ज्येष्ठ नागरिक (निमावि र मावि तहका कक्षाका लागि पाठको उदाहरण)

. परिचय

नेपालमा साठी वर्ष उमेर पूरा गरेको नेपाली नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ । जीवन यापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति नभएको, पालनपोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएको र परिवारको सदस्य भए पनि निजले पालनपोषण नगरी अपहेलित वा उपेक्षित जीवन यापन गर्नुपरेको ज्येष्ठ नागरिकलाई असहाय ज्येष्ठ नागरिक भनिन्छ । शारीरिक वा मानसिक रुपले अशक्त ज्येष्ठ नागरिकलाई अशक्त ज्येष्ठ नागरिक भनिन्छ । ज्येष्ठ नागरिकलाई शुल्क लिएर वा नलिएर दिउँसोको समयमा हेरचाह गर्नका लागि स्थापना गरिएको घर वा आश्रमलाई हेरचाह केन्द्र भनिन्छ । ज्येष्ठ नागरिकलाई खाने, लाउने, बस्ने, घुमफिर गर्ने, मनोरञ्जन गर्ने र धार्मिक कार्यममा संलग्न हुने तथा स्वास्थ्य सेवाको व्यवस्था मिलाउने जस्ता कार्यहरुलाई ज्येष्ठ नागरिकको पालनपोषण र हेरचाह गर्नु भनिन्छ ।

. ज्येष्ठ नागरिकको जनसङ्ख्या

वि.सं. २०७८ को जनगणनाको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा ६४ वर्षमाथिका व्यक्तिको जनसङ्ख्या ५.८ प्रतिशत  अर्थात् १७ लाख रहेको छ । वि.सं. २०६८ को जनगणनामा ६० वर्षमाथिका ज्येष्ठ नागरिकको जनसङ्ख्या २१ लाख ५४ हजार (८ दशमलव १३ प्रतिशत) रहेको तथ्याङ्क छ । अहिले देशमा ६० वर्षमाथिका व्यक्तिको जनसङ्ख्या लगभग झन्डै २५ लाख रहेको अनुमानित तथ्याङ्क उल्लेख छ । विश्वमा हाल करिब ७० करोड ज्येष्ठ नागरिक रहेको अनुमान छ ।

. ज्येष्ठ नागरिकको प्रकार

नेपालको प्रचलित कानुन अनुसार ज्येष्ठ नागरिकलाई सत्तरी वर्ष उमेर पूरा नगरेको ज्येष्ठ नागरिक, सत्तरी वर्ष उमेर पूरा गरेको वरिष्ठ ज्येष्ठ नागरिक, असहाय ज्येष्ठ नागरिक, अशक्त ज्येष्ठ नागरिक र एकल ज्येष्ठ नागरिक गरी ५ वटा प्रकारमा वर्गीकरण गरिएको छ ।

. ज्येष्ठ नागरिकलाई परिचयपत्र

नेपाल सरकारले ज्येष्ठ नागरिकलाई परिचयपत्र दिने व्यवस्था गरेको छ । यस्तो परिचयपत्र गाउँपालिका वा नगरपालिकाले प्रदान गर्दछ । ज्येष्ठ नागरिक परिचय पत्र माग गर्न निवेदन फाराम भरेर नगरपालिकाको ज्येष्ठ नागरिक हेर्ने शाखामा पेस गर्नुपर्छ । निवेदन र पेस भएका कागजातहरु अध्ययन गरी नगरपालिकाले ज्येष्ठ नागरिकलाई परिचयपत्र प्रदान गर्दछ ।

. कानुनी व्यवस्था

वि.सं. २०७२ मा जारी भएको नेपालको संविधानको भाग ३ धारा ४१ मा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी उल्लेख गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद २ को दफा १.१ को खण्ड त मा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरुको व्यवस्थापन गर्ने काम, कर्तव्य र अधिकार गाउँपालिका र नगरपालिकाको हुने तोकिएको छ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ र ज्येष्ठ नागरिक सम्बन्धी नियमावली, २०६४ आदि जस्ता ज्येष्ठ नागरिकमैत्री कानूनहरु बनेका छन् । ज्येष्ठ नागरिकमैत्री कानूनहरुको कार्यान्वयनबाट ज्येष्ठ नागरिकको हक, हितको सुनिश्चितता गर्न र कार्यक्रमहरु तर्जुमा गर्न सहज भएको छ ।

.ज्येष्ठ नागरिक समिति

ज्येष्ठ नागरिकको हक, अधिकार संरक्षण गर्नका लागि गाउँपालिका र नगरपालिकामा पालिकास्तरीय ज्येष्ठ नागरिक समिति रहेको हुन्छ । यसैगरी वडामा समेत वडास्तरीय ज्येष्ठ नागरिक समिति रहेको हुन्छ । वडाले ज्येष्ठ नागरिकको तथ्याङ्क र अभिलेख राख्ने र ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने कार्यक्रम तयार गर्ने काम गर्दछ ।

