Edusanjal

अलपत्र विद्यार्थीको अवस्था खोजी

काठमाडौँ, १५ फागुन (रासस) : अष्ट्रेलियामा अलपत्र विद्यार्थी कस्तो अवस्थामा छन् भन्ने खोजी भइरहेको नेपाल शैक्षिक परामर्श सङ्घ लगायतका संस्थाले दाबी गरेका छन् । 

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान), फेकन, आइजिन र नायरले आज गरेको पत्रकार सम्मेलनमा विद्यार्थीको अवस्था बुझ्ने र तथ्याङ्क खोज्ने काम भइरहेको बताएका हुन् । विदेश अध्ययनका लागि खोलिएका कन्सल्टेन्सी दर्ता हुनुपर्ने भए पनि हाल अष्ट्रेलियामा अलपत्र विद्यार्थी पठाउने चार कन्सल्टेन्सी सङ्घमा दर्ता नभएको अध्यक्ष विष्णु पाण्डेले जानकारी दिनुभयो । 

“ती कन्सल्टेन्सीसँग कति विद्यार्थी अलपत्र परेका हुन् भन्ने तथ्याङ्क मागिरहेका छौँ”, सङ्घका अध्यक्ष पाण्डेले भन्नुभयो । उहाँले पहिले अष्ट्रेलिया अध्ययनका लागि सात जिपिए नआए पनि कठिनाइ नभएको तर अहिले आउनैपर्नै प्रावधान रहेको उहाँको भनाइ थियो । 

“नेपाली विद्यार्थी अलपत्र हुनुमा नेपालका कन्सल्टेन्सी मात्र दोषी छैनन्, अष्ट्रेलियानै दोषी छ”, उहाँ थप्नुहुन्छ, “नेपालले चाहने हो भने नेपाली विद्यार्थीलाई तत्काल स्वदेश फर्काउन सक्छ ।” नेपालीलाई वैदेशिक शिक्षाका लागि पठाउने काममा विदेशी कम्पनीलाई निरुत्साहित गर्नैपर्ने आइरिनका अध्यक्ष कुमार कार्कीले बताउनुभयो । “नेपाली कम्पनीबाट मात्र विदेशमा विद्यार्थी पठाइएन भने अवस्था भयावह हुन सक्छ”, कार्कीले भन्नुभयो । 

इक्यानका पूर्वअध्यक्ष प्रकाश पाण्डेले उक्त विश्वविद्यालयमा अध्ययनरत कतिपय विद्यार्थी अर्काे विश्वविद्यालयमा गएका, कतिपय जाने प्रक्रियामा रहेकाले तथ्याङ्क आउन नसकेको बताउनुभयो । “आफूखुशी विश्वविद्यालय परिवर्तन गर्ने विद्यार्थीको शिक्षाको जिम्मेवारी कसले लिने ”, उहाँले भन्नुभयो । 

चार संस्थाले निकालेको संयुक्त विज्ञप्तिमा विद्यार्थीको समस्या समाधानका निम्ति शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाइसकिएको उल्लेख छ । अष्ट्रेलियासँग भएको ‘एआइविटी’ सम्झौता खारेज गरी ‘जिटुजी’ (सरकार सरकारबीचको सम्झौता)का लागि ती संस्थाहरुले जोड दिएका छन् ।

pre school