पर्वत, १७ भदौ (रासस) ः पर्वतको कुश्मा नगरपालिका–७ गोदाममा रहेको युवावर्ष आधारभूत विद्यालयमा यो वर्ष ३५ विद्यार्थी भर्ना भएका छन् । गत वर्ष सो विद्यालयमा करीब २५ जना विद्यार्थी अध्ययनरत थिए ।
बिहान १० बजे सबै विद्यार्थी प्रार्थनामा जम्मा हुन्थे । जब खाजा खानका लागि ४५ मिनेटको ‘टिफिन टाइम’ हुन्थ्यो, त्यसपछि विद्यालयमा थोरै मात्र विद्यार्थी बाँकी रहन्थे । खाजाखान घरमा गएका विद्यार्थी फर्किँदैन थिए ।
अभिभावक मेलापात र रोजगारीमा जाँदा दिउँसो घरमा शून्य हुने भएकाले विद्यार्थी विद्यालय आसपासमा रहेका फलफूलका रुखमा भुण्डिन्थे । कक्षा सञ्चालन भइसक्दा पनि उनीहरू विद्यालयमा नफर्किँदा दिउँसोको २ बजे नै ४ बजेपछिको हुन्थ्यो । तर, अहिले विद्यालयको वातावरण फेरिएको छ । विद्यालयमा ४ बजेसम्म सबै विद्यार्थी बस्छन् ।
विद्यालयभन्दा केही तल निजी तथा आवासीय विद्यालय छन् । ती निजी विद्यालयबाट १० जना विद्यार्थी युवा वर्षमा फर्किएका छन् । निजी विद्यालयबाट १० जना विद्यार्थी सामुदायिक विद्यालयमा फर्किनु सङ्ख्यामा थोरै भएको भए पनि महत्वपूर्ण उपलब्धि भएको विद्यालयका प्रधानाध्यापक खड्कराज पुरीले बताउनुभयो ।
विद्यालयको वातावरणमा परिवर्तन आउनुमा विद्यार्थीलाई दिइने खाजा रहेको छ । स्थानीय प्रेम विक र वडा नंं. ७ कार्यालयले खाजा उपलब्ध गराएपछि विद्यालय समयसम्मै विद्यार्थी बस्ने गरेको प्रधानाध्यपक पुरीले बताउनुभयो ।
विद्यालयमा रहेका १२ जना छात्राका लागि विकले र बाँकी २३ जना विद्यार्थीलाई वडा कार्यालयले खाजा उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षमा विद्यार्थीको खाजा खर्चका लागि रु एक लाख वजेट विनियोजन गरेको सो वडाले चालू आर्थिक वर्षमा रु ६० हजार विनियोजन गरेको छ । ‘यो विद्यालयमा गरीब, दलित र मजदूरका छोराछोरी अध्ययनरत छन् । उनीहरूको घरमा खाजा खुवाउन नसक्ने अवस्था पनि छ । खाजाकै कारण पनि विद्यार्थी विद्यालय आउन र शिक्षा प्राप्त गर्न सकुन् भनेर दिवा खाजा कार्यक्रमको थालनी गरेका हौँ,’ वडाध्यक्ष सुवासचन्द्र पौडेलले भन्नुभयो, “यो कार्यक्रमका लागि अघिल्लो आर्थिक वर्षमा रु एक लाख र चालू आर्थिक वर्षमा रु ६० हजार विनियोजन गरेका हौँ ।” खाजा कार्यक्रमको थालनी गरिएसँगै विद्यालयमा विद्यार्थीको टिकाउ दर राम्रो देखिएकाले खाजालाई निरन्तरता दिने योजना रहेको वडाध्यक्ष पौडेलले बताउनुभयो ।
समाजसेवी विकले ‘छोरी पढाउ’ अभियान चलाउँदै आउनु भएको छ । यही अभियानअन्तर्गत उहाँले तीन वर्षदेखि विद्यालयका बालिकाका लागि खाजाका साथै शैक्षिक सामग्री उपलब्ध गराउँदै आउनुभएको छ ।
शिक्षक हरिप्रसाद आचार्यले विकले यो वर्ष १२ जना बालिकाका लागि खाजा, स्टेशनरी, पोशाक, झोलालगायतका सामग्रीको उपलब्ध गराएको जानकारी दिनुभयो । प्रधानाध्यापक पुरीका अनुसार विकले कक्षा– ५ सम्मको अध्ययन पूरा गरी नारायण मावि र शिवालय माविमा अध्ययनका लागि गएका छात्रालाई पनि निरन्तर सहयोग गर्दै आउनुभएको छ ।
उहाँले भन्नुभयो, “यहाँबाट अर्को विद्यालयमा गएका छात्राले १२ कक्षा पढ्ने बेलासम्म खाजा, पोशाक, स्टेशनरीलगायतका सामग्री विकले उपलब्ध गराउँदै आउनुभएको छ ।” विद्यालयमा विपन्न परिवारका बालबालिका अध्ययनरत रहेकाले खाजाको प्रभावले विद्यार्थीलाई विद्यालय पठाउन सजिलो भएको अभिभावकहरुले बताउनुभयो । दलित तथा आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थी विद्यालयमा रहेकाले अघिल्लो वर्षसम्म विद्यार्थी खाजाकै खोजीमा विद्यालय नजिकै रहेका स्थानीयवासीका अम्बा, कागती, सुन्तला, भोगटेका रुखमा झुण्डिने गरेको उनीहरूको भनाइ छ ।
दिवा खाजा कार्यक्रम सुरु भएपछि अहिले विद्यालयमा दैनिक विद्यार्थी उपस्थिति दर ९५ प्रतिशत भएको शिक्षक आचार्यको भनाइ छ ।
लक्ष्मीप्रसाद सापकोटा
–––