After SEE Portal

बाँसगढीको आधारभूत तहको प्रश्नपत्र निर्माणमा गम्भीर लापरबाही

Bridge Course

भनिन्छ गुणस्तरीय शिक्षा भनेको फरर अङ्ग्रेजी लेख्न र बोल्न सक्ने हुनु हो । त्यसैले आज भोलि धेरै अभिभावकको रोजाइको माध्यम भाषामा अङ्ग्रेजी पर्ने गरेको छ । त्यसो भए एकछिन कल्पना गर्नुस् त !  नेपालको पहिलो महिला राष्ट्रपति को नाम ......हो । यो वाक्यलाई तपाईं अङ्ग्रेजीमा कसरी  कसरी लेख्ने ! फेरी अर्को प्रश्नमा  हामी सधैं सफा हुनुपर्छ ? भन्ने वाक्यलाई अङ्ग्रेजीमा कसरी लेख्नुहुन्छ ?

बर्दियाको बाँसगढी नगरपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयको स्तरमापन नमूना मूल्याङ्कन गर्ने तरिका एउटै हुने गरी शैक्षिक सत्र २०७८ देखि सञ्चालन गरेको पालिका स्तरीय आधारभूत तह कक्षा ५ को परीक्षामा अङ्ग्रेजीमा ‘What is the first women president .......of  Nepal’  र दोस्रो प्रश्नको ‘We clean the everyday’ भनेर अङ्ग्रेजी करण गरिदिएको छ ।

पालिकाले सञ्चालन गरेको स्तर मापन भनिएको परीक्षाको प्रश्न नं. २ को खाली ठाउँ भर भन्ने प्रश्नको ए को र प्रश्न नं. ३ को ए कै प्रश्नको अङ्ग्रेजी करण गर्दा प्रश्नपत्र निर्माण कर्ताले यस्तो गम्भीर त्रुटि गरेको पाइएको हो । यी दुई प्रश्नमा मात्र होइन धेरै प्रश्नमा यसरी नै अङ्ग्रेजी भाषाको प्रयोग गरेको छ । 

तीन समूहका दुई पूर्णाङ्कका ११ ओटा प्रश्नमा नेपालीको अङ्ग्रेजीमा रुपान्तरण गर्दा गलत वाक्य निर्माण गरेको पाइएको छ । कक्षा पाँचको सोसियल एण्ड क्रिएटिब आर्टस् विषयको प्रश्नपत्रमा यस्तो गल्ती गरेको पाइएको हो ।

आज भोलि सबैको भरपर्दो भाषा अनुवादको माध्यम गुगल ट्रान्सलेसन भएको छ । गुगलले गरेको ट्रान्सलेसनलाई प्रश्नपत्र निर्माण कर्ताले जस्ताको तस्तै राख्दा वा निर्माण कर्ताको ज्ञानको स्तरका कारण यस्तो गम्भीर गल्ती भएको भन्ने विषयमा अभिभावकले चासो राख्नु पर्ने विज्ञले सुझाए ।

पालिकाले कार्यशालाबाट समूह छुट्याइ प्रश्नपत्र निर्माण गरेको थियो । सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीलाई एउटै तहका प्रश्नद्वारा मूल्याङ्कन गर्न नेपाली र अङ्ग्रेजीमा प्रश्नपत्र निर्माण गर्दा गुगल ट्रान्सलेसनमात्र गरेको, प्रुफ रिडिङ नगरेको हुँदा त्रुटि हुन गएको पालिकाका शिक्षा शाखा प्रमुख छत्रबहादुर शाहीले बताए । ‘प्रश्न निर्माणकर्ता, शिक्षा शाखा, कम्प्युटर टाइपिष्ट, डिजाइनर सबैबाट त्रुटि भएकै हो ।’ उनले भने, ‘परीक्षाहलमा प्रश्न बाँडिनुभन्दा केही अगाडिमात्र थाहा पाएर विद्यार्थीलाई सुधारेर लेख्न लयायौं ।’

पालिकाले पहिलो पटक कक्षा पाँचको परीक्षा लिनका लागि कार्यपालिकाबाट निर्णय पारित गराई निजी र सामुदायिकमा एउटै प्रश्नपत्र निर्माण गरेको थियो । आधारभूत तहमा विषय विज्ञ शिक्षक नभएको, दरबन्दी मिलानका क्रममा राम्रालाई भन्दा ह्राम्रालाई प्राथमिकता दिँदा सामान्य बोलचालको भाषामा समेत समस्या देखिएको अभिभावकको गुनासो छ ।

सबै प्रश्न गलत भएकाका कारण माफी माग्नुभन्दा पनि परीक्षा पुनः सञ्चालन गर्नुपर्ने अभिभावक निर्मल ओलीले बताए । प्रश्न निर्माणकर्ता जवाफदेही हुनुपर्ने कतिपय अभिभावकको भनाइ छ ।

प्रश्नपत्रमा गल्ती नै गल्ती देखिएपछि पालिकाको शिक्षा शाखाले विज्ञप्ति निकालेर नै माफी मागेको छ । पालिकाले प्रकाशन गरेको विज्ञप्तिमा प्रश्नपत्र निर्माण गर्दा केही प्रश्नहरुमा अङ्ग्रेजी रुपान्तरणमा त्रुटि हुन गएको स्वीकार गरिएको छ ।

लामो समय विद्यालयमा पाइला टेक्न नपाएका विद्यार्थीको मापन गरी आगामी शैक्षिक योजना निर्माण गर्ने लक्ष्यका साथ पालिकाले कक्षा पाँचको पनि परीक्षा सञ्चालन गरेको हो । पालिकाले नै परीक्षा सञ्चालन गर्नका लागि कार्यशालाबाट गएका प्रश्नपत्र निर्माण कर्ताले यस्तो प्रश्न निर्माण गरेपछि अन्य कक्षाको प्रश्नपत्रको स्तर कस्तो होला ? भनेर खोज्ने बेला आएको स्थानीयको धारणा छ ।

‘शिक्षा जस्तो संवेदनशील विषयमा यस्ता त्रुटि हुनु असान्दर्भिक विषय ठहरिन्छ तथापि कार्य गर्ने क्रममा जहाँबाट जसरी त्रुटि हुन पुगेपनि आधाकारिक निकायले यसको जवाफदेहिता तथा जिम्मेवारी लिनुपर्ने दायित्वबोध हामीले गरेका छौँ । लामो समय विविध कारणले बन्द भएका शैक्षिक संस्थाहरु सहज रुपमा संचालन हुदा विद्यार्थीहरुको स्तर केकस्तो छ भन्ने विषय मापन गरी आगामी शैक्षिक सुधारको योजना बनाउने लगायतका सकरात्मक सोचका साथ यो मूल्याङ्कन तरिकाको सोच गरिएको हो ।’ विज्ञप्तिमा भनिएको छ ।

 ‘यस पटक भएको त्रुटिप्रति हजुरहरुको चासोले हामीलाई अझै संवेदनशील तथा त्रुटि रहित रुपमा अगाडि बढ्न हौसला प्रदान गरेको छ । हजुरहरुको साथ,सहयोग तथा सल्लाहबाट हाल भएको त्रुटिको समीक्षा गरी आगामी दिनमा यस्ता त्रुटिहरु नदोहोरिने गरी अघि बढ्ने प्रतिबद्धता यसै विज्ञप्ति मार्फत व्यक्त गर्दछौं।’ विज्ञप्तिमा उल्लेख छ ।

A Levels MA
Thuprai - Books and E-books