A Levels MA

एसइई उत्तीर्ण प्राविधिक विषयतर्फ आकर्षित

पोखरा, १६ असार (रासस) : एसइईको नतिजा सार्वजनिक भएसँगै यतिखेर प्राप्त जिपिएका आधारमा विद्यार्थीले कुन विषय पढ्ने भन्ने धारणा बनाउन थालेका छन् ।

शैक्षिक यात्रामा फलामे ढोकाका रुपमा लिने गरिएको एसइईमा प्राप्त नतिजाले सामान्यतः जो कोहीको भाग्य र भविष्य निर्धारण गर्ने कुरामा दुई मत छैन । यसैको जगमा टेकेर अभिभावकले पनि आफ्ना बालबच्चाको शैक्षिक उन्नयनका लागि गरिने लगानी तय गर्ने गर्दछन् ।

सरकारले विगतमा कक्षा १० सम्मलाई विद्यालय शिक्षा मानी उक्त कक्षा उत्तीर्ण गरेपछि एसएलसी परीक्षा लिने गर्दथ्यो । तर पछिल्ला केही वर्षयता भने विद्यालय शिक्षा बढाएर कक्षा ११ र १२ सम्म कायम गरी कक्षा १० पछि एसइई परीक्षा लिन थालियो ।

यसअघि अङ्क र प्रतिशतका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिन्थ्यो भने हाल आएर प्राप्त जिपिएका कारण अक्षराङ्कन प्रणाली लागू गरिएको छ । अक्षराङ्कनअनुसार ‘ए’ र ‘ए प्लस’ ल्याउने अधिकांश विद्यार्थीको रोजाइ विज्ञान विषय भएको छ ।

विज्ञान अध्ययन गरेसँगै कक्षा ११ र १२ उत्तीर्ण गरेपछि जुनसूकै क्षेत्रमा जान सकिने भएकाले उक्त विषय विद्यार्थीको रोजाइमा पर्ने गरेको हो । पछिल्लो समयमा उच्च शिक्षामा प्राविधिक विषयतर्फ विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दै गएको पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख गङ्गा गुरुङले बताउनुभयो ।

उहाँका अनुसार विज्ञान विषय पढेपछि डाक्टर, इञ्जिनीयरलगायतका प्राविधिक विषयका साथै अन्य सबै क्षेत्रमा अध्ययनको बाटो खुल्ने भएकाले पनि यसतर्फको आकर्षण बढेको हो । एसइई नतिजाको प्राप्त तथ्याङ्कले निजी विद्यालयका तुलनामा सामुदायिक विद्यालयको नतिजा कमजोर देखिए पनि केही सामुदायिक विद्यालयमा भने विद्यार्थीले राम्रो नतिजा हासिल गरेका छन् ।

कास्कीको सरस्वती टीका माध्यमिक विद्यालय भरतपोखरीका विद्यार्थी सुकृतप्रसाद तिवारीले यस वर्षको एसइई परीक्षामा ३.८५ जिपिए प्राप्त गर्नुभएको छ । उहाँसँगै विद्यालयबाट आठ जना विद्यार्थीले ए प्लस ल्याउन सफल भए भने ३० जना विद्यार्थीले ए ल्याएका छन् ।

विद्यालयबाट उत्कृष्ट जिपिए ल्याएका तिवारीले काठमाडौँमा विज्ञान विषयमा कक्षा ११ र १२ पढ्ने गरी आफ्नो तयारी थालिसक्नुभएको छ । सामुदायिक विद्यालयतर्फ सीमित साधनस्रोत र पारिवारिक अवस्था सामान्य हुनुका बाबजुत पनि केही विद्यार्थीले ल्याएको नतिजा सन्तोषप्रद छ नै, अरुका लागि पनि अनुकरणीय बनेको छ । कास्कीकै अन्नपूर्ण गाउँपालिका लुम्ले चन्द्रकोटस्थित सङ्गम माविकी सुस्मिता देवकोटाले ३.३ जिपिए ल्याउनुभएको छ ।

सामान्य परिवार र विद्यालयको अत्यन्त सीमित साधनस्रोतका कारण पनि देवकोटाले ल्याएको नतिजा यस क्षेत्रकै लागि उत्साहप्रद एवं प्रेरणादायी रहेको स्थानीय सिद्ध आधारभूत विद्यालयका शिक्षक सन्तोष सुवेदीले बताउनुभयो ।

भविष्यमा डाक्टर बन्ने सपना देखेकी सुस्मिताले कक्षा ११ र १२ मा विज्ञान विषय लिएर पढ्न लागेको धारणा राख्नुभयो । “कक्षा ११ र १२ सकेपछि एमबिबिएस पढी डाक्टर बन्ने धोको छ,” उहाँले भन्नुभयो, “पछि एमबिबिएस पढ्न सजिलो हुने भएकाले विज्ञान विषय लिएर पढ्ने सोच बनाएकी छु ।”

–वासुदेव पौडेल

Thuprai - Books and E-books