आन्तरिक मूल्याङ्कन सम्बन्धि प्याब्सन तथा नेसनल प्याब्सनद्वारा विद्यालयहरुका लागि जारी निर्देशन

माध्यमिक शिक्षा परीक्षा (SEE)आन्तरिक मूल्याङ्कन सम्बन्धि प्याब्सन तथा नेसनल प्याब्सनद्वारा संयक्त रुपमा सदस्य विद्यालयहरुका लागि जारी निर्देशन

प्रस्तुत विषयमा २०७६सालको माध्यामिक शिक्षा परीक्षा COVID 19को महामारीले सजना गरेको परिस्थितिजन्य वाध्यताको कारण नियमित रुपमा तोकिएको समयमा सञ्चालन हुन नसकेको सन्दर्भमा सरोकारवालाहरुसँग छलफल समेत गरी नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७७/२/२८ गतेको बैठकले विद्यालयद्वारा गरिएका अन्तिम मूल्याङ्कन विवरण सम्बन्धित विद्यालयहरुले शिक्षा, विकास तथा समन्वय इकाइमा पठाउने, सम्बन्धित शिक्षा, विकास तथा समन्वय इकाइहरुले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउने र बोर्डले आवश्यक कार्यविधि निर्माण गरी परीक्षाफल तयार गर्ने, प्रमाणीकरण गर्ने र प्रमाणपत्र जारी गर्ने भन्ने निर्णय गरेको हुँदा सो सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डको मिति २०७७/३/८ को निर्णय अनुसार कार्यविधि स्वीकृत भएकोले सो बमोजिम विद्यार्थीहरुले प्राप्त गरेको अन्तिम प्राप्ताङ्क पठाउने कार्यका लागि मिति २०७७/३/१०मा कार्यविधि सहितको सूचना प्रकाशित गरेको सर्वविदितै छ।

विद्यालयहरुले गर्ने आन्तरिक मूल्याङ्कनका सम्बन्धमा विभिन्न टिकाटिप्पणीहरु, शंका उपशंकाहरु व्यक्त गरिएको सन्दर्भमा विद्यालयहरुले आफ्ना वारेमा सृजित भ्रमहरुलाई चिर्दै आफ्नो इमान्दारिता प्रस्तुत गर्ने मौका प्राप्त गरेका छन् भन्ने हामीलाई विश्वास लागेको छ । उक्त विश्वासलाई डगमगाउन नदिइ विद्यालयहरु प्रतिको जनविश्वासलाई थप उचाइमा पुयाउने जिम्मेवारी विद्यालयहरुको काँधमा आइपरेको छ । विद्यालयले आन्तरिक मूल्याङ्कन गर्दा आफ्नो दायित्व, जवाफदेहिता र इमान्दारिताको पूर्ण रुपमा पालना हुने गरी निम्नानुसार गर्नु गराउनु हुन सबै सदस्य विद्यालयहरुलाई निर्देशित गरिन्छ । 

१) आफ्नो विद्यालयको कम्तीमा विगत ३ वर्षको SEE परीक्षाफलको समेत अध्ययन गरी यस वर्षको मुल्याङ्कन गर्ने । 

२) २०७६ सालमा विद्यालयहरुले लिएका आन्तरिक तथा सामूहिक परीक्षामा विद्यार्थीहरुको प्राप्ताङ्कहरुको अध्ययन गर्ने। 

३) विद्यार्थीहरुको आन्तकि मूल्याङ्कन गर्दा स्वतन्त्रता र निश्पक्षताको सिद्धान्त अपनाई विद्यार्थीहरुको सहि मूल्याङ्कन गर्ने र विद्यालयले गरेको मूल्याङ्कनका प्रमाणित आधारहरु अभिलेख राख्ने । 

४) राष्ट्रिय परीक्षा बोर्ड/परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रमाणीकरण गरी प्रकाशित नगरुन्जेल अप्नाउनु पर्ने गोपनीयता कायम राख्ने । 

५) नतिजाका सम्बन्धमा अनावश्यक प्रचारप्रसार नगर्ने ।

सुवास न्यौपाने, महासचिव नेसनल प्याब्सन

कुमार घिमिरे, महासचिव प्याब्सन