रो नाच्नेलाई देखाएर आफ्नो बालबालिकालाई “तँ किन त्यसरी ननाचेको ?” भन्दै गाली गर्नु शोभनीय हुँदैन ।     

 ३. सजाय हैन, हौसला र प्रेरणा दिनुहोस् ।    

 बालबालिकाहरु स्वभावैले जिज्ञासु, सिकारु, चकचके हुन्छन् । उनीहरुले सिक्ने क्रममा गरेका कुराहरुलाई प्रोत्साहन दिएर प्रेरित गर्दै अघि बढ्नुपर्छ । गलत कुराहरुलाई हतोत्साहित हुने गरी गलत नभनी सच्याउँदै अघि बढ्दा राम्रो हुन्छ । परीक्षामा फेल भएर निराश बनेको बेलामा नआत्तिन ढाडस दिनुपर्छ, जसले गर्दा बालबालिकाहरु असफल भएर पनि निराश नहोऊन् । बालबालिकाहरुसँग खेल्दा, बोल्दा उनीहरुजस्तै बनिदिनुपर्दछ । भनिन्छ नि, Children are likely to live up to what you believe of them. 

 नेपालको संविधान २०७२ को भाग ३ धारा ३१ मा मौलिक हकको रुपमा शिक्षासम्बन्धी ५ वटा हकहरु उल्लेख गरिएको छ । साथै सोही भागको धारा ३९ मा बालबालिकाको हकलाई मौलिक हकको रुपमा उल्लेख गरिएको छ । बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद ८, दफा ६६ ले पनि “घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने कार्यलाई बालबालिका विरुद्धको कसुर मानेको छ । र, त्यस्तो कसुर गर्नेलाई ५० हजार रुपियाँसम्म जरिवाना र १ वर्षसम्म कैद हुने व्यवस्था छ । तसर्थ, बालबालिकासँग रहँदा, खेल्दा उनीहरुसँग गरिने व्यवहार आत्मीय, सहयोगी र मायालु हुनुपर्दछ । ‘स्याबास, राम्रो... ’ जस्ता शब्दहरुले मात्रै पनि उनीहरुको जीवनमा सकारात्मक उर्जा भरिरहेका हुन्छन् ।     

 ४. बालबालिकाहरुलाई राम्रो गर भन्नुभन्दा पहिले आफू राम्रो गर्नुहोस् ।    

अमेरिकन उपन्यासकार James Baldwin ले भनेका छन्, "Children have never been very good at listening to their elders but they have never failed to imitate them." नक्कल गर्नु बाल स्वभाव हो । हामीले राम्रो गरे बालबालिकाले राम्रो नै सिक्छन् भने नराम्रो गरे नराम्रो । यो ध्रुवसत्य नै हो । अभिभावकहरुले कहिल्यै पनि आफ्नो तनाव वा रिस बालबालिकामाथि देखाउनु हुन्न । उनीहरुका अगाडि जाँडरक्सी पिउने, चुरोट, खैनी, सुर्ती आदि सेवन गर्ने, झैझगडा गर्ने, कुटपिट गर्ने गर्नु हुँदैन । कतिपय अभिभावकहरु त बालबालिकालाई नै चुरोट, रक्सी आदि ओसार्न लगाउनुहुन्छ, अनि रक्सीकै तालमा बच्चाकै अगाडि चुरोटको धुवाँ फाल्दै भन्नुहुन्छ, “मेरो छोरोले पढेन, बिग्रियो ।” बच्चालाई बनाउने नियम आफू पनि पालना गर्नुहोस् । प्रसिद्ध जर्मन मनोवैज्ञानिक Erich Fromm ले भनेका छन्, " Why should society feel responsible only for the education of children and not for the education of all adults of every age?" बालबालिकालाई पढ् पढ् भन्दा आफूचाँहि पढ्छु कि पढ्दिन, नयाँ सिर्जनशील काममा समय लगाउँछु कि लगाउँदिन भन्ने कुरा पनि महत्वपूर्ण हुन आउँछ । यसलाई बालबालिकाहरुले नबोलेरै सूक्ष्म रुपमा मूल्याङ्कन गरिरहेका हुन्छन् ।     

