शिक्षक पदका लागि खुला प्रतिस्पर्धाअन्तर्गतको परीक्षा आजबाट सुरु हुँदैछ । आज माध्यमिक तहको लिखित परीक्षा सञ्चालन गरिँदैछ । निम्न माध्यमिक तहको चैत १७ गते र प्राथमिक तहको चैत १९ गते परीक्षा सञ्चालन हुनेछ ।
माध्यमिक तहका लागि देशभरिबाट ३५ हजार ५५६ जना प्रतिस्पर्धा गर्दैछन् । जम्मा एक हजार ५४७ पदका लागि प्रतिस्पर्धा हुँदैछ ।
शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाले सात वटै प्रदेशमा १५४ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिए । “परीक्षाका लागि सबै तयारी पूरा भइसकेको छ” उनले भने । परीक्षा विहान ११ देखि अपरान्ह १२ बजेसम्म सञ्चालन हुनेछ । सामान्य परीक्षा (वस्तुगत) सञ्चालन हुनेछ ।
प्रदेश १ मा विराटनगर, मधेस प्रदेशमा जनकपुर, बागमती प्रदेशमा मकवानपुर र चितवन, गण्डकी प्रदेशमा पोखरा, लुम्बिनी प्रदेशमा दाङ, कर्णाली प्रदेशमा सुर्खेत तथा सुदूरपश्चिम प्रदेशमा धनगढीमा परीक्षा सञ्चालन हुनेछ । बागमतीको चितवनमा अङ्ग्रेजी र नेपाली विषयका परीक्षा सञ्चालन हुनेछ भने बाँकी विषयका परीक्षा मकवानपुरमा सञ्चालन हुनेछ ।