दोस्रो भारत–नेपाल फ्रेण्डसिप समिट–२०२४ सम्पन्न

काठमाडौं मोडेल कलेज तथा ग्लोबल लिडर्स फाउण्डेशनको संयुक्त आयोजनामा “विश्वव्यापीकरण र सामाजिक आर्थिक विकास २।०” मा केन्द्रीत भई दोस्रो भारत–नेपाल फ्रेण्डसिप समिट–२०२४ यही  सम्पन्न भएको छ ।

कार्तिक २६ गते केएमसीको सभाकक्षमा पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले सञ्चालन गरेको  उद्घाटन सत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले समुद्घाटन गरेका थिए ।

सम्मेलनको अध्यक्षता ग्लोबल लिडर्स फाउण्डेशनका अध्यक्ष श्रीरमेश त्रिपाठी र सहअध्यक्ष केएमसी कलेज प्रमुख श्रीसुरेन्द्र सुवेदीले गरेका थिए ।

प्रमुख अतिथि मन्त्री गुरुङले नेपालमा सञ्चार र सूचना प्रविधिका माध्यमबाट आर्थिक सुधार र युवाशक्ति विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै उच्चशिक्षाका लागि विद्यार्थीहरू विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्न दुवै पक्ष गम्भीर बन्नु पर्ने विचार व्यक्त गरे ।

साथै उहाँले नेपाल र भारतको द्विपक्षीय सम्बन्धलाई एक कदम अगाडि बढाउनका लागि शैक्षिक र प्रविधिक क्षेत्रमा थप सहकार्य गर्न यो सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।

सम्मेलनमा मुख्यवक्ताका रूपमा रहेका पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा।डा। बिजुकुमार थपलियाले यस सम्मेलनले भारत र नेपालको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै दुवै देशको शैक्षिक, सामाजिक तथा आर्थिक विकासका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे ।

सम्मेलनमा “विश्वव्यापीकरण र सामाजिक आर्थिक विकास” लगायतका विषयवस्तुमा केन्द्रीत रही नेपाल र भारतका २५ जना विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।

समुद्घाटन समारोहपश्चात् सहभागीहरू पाँच समूहमा विभाजन भई कार्यपत्रहरूको प्रस्तुति र छलफल गरिएको थियो । कला र मानविकी, व्यापार र वाणिज्य, वातावरण तथा दिगो विकास, विज्ञान, प्रविधि र प्रबद्र्धनलगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिएका सत्रहरूमा क्रमशः प्रा।डा। मोहनचन्द्र पाण्डे, प्रा।डा। विजय सिंह, डा। सञ्जुकुमार सिंह, प्रा।डा। विष्णुप्रसाद पाण्डे र उपप्रा।डा। भरत सिंह थापाले सत्राध्यक्षको भूमिका वहन गरेका  थिए । 

सम्मेलनको समापन गर्दै अध्यक्ष रमेश त्रिपाठीले भारत र नेपाल बीचको सम्बन्धलाई बलियो बनाउन दिगो विकास र शैक्षिक क्षेत्रमा सहयोगको आवश्यकता औंल्याउँदै दुवै देशका बीच सम्बन्धलाई आर्थिक र सामाजिक सुधारका माध्यमबाट अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे । समापन समारोहमा आफ्नो मन्तव्य राख्दै ग्लोबल लिडर्स फाउण्डेशन, नेपाल च्याप्टरका अध्यक्ष तथा कलेज प्रमुख सुरेन्द्र सुवेदीले कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भूमिका बहन गर्ने सम्बन्धित सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले शैक्षिक, सामाजिक र आर्थिक विकासमा विज्ञहरूबाट प्राप्त निष्कर्षले दुई देशबिचको सम्बन्ध प्रगाढ हुनेहुँदा आगामी दिनहरूमा पनि यस प्रकारका कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रमका विशिष्ट अतिथिका रूपमा नेपाल खुल्ला विश्वविद्यालयका उपकुलपति श्रीमती शीलु वज्राचार्य, त्रिवि व्यवस्थापन सङ्कायका डीन प्रा।डा। डिल्लीराज शर्मा, त्रिवि अनुसन्धान विभाग प्रमुख प्रा।डा। ईश्वर कोइराला, मायादेवी विश्वविद्यालय देहरादूनका उपकुलपति प्रा।डा। आशीष सेमवेल, नास्टका पूर्व उपकुलपति डा। सुनिलबाबु श्रेष्ठ, विश्वविद्यालय अनुदान आयोग, नेपालका अनुसन्धान विभाग प्रमुख सहप्रा। निरज धिताल, केएमसी एजुकेशन नेटवर्कका अध्यक्ष श्रीरामेश्वर अर्याललगायतका व्यक्तित्वहरू रहनुभएको थियो । यसैगरी उक्त सम्मेलनमा विभिन्न विषयका विज्ञहरू, कलेजका प्राध्यापकहरू, एवं उच्चशिक्षा हासिल गर्दै गरेका विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।