५. गलत सङ्गत हटाउनुहोस्, पढ्ने वातावरण बनाउनुहोस् ।

अङ्ग्रेजीमा एउटा भनाइ छ " Do not be deceived. Bad company corrupts good morals." जतिसुकै व्यस्त भए पनि समय निकालेर आफ्ना बालबच्चाहरु कोसँग हिँड्छन् ? कोसँग विद्यालय जाने आउने गर्छन् ? कता जान्छन् र के गर्छन् ? भन्ने कुराको एकदमै ख्याल राख्नुपर्छ । घरमा पढ्ने वातावरण सिर्जना गरिदिनुपर्छ । अध्ययन सामग्रीहरु जुटाइ दिनुपर्छ । विद्यालयका शिक्षकहरुसँग नियमित सम्पर्कमा रहने, विद्यालयले डाकेको समयमा विद्यालयमा अनिवार्य रुपमा पुगेर आफ्ना बालबच्चाको बारेमा बुझ्ने गर्नुपर्छ । यसले गर्दा बच्चामा ‘मेरो लागि बुबाआमाले चासो दिनुभएको छ’ भन्ने भावना जाग्दछ । पितामाताप्रतिको आदर र सम्मान बढ्छ । बच्चा नराम्रो बाटोमा हिँड्ने सम्भावना कम हुन्छ । उनीहरुलाई अध्ययनको महत्व बुझाउन सक्नुपर्दछ । Dr. Seuss ले भनेको यो कुरा उनीहरुलाई महसुस गराउन सक्नुपर्दछ ।

     "The more that you read, the more things you will know,

      The more you learn, the more place you will go." 

 ६. नैतिक तथा व्यवहारिक ज्ञान र संस्कार सिकाउनुहोस् ।    

बालबालिकालाई किताबी ज्ञानमा मात्रै सीमित नराखी उनीहरुलाई नैतिक तथा व्यवहारिक शिक्षा दिनु महत्वपूर्ण कुरा हो । सानालाई माया, ठूलालाई आदर, पाहुनालाई स्वागत, भड्किलोपनबाट अलग, नम्र बोली, शिष्ट व्यवहार, सहयोगी भावना, आफ्नो काम आँफै गर्ने बानी, भान्साका वा घरायसी कामहरु सिक्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, झुटो नबोल्ने, चोरी नगर्ने, अरुको सहयोगमा धन्यवाद भन्ने जस्ता असल संस्कारयुक्त व्यवहारहरु सिकाउनुपर्छ । असल संस्कारमा हुर्केको बालबालिकाले मात्र असल समाजको निर्माणमा सहयोग गर्न सक्छ भन्ने कुरा आत्मसात् गराउनुपर्छ ।     

 ७. मोबाइल तथा टेलिभिजनको सही प्रयोग सिकाउनुहोस् ।

आजभोलि अभिभावकहरुको धेरै गुनासो सुनिन्छ कि बच्चाहरु टेलिभिजन, मोवाइल तथा कम्प्युटरमा धेरै समय बिताउँछन् र पढ्दैनन् । यसको पनि उपाय खोज्न सकिन्छ । आफ्नै प्रत्यक्ष निगरानीमा मोवाइल तथा कम्प्युटरमा उनीहरुका पुस्तकका विषयवस्तुसँग मिल्दाजुल्दा कुराहरु खोजेर डाउनलोड गर्न, विशिष्ट व्यक्तित्वहरुका जीवनी तयार पार्न, परियोजना कार्यका लागि सामग्रीहरु सङ्कलन गर्न, पाठसँग सम्बन्धित भिडियो र अडियोहरु हेर्न र सुन्न प्रोत्साहन गर्नुहोस्, सहयोग गर्नुहोस् । बालबालिकालाई एक्लै डिजिटल उपकरणमा लामो समयसम्म भुल्न दिनु फेरि घातक हुन सक्छ । यतातिर पनि विचार पुग्नुपर्ने देखिन्छ । 

     अन्त्यमा,

बालबालिकाहरुलाई समस्याहरुसँग जुध्न पनि सिकाउनुहोस् । उनीहरुका सबै कुरा आफैले गरिदिनुभन्दा उनीहरु आफैलाई समस्याको समाधान निकाल्न प्रेरित गर्नुहोस् । आत्मनिर्भर बन्न सिकाउनुहोस् । अनुशासित बनाउनुहोस् र अन्याय सहनु हुँदैन भन्ने पनि सिकाउनुहोस् । बच्चाहरुलाई माया गर्ने नाममा उग्र अभिभावकत्व प्रदान गरिरहेका छौँ कि सचेत अभिभावकत्व ? यसबारे पनि सोच्नुहोस् । समय, परिस्थिति, परिवेश फेरिएको छ । सबै कुरामा बच्चालाई नियन्त्रणमा राख्न खोज्नु मूर्खता पनि हुन सक्छ । तसर्थ, Kahlil Gibran को बालबालिका सम्बन्धी कविताको अनुवादित अंश यहाँहरुलाई छोड्दै यो लेखको अन्त्य गर्न चाहन्छु ।

     तिम्रा बच्चा तिम्रा होइनन्

     उनीहरु जीवनको आफैप्रतिको चाहनाका

     छोराछोरी हुन्

     उनीहरु तिमीमार्फत् आएका हुन्, तर

     तिमीबाट आएका होइनन्

     र, उनीहरु तिमीसँग भए पनि तिम्रा भने

     होइनन् ।

     तिम्रा वच्चा तिम्रा होईनन् ।