. ज्येष्ठ नागरिकलाई छुट र सुविधा

सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकको लागि कम्तिमा दुई वटा सिट सुरक्षित राख्नु पर्ने नियम छ । सवारी साधन चढने ज्येष्ठ नागरिकलाई कम्तिमा पचास प्रतिशत भाडा छुट गर्नुपर्ने व्यवस्था छ । र नेपाल सरकारले तोकेको स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले ज्येष्ठ नागरिकलाई उपचार गराउँदा लाग्ने शुल्कमा कम्तिमा पचास प्रतिशत छुट दिने नियम छ । यसैगरी नेपाल सरकारले तोकेको स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले ज्येष्ठ नागरिकलाई उपचार गराउँदा लाग्ने शुल्कमा कम्तिमा पचास प्रतिशत छुट दिने व्यवस्था छ । ज्येष्ठ नागरिकलाई प्राथमिकता दिई स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने नीति रहेको छ ।

.ज्येष्ठ नागरिकलाई आर्थिक सुविधा र सहयोग

सर्वप्रथम आर्थिक वर्ष २०५१/५२ सालमा ७५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ताको रुपमा प्रति महिना रु.१००/- सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था भएको थियो । हाल ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले प्रति महिना रु ४०००/-  पाउँछन् । ६० वर्ष उमेर पुगेका साविक कर्णालीका जिल्लाका नागरिक र ६० वर्ष उमेर पुगेका देशभरका दलित नागरिकले प्रति महिना रु. २,६६०/- पाउँछन् । ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई गङ्गालाल अस्पतालमा मुटु सम्बन्धी रोगको उपचारका लागि सम्बन्धित स्थानीय तहबाट गरिब भएको सिफारिसका आधारमा एक लाख रुपैयाँसम्मको छुटको व्यवस्था छ । ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकलाई एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा सरकारले नि:शुल्क व्यहोर्ने व्यवस्था छ । सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकको लागि कम्तिमा दुई वटा सिट सुरक्षित राख्नुपर्छ । यात्रु भाडा दरमा कम्तिमा पचास प्रतिशत छुट गर्नुपर्ने व्यवस्था छ ।

. ज्येष्ठ नागरिकको पालनपोषण र हेरचाहमा परिवारका सदस्यको भूमिका

ज्येष्ठ नागरिकलाई आ-आफ्नो अवस्था अनुसार पालपोषण तथा हेरचाह गर्नु परिवारका प्रत्येक सदस्यको कर्तव्य हो । ज्येष्ठ नागरिकले आफ्नो अंश लिई अलग बसेको वा बस्न चाहेको अवस्थामा  निजले रोजेको परिवारको सदस्यले साथमा राखी पालन पोषण गर्नुपर्दछ । कसैले पनि ज्येष्ठ नागरिकलाई भिक्षा माग्न लगाउनु हुँदैन । ज्येष्ठ नागरिकको इच्छा विपरित सन्यासी, भिक्षु वा फकिर बनाउन नहुने नीति छ । परिवारको कुनै सदस्य नातेदार वा हकवालाले ज्येष्ठ नागरिकको चल अचल सम्पत्ति प्।योग वा यपयोग गरेको रहेछ भने निजले नै पालनपोषण गर्नुपर्ने प्रावधान छ ।

१०. ज्येष्ठ नागरिक दिवस

 सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक दिवसका रुपमा मनाइन्छ । ज्येष्ठ नागरिकको सम्मान र अधिकारमा पहुँच पुर्‍याउने अभिप्रायले संयुक्त राष्ट्रसंघको पहलमा विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिएको हो । सन् १९८८ मा पहिलो पटक तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले जेष्ठ नागरिक दिवसको प्रस्ताव प्रस्तुत गरेका थिए ।

११. ज्येष्ठ नागरिकको योगदान र सम्मान

ज्येष्ठ नागरिकको जीवनलाई सम्मानजनक बनाउनु हामी सबैको कर्तव्य हो । ज्येष्ठ नागरिकहरूले जीवनको अधिकांश समय विभिन्न क्षेत्रमा क्रियाशील रही परिवारको लालनपालन गरेर, ‍बिरामी हुँदा औषधी उपचार गरेर, शिक्षादिक्षा दिन बालबच्चाहरुलाई विद्यालय पठाएर, आफ्नो ज्ञान, सिप र अनुभवलाई प्रयोग गरेर परिवार, समाज र देशको विकासमा धेरै योदान पुर्‍याउनु भएको हुन्छ । यस्तो योगदानलाई हामीले भुल्नु हुँदैन । यसका लागि ज्येष्ठ नागरिक दिवसको सन्दर्भ पारेर जेष्ठ नागरिकको सम्मान गर्न सामूहि भोज, ज्येष्ठ नागरिक स्वास्थ्य शिविर, कथा वाचन, सामूहिक भजन गायन, धर्मग्रन्थ पठन र श्रवण,  सर्वाधिक उमेरका नागरिक अभिनन्दन, असल हजुरआमा/ हजुरबा पहिचान र सम्मान, आदि जस्ता कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ । ज्येष्ठ नागरिकहरुलाई सहायक उपकरणहरु (जस्तै टेक्ने लौरो, पावर चस्मा, कान सुन्ने यन्त्र, बैशाखी आदि) औषधी, पौष्टिक आहार र लुगा कपडा वितरण गर्न सकिन्छ । ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गर्न सकिन्छ । यसरी हामी सबैले आ-आफ्नो स्थानबाट ज्येष्ठ नागरिकहरूलाई दिनुपर्ने सम्मान र सहयोग पुर्‍याउनु पर्छ । यस्ता कार्यहरु हाम्रो सामाजिक दायित्विभित्र पर्दछन् । ]

लेखक  शिक्षा प्रशासन सेवाका उपसचिव हुन् ।

 

Thuprai - Books and E